काठमाडौं । प्रतिनिधिसभा निर्वाचन एकै चरणमा कि दुई चरणमा भन्ने विषयमा प्रधानमन्त्री सुशीला कार्की स्वयं अलमलमा देखिएकी छन् । हिमाली जिल्लामा मौसमका कारण चुनाव असहज हुन सक्ने भन्दै दुई चरणको विकल्प अघि सारेकी प्रधानमन्त्री कार्कीले चौबिस घण्टा नबित्दै आफ्नो भनाइ फेरेकी छिन् ।
फागुन २१ मा तय भएको निर्वाचन हुम्ला, डोल्पा, मुस्ताङ, मनाङलगायत उच्च हिमाली जिल्लामा चैतसम्म हिउँ पर्ने भएकाले सम्भव हुन्छ कि हुँदैन भन्ने बहस सुरु देखि नै चल्दै आएको थियो । सुरुमा यो विषयलाई गम्भीरतापूर्वक नलिएकी प्रधानमन्त्री कार्कीले चुनाव नजिकिँदै जाँदा भने ‘अत्यन्तै कठिन अवस्था आए’ दुई चरणमा निर्वाचन गर्न सकिने संकेत दिएकी थिइन् ।
बुधबार : दुई चरणको विकल्प
बुधबार नवलपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई विकल्प प्रस्तुत गरेकी थिइन् ।
पहिलो, कठिन भूगोलमा यातायातका साधन प्रयोग गरेर मतदातालाई मतदान केन्द्रसम्म ल्याउने ।
दोस्रो, त्यो पनि सम्भव नभए अर्को चरणमा निर्वाचन गर्ने ।
प्रधानमन्त्रीको यही भनाइ सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा तरंग पैदा भयो । प्रमुख राजनीतिक दलहरूले यसलाई सरकारको तयारी कमजोरी र निर्वाचन निष्पक्षतामाथिको आशंकासँग जोडेर हेरे ।
दलहरूको कडा असहमति
प्रधानमन्त्रीको दुई चरणीय संकेतलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूले सार्वजनिक रूपमै असहमति जनाए ।
ओलीले मिति सार्नुपरे पनि चुनाव एकै चरणमा हुनुपर्ने अडान लि एभने प्रचण्डले फागुन २१ को तोकिएकै मितिमा एकै चरणमा चुनाव हुनुपर्ने बताएका थिए ।
आज बिहीबार एमाले अध्यक्ष ओली आफु प्रधानमन्त्री रहेका बेला प्रमुख राजनीतिक सल्लाहकार रहेका नेता विष्णु रिमाललाई लिएर बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए । भेटमा ओलीले दुई चरणको चुनावले सरकारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्ने भन्दै एकै चरणमा निर्वाचन गरिनुपर्ने धारणा राखेका थिए ।
बिहीबार : एकै दिन चुनावको घोषणा
दलहरूको दबाब र असहमतिको भोलिपल्टै प्रधानमन्त्री कार्कीले आफ्नो अघिल्लो भनाइ सच्याउँदै निर्वाचन एकै दिन हुने स्पष्ट घोषणा गरिन् । मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस् । एकै दिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ ।’
उनले मौसम अनुकूल हुने विश्वास व्यक्त गर्दै सबै मतदाताले मतदान गर्न पाउने र निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरेर आफू सरकारबाट बाहिरिने बताइन् ।
विश्वसनीयताको दबाबमा सरकार
प्रधानमन्त्रीको बोली चौबिस घण्टामै फेरिनुलाई राजनीतिक वृत्तले सरकारमाथि बढ्दो अविश्वास र दलहरूको दबाबको परिणामका रूपमा हेरेको छ ।
विशेषगरी दुई चरणको चुनावले मतपेटिका सुरक्षा, निष्पक्षता र राज्यको नियतमाथि प्रश्न उठ्ने भन्दै दलहरूले कडा आपत्ति जनाएका थिए । लगत्तै प्रधानमन्त्री कार्की आफ्नै बोली फेर्ने अवस्थामा आईपुगेकी हुन् ।
.jpg)
