काठमाडौं । फागुन २१ को चुनावको मुखैमा नेकपा एमालेलाई ठूलै झट्का लागेको छ । एमालेका पूर्वमन्त्री समेत रहेका नेता रामबीर मानन्धर देखि जिल्ला अध्यक्ष जनार्दन ढकालसम्मका नेताहरु एमाले छोडेर कांग्रेस प्रवेश गरेका छन् ।
मानन्धर काठमाडौं ७ बाट निर्वाचत भएका पूर्व सांसद समेत हन् । त्यस्तै ढकाल रसुवा जिल्लाका अध्यक्ष समेत थिए ।
कांग्रेसले काठमाडौंमा आज आयोजना गरेको कांग्रेस सभापति गगन थापासँग प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू कांग्रेस प्रवेश गरेका हुन् ।
मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
२०७९ मा भने एमालेले मानन्धरलाई टिकट दिएको थिएन ।
रसुवाका एमाले अध्यक्ष ढकाल भने संविधान सभा सदस्य समेत थिए । उनी निर्माण ब्यवसायी पनि हुन् ।
यी दुई नेतासँगै नेकपाका केन्द्रीय सदस्य दिपक केसी र काठमाडौं-५ का राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवारका आकांक्षी डा. प्रणयशम्शेर राणा समेत कांग्रेस प्रवेश गरेका छन् ।
मानन्धर, राणा र ढकालको कांग्रेस प्रवेशले चुनावको मुखमा कांग्रेसलाई निर्वाचनमा फाइदा पुग्नसक्ने देखिएको छ । काडमाढौं ७ मा कांग्रेस उम्मेदवार प्रमोदहरी गुरागाई उम्मेदवार छन् । मानन्धरको कांग्रेस प्रवेशले उक्त निर्वाचन क्षेत्रभित्रको सबैभन्दा ठूलो र बढी मतदाता रहेको काठमाडौं १६ को मतमा कांग्रेसलाई फाइदा पुग्ने देखिएको छ ।
मानन्धर समुहको मत अब रामबीरका कांग्रेस प्रवेशका कारण कांग्रेसतिर पनि जाने देखिएको छ। यहाँ नेकपाका उम्मेदवार बसन्त मानन्धर छन् । यस क्षेत्रमा २०७९ मा रास्वपाका गणेश पराजुलीले चुनाव जितेका थिए ।
उता रसुवामा पनि ढकालको कांग्रेस प्रवेशले कांग्रेस उम्मेदवारलाई चुनाव जित्न फाइदा पुग्न सक्ने विश्लेषण गरिन थालिएको छ ।
रास्वपा छोडेर डा प्रणयशम्शेर राणाको कांग्रेस प्रवेशले काठमाडौं ५ मा कांग्रेस उम्मेदवार प्रदीप पौडेललाई फाइदा पुगने देखिएको छ ।
.jpg)
