काठमाडौं । अबको पाँच दिन पछि हुन गईरहेको प्रतिनिधिसभा चुनावमा मुख्य राजनीतिक दलका शीर्ष नेताहरु आफुले आफैंलाई मतदान गर्न नपाउने भएका छन् । कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने देखि रास्वपाले भावी प्रधानमन्त्रीमा प्रस्तावित गरेका बालेन शाहसम्म यसपटक चुनावमा उम्मेदवार छन् ।
तर यी कुनै पनि नेताले आफुले आफैंलाई मतदान गर्न पाउने छैनन । आफु मतदाता रहेको कुनै पनि मतदान क्षेत्रमा यी नेताहरु आफु उम्मेदवार छैनन । कांग्रेस सभापति थापा सर्लाही ४, केपी ओली झापा ५, प्रचण्ड रुकुम पूर्व, रवि लामिछाने चितवन २ र रास्वपाकै बरिष्ठ नेता बालेन शाह झापा ५ मा उम्मेदवार छन् । उनीहरुको मतदान केन्द्र भने अलग स्थानमा छ ।
कांग्रेस सभापति थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । उनको मतदाता नामावलीमा उनको मतदान केन्द्र त्यहाँ रहेको उल्लेख छ । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि झापामा मतदान गर्न पाउने छैनन । उनी विगत लामो समय देखि उक्त क्षेत्रमा चुनाव जित्दै आएपनि उनले भक्तपुर सूर्य बिनायकबाट मतदान गदै आएका छन् । यसपटक पनि ओलीले त्यहीबाट मतदान गर्नेछन् । ओलीले भक्तपुर सूर्यविनायक-२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्दै छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले चितवन पुगेर मतदान गर्नेछन् । उनले चितवन भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । त्यसैगरी रास्वपा सभापति लामिछानेले पनि आफैलाई मतदान गर्न पाउने छैनन ।
उनको मतदाता नामावली काठमाडौंबाट छ । लामिछानेले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाल्ने छन् ।
त्यसैगरी रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेका बालेन शाहले पनि काठमाडौंबाटै मतदानमा सहभागीता जनाउनेछन् । बालेनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
त्यसैगरी उज्यालो नेपाल पार्टीको संयोजक कुलमान घिसिङले पनि आफुले आफैलाई मतदान गर्न पाउने छैनन । घिसिङ काठमाडौं ३ बाट उम्मेदवार छन् । तर उनले मतदान भने गृहजिल्ला रामेछाप पुगेर गर्नेछन् । घिसिङले रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
प्रमुख दलका शीर्ष नेताले आफुले आफैलाई मतदान नगरेपनि यसका आलावा अन्य नेताहरु पनि यस्ता उम्मेदवार छन्, जसले आफुले आफैंलाई मतदान गर्न पाउने छैनन । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पनि आफुले आफैलाई मतदान गर्न पाउने छैनन । उनले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन् । तर उनी चुनाव सप्तरीबाट लडिरहेका छन् ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आफुलाई मतदान दिन पाउने छैनन । उनले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रमा पुगेर मतदान गर्दै छन् ।
.jpg)
