काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई दिइएको चुनावी प्रचारप्रसारको अवधि आज मध्यरातबाट सकिँदैछ। निर्वाचन आयोग ले फागुन ४ गतेदेखि सुरु भएको प्रचारप्रसार अभियान आज राति १२ बजेसम्म मात्रै गर्न पाइने व्यवस्था गरेको थियो।
यसपछि मतदान सम्पन्न नभएसम्म लागू हुने ४८ घण्टे ‘मौन अवधि’ सुरु हुन्छ। यो अवधिमा उम्मेदवार, राजनीतिक दल वा उनीसँग सम्बन्धित व्यक्तिले निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाउँदैनन्। मौन अवधिमा मत माग्ने, सभा–भेला गर्ने, भाषण गर्ने, प्रचार सामग्री वितरण गर्ने, चुनावी समीक्षा वा छलफल गर्ने जस्ता गतिविधि निषेध हुन्छन्। त्यसैगरी सामाजिक सञ्जाल, एसएमएस, भाइबर, फेसबुक लगायतका डिजिटल माध्यममार्फत पनि मत माग्न वा प्रचारप्रसार गर्न पाइँदैन।
निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले गरिएको आर्थिक कारोबार, मतदातालाई प्रभावित गर्ने गतिविधि वा प्रचार भेटिए कडा कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यस्तो गतिविधि प्रमाणित भएमा उम्मेदवारी नै खारेज हुन सक्छ र दोषी व्यक्ति छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था छ। आयोगले निर्वाचनलाई प्रभावित पार्ने गतिविधिप्रति ‘शून्य सहनशीलता’ अपनाइने स्पष्ट पारेको छ।
किन आवश्यक छ मौन अवधि ?
निर्वाचनअघि निरन्तर हुने प्रचार, दबाब, आश्वासन र राजनीतिक बहसबाट केही समय मतदातालाई मुक्त गराई स्वतन्त्र र विवेकपूर्ण निर्णय लिन सहयोग पुर्याउने उद्देश्यले मौन अवधिको व्यवस्था गरिएको हो। पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया का अनुसार मौन अवधि भनेको मतदाताले उम्मेदवारका कार्यक्रम, योजना र दृष्टिकोणबारे शान्त वातावरणमा विचार गरेर आफूले रोजेको उम्मेदवारलाई मतदान गर्ने निर्णयमा पुग्ने समय हो।
यस अवधिले निर्वाचन व्यवस्थापनका हिसाबले पनि महत्व राख्छ। सुरक्षा निकाय र निर्वाचन कर्मचारीलाई मतदान केन्द्रको तयारी, सुरक्षा मूल्याङ्कन, मतदाता व्यवस्थापन लगायतका काममा केन्द्रित हुने अवसर मिल्छ। विश्वका धेरै देशमा २४ देखि ७२ घण्टासम्म मौन अवधि कायम गर्ने अभ्यास रहेको छ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका सबै प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था पनि गरिएको छ।
कति उम्मेदवार र मतदाता ?
यसपटक प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फ ६५ राजनीतिक दलका उम्मेदवारसहित ६१ निर्वाचन चिह्न प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार मैदानमा छन्, जसमा ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य उम्मेदवार छन्।
त्यस्तै समानुपातिक प्रणाली तर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला छन्। प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि निर्वाचन हुँदैछ।
निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुनेछन्। यसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। थप १ लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको छ।
मतदानको तयारी
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। साथै १४३ अस्थायी मतदानस्थल पनि राखिएको छ।
सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी तथा १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएका छन्।
निर्वाचन सञ्चालनका लागि करिब २ लाख १५ हजार कर्मचारी खटिनेछन्। आयोगले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि ४ करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको जनाएको छ।
यस निर्वाचनको पर्यवेक्षणका लागि ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाहरू परिचालन हुनेछन्।
.jpg)
