काठमाडौं । नेपाली राजनीतिमा चुनावी तालमेल कुनै नयाँ कुरा होइन। विचार नजिक भएका दलहरूबीच सहकार्य हुनु स्वाभाविक मानिन्छ । २०७२ मा संविधानसभाबाट संविधान निर्माणपछिका दुई चुनावमा देशभर ठूला राजनीतिक शक्तिहरुका बीचमै ठूला –ठूला चुनावी गठबन्धन बने । तर यसपटक विगतमा गठबन्धन गरेकै दलहरु पनि आमरुपमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् ।
यधपी, केही साना दलहरुले भने आफुलाई जता स्वाद मिल्यो, उत्तै चुनावी तालमेल पनि गरेका छन् । यस्तै तालमेल गर्नेमा जनार्दन शर्मा आवद्द प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अंग्रपंक्तिमा देखिएको छ ।
प्रलोपाले अपनाएको चुनावी रणनीति अहिले राजनीतिक वृत्तमा चासो, जिज्ञासा र आलोचनाको विषय बनेको छ । उसले कुनै क्षेत्रमा एमालेसँग, कतै कांग्रेससँग, कतै घण्टी चुनाव चिन्ह बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग, कतै श्रम संस्कृति पार्टीको माटोसँग र कतै जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ । प्रलोपा यसपटक “जता स्वाद मिल्यो उतै तालमेल” को रणनीतिमा देखिएको छ।
एकै चुनावमा विभिन्न विचारधाराका दलहरूसँग फरक–फरक क्षेत्रमा तालमेल गर्ने यो शैलीलाई कतिपय विश्लेषकले “ककटेल नीति” को संज्ञा दिन थालेका छन्। प्रश्न उठेको छ- पार्टीको विचार, दर्शन र रणनीति आखिर के हो ?
कर्णालीमा एमालेसँग सहकार्य
प्रलोपा र नेकपा एमालेबीच कर्णाली केन्द्रित चुनावी तालमेल भएको छ। कर्णालीका १० जिल्लामध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा दुई दलबीच सहकार्य गर्ने सहमति भएको छ। साविक राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमाले उम्मेदवारलाई समर्थन गर्ने र रुकुम पश्चिममा भने एमालेले प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सहयोग गर्ने गरी तालमेल भएको छ । रुकुम पूर्वमा पनि सुरुमा यस्तै सहमति भएको भए पनि पछि उक्त सहमति भत्किएको थियो ।
बाँकेमा जसपासँग तालमेल
बाँकेमा भने प्रलोपा र जनता समाजवादी पार्टी नेपालबीच कार्यगत एकता भएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमा एकअर्कालाई समर्थन गर्ने सहमति अनुसार यी दुइृ पार्टीले चुनावी तालमेल गरेका हुन् । बाँके–१ मा प्रलोपाका उम्मेदवार कृष्णा केसी (नमुना)लाई जसपाले समर्थन गर्ने र बाँके–२ मा जसपाका उम्मेदवार कमरुद्दीन राईलाई प्रलोपाले समर्थन गर्ने गरी चुनावी तालमेल गरिएको छ ।
यस क्षेत्रमा दुवै दलले प्रलोपाको “आँखा” र जसपाको “छाता” चुनाव चिन्हमा संयुक्त रूपमा मत माग्ने रणनीति अपनाएका छन्।
सिराहामा घण्टीसँग सहकार्य
सिराहा–२ मा प्रलोपा र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का बीच चुनावी सहकार्य भएको छ। रास्वपाका उम्मेदवार शिव यादवलाई समर्थन गर्ने सहमति भएको छ। प्रलोपाका स्थानीय नेताहरूका अनुसार सुशासन, परिवर्तन र जनहितका मुद्दालाई बलियो बनाउन यस्तो सहकार्य गरिएको हो।
तर रोचक पक्ष के छ भने, यो निर्णय केन्द्रीय तहको भन्दा पनि स्थानीय नेता–कार्यकर्ताको भावनाअनुसार गरिएको भन्दै प्रलोपाले लाज ढाक्न खोजेको छ ।
सुनसरी र भोजपुरमा ‘माटो’ मा मत
प्रलोपाले पूर्वमा पनि तालमेल गरेको छ । पूर्वमा उसले हर्क सम्पाङको पार्टी श्रम सस्कृति पार्टीसँग तालमेल गरेको छ । प्रलोपा नेता सुदन किराँतीले सुनसरी–१ मा धरानका पूर्व मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । त्यहाँ हर्क आफैं उम्मेदवार छन् । त्यस्तै भोजपुरमा पनि श्रम सस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । भोजपुरमा ध्रुवराज राईलाई प्रलोपाले समर्थन गर्ने निर्णय लिएको छ । पूर्वका यी दुबै निर्वाचन क्षेत्रमा प्रलोपाले आफ्ना उम्मेदवार उठाएको छैन।
गोरखामा कांग्रेसलाई साथ
प्रलोपाका तर्फबाट सुरुमा गोरखाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएपनि उम्मेदवारी फिर्ताको अन्तिम दिन दुवै क्षेत्रको उम्मेदवारी फिर्ता लिएको थियो । एउटा क्षेत्रमा गोरखा २ मा प्रलोपाबाट पूर्व प्रधानमन्त्री समेत रहेका नेता डा बाबुराम भटट्राईले उम्मेदवारी दिएका थिए । बाबुरामले अन्य दलबाट साथ नपाउने र चुनाव हार्ने देखेपछि उम्मेदवारी फिर्ता लिए ।
गोरखामा उम्मेदवारविहीन बनेपछि अन्ततः नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयमा पुगेको छ। गोरखा–१ र गोरखा–२ मा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने निर्णय सार्वजनिक भएपछि जिल्लामा प्रलोपाको संगठनभित्रै हल्लाखल्ला मच्चिएको छ ।
विचारधारा कि रणनीतिक प्रयोग ?
राजनीतिक दलहरू प्रायः स्पष्ट विचारधारा, नीति र दीर्घकालीन लक्ष्यका आधारमा गठबन्धन गर्छन्। तर प्रलोपाले भने यसपटक कतै एमालेसँग, कतै कांग्रेससँग, कतै रास्वपासँग, कतै जसपासँग र कतै श्रम संस्कृति पार्टीसँग चुनावी तालमेल गरेको छ ।
यसले प्रलोपा विचारधारात्मक दल हो कि चुनावी रणनीतिका लागि बनेको लचिलो प्लेटफर्म मात्ररु भन्ने प्रश्न उब्जाएको छ। राजनीतिक वृत्तमा अर्को रोचक टिप्पणी पनि सुनिन थालेको छ- प्रलोपा प्रायः सबै दलसँग सहकार्य गर्न तयार देखिन्छ, तर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग भने दूरी कायम राखेको छ।
विशेषगरी प्रचण्ड नेतृत्वको नेकपालाई चुनावमा कमजोर पार्ने रणनीति प्रलोपा नेतृत्वले अपनाएको आरोप पनि लागिरहेको छ। प्रलोपा नेतृत्वले भने यसलाई व्यावहारिक राजनीति को रूपमा व्याख्या गर्ने प्रयास गरिरहेको छ। तर आलोचकहरूको तर्क फरक छ, यदि एउटा पार्टीसँग स्पष्ट विचार, दर्शन र राजनीतिक दिशा हुन्छ भने एकै चुनावमा यति फरक–फरक शक्तिसँग तालमेल गर्नु राजनीतिक स्थिरता होइन, रणनीतिक अलमल हो।
.jpg)
