काठमाडौं । बंगलादेशी नागरिकलाई यूरोपको इटालीमा रोजगारी दिलाइदिने प्रलोभन देखाएर काठमाडौं ल्याइ बन्धक बनाई राखिएका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले उद्दार गरेको छ ।
उनीहरुलाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८, भङ्गालस्थित एक घर घाडामा लिएर बन्धक बनाइ राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बंगलादेशी नागरिकहरूलाई बन्धक बनाइ राखिएको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको हो ।
सूचनापछि खटिएको प्रहरी टोलीले घरमा पुग्दा ती नागरिकहरूलाई बाहिर निस्कन नदिई नियन्त्रणमा राखिएको अवस्थामा फेला पारेको र तत्काल उद्धार गरिएको एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
उद्धारसँगै प्रहरीले मानव तस्करी तथा ठगीमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ जना बंगलादेशी, १ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन् । पक्राउ पर्ने बंगलादेशी नागरिकहरूमा ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन र ४० वर्षीय यमडी मसिभुर रहमान छन् । यस्तै, भारत घर भएका ४१ वर्षीय सरोज कुमार र नुवाकोट घर भई हाल तारकेश्वर बस्ने ३२ वर्षीय शशि पाठक पनि पक्राउ परेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा गिरोहले बंगलादेशबाट नेपाल बोलाएर इटाली पठाइदिने भन्दै पीडितहरूबाट रकम असुल्ने र त्यसपछि बन्धक बनाई थप रकम माग गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूविरुद्ध शरीर बन्धक तथा ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी भट्टराईले बताए ।
प्रहरीले यस्ता प्रलोभनमा नपर्न तथा वैदेशिक रोजगारीका नाममा हुने अवैध गतिविधिबारे सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
.jpg)
