काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्ने भएका हुन् ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएले भेटवार्ता गर्ने परराष्ट्रले जनाएकाे छ ।
राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन् । यसैगरी जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेसँग शिष्टाचार भेट गर्नेछन् ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै, जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यसूची छ ।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहनेछन् । भ्रमण टाेली यही माघ २१ गते सोही एयरलाइन्सबाट स्वदेश फर्कने मन्त्रालयले जनाएकाे छ ।
.jpg)
