काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले ‘नयाँलाई छान्नुस, भोट बदल्नुस’ भन्ने नारासहित चुनावी मैदानमा छ । तर रास्वपाका कतिपय उम्मेदवारहरुको पृष्ठभूमि केलाउने हो भने रास्वपाका कतिपय उम्मेदवारहरु कुनै न कुनै पार्टीबाट टेष्टेड भएकै नेताहरु चुनावी मैदानमा देखिएका छन् ।
अझ मधेस प्रदेशका उम्मेदवारहरूको पृष्ठभूमि केलाउँदा रास्वपाले अघि सारेको ‘नयाँ’ नाराभित्र अनुहार भने पुरानै देखिएको छ । मात्र ती अनुहारहरुले दल अदल बदल गरेर रास्वपाबाट टिकट हत्याएर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये आधाभन्दा बढीमा रास्वपाले यसअघि विभिन्न दलबाट चुनाव लडिसकेका वा जनप्रतिनिधिका रूपमा परीक्षण भइसकेका उम्मेदवारलाई टिकट दिएको देखिन्छ । कतिपय त प्रत्यक्ष रूपमा दल परिवर्तन गरेर आएका नेता छन् । ब्यवसायीहरु पनि उत्तिकै रास्वपाबाट उम्मेदवार बनेका छन् ।
पत्रकार समेत रहेका जनमतका नेता विपि साहले मधेसका ३२ सिटमध्ये २१ सिटमा रास्वपाले भन्ने गरेका पुरानै दलका नेताहरुलाई ल्याएर रास्वपाले उम्मेदवार बनाएको बताएका छन् । अझ उनले रास्वपासँग प्रश्न गरेका छन्, ‘रास्वपामा प्रवेश गर्नेबित्तिकै उनीहरू रातारात रत्नाकरबाट बाल्मिकि भए ? रास्वपा ‘वासिङ मेसिन’ हो र, जहाँ प्रवेश गर्दा सबै सफा हुन्छन् ?
दल परिवर्तन गर्दै आएका उम्मेदवार
सिराहा–१ का बब्लु गुप्ता महेश बस्नेतसँगको सम्वनधमा थिए । उनी एमाले हुँदै जनेजी आन्दोलनपछि केही समय सरकारमा समेत खेलकुदमन्त्री भए । तर उनले जिम्मेवारी बीचमै छोडेर रास्वपामा पुगेर चुनाव लड्न लागेका छन् ।
सिराहा–२ का शिवशंकर यादव २०७९ को निर्वाचनमा समेत उम्मेदवार बनेका थिए । सिराहा–४ का तपेश्वर यादव पूर्व जसपा नेता हुन्, जो स्थानीय तह चुनावमा झिनो मतले पराजित भएका थिए । अहिले उनी रास्वपाको मधेस प्रदेश अध्यक्ष पनि छन् ।
धनुषा–१ का किशोरी साह जनमत पार्टीबाट आएका निवर्तमान प्रदेशसभा सदस्य हुन् । त्यसअघि उनी एमाले मधेस प्रदेशका सचेतक थिए । धनुषा–४ का राजकिशोर महतो पनि संघीय समाजवादी फोरम हुँदै रास्वपामा पुगेका नेता हुन् । महोत्तरी–१ का प्रमोद महतो स्वतन्त्र उम्मेदवार बनेपछि एमाले र लोसपा हुँदै रास्वपामा पुगेका छन् । उनलाई अहिले रास्वपाले उम्मेदवार बनाएको छ ।
सर्लाही–४ मा उम्मेदवार बनाएका अमरेश सिंह सुरुमा कांग्रेस, त्यसपछि कांग्रेसमा टिकट नपाएपछि गत चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर लामो समयदेखि संसदमा परीक्षण भइसकेका नेता हुन् ।
सर्लाही–३ का नरेन्द्र साह २०७९ मा माओवादी केन्द्रका उम्मेदवार थिए । उनी पनि माओवादीबाट त्यसक्षेत्रमा नारायणकाजी श्रेष्ठले उम्मेदवारी दिएपछि टिकट नपाएपछि रास्वपा प्रवेश गरेर टिटक हत्याएका हुन् । उनी परिक्षण भईसकेका नेता हुन् । कलवार क्यासिनो व्यवसायसँग पनि जोडिएका व्यक्ति हुन् । पर्सा–३ का रमाकान्त चौरसिया निर्माण व्यवसायी हुन् र उनको राजनीतिक पृष्ठभूमि कांग्रेससँग जोडिएको थियो । उनी अहिले रास्वपाको उम्मेदवार छन् ।
यस्तै, बारा–४ का रहवर अन्सारी माओवादी त्यागेर उम्मेदवार बनेका हुन् । पर्सा–२ का सुशील पटेल संघीय समाजवादी फोरम र जसपा छाडेर रास्वपामा पुगेका हुन् । पर्सा–४ का टेकबहादुर शाक्य माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य हुन् । उनी माओवादी छोडेर रास्वपा प्रवेश गरेर टिकट उम्काएका हुन् ।
सप्तरी–३ का उमाकान्त (अमरकान्त) चौधरी मधेसी दलमा आवद्द थिए । त्यसपछि उनी अहिले रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । सप्तरी–४ का सीताराम साह कांग्रेस क्षेत्रीय सभापति थिए । कांग्रेस छोडेर रास्वपाको उम्मेदवा बनेका हुन् उनी । रौतहट–३ का धीरज पटेल पनि अर्को दलबाट टिकट नपाएपछि रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । उनी माओवादीका नेता थिए ।
‘नयाँ’ नाराको अर्थमाथि बहस
यसरी हेर्दा रास्वपाले नयाँ अनुहारभन्दा दल परिवर्तन गरेर आएका वा पहिले नै चुनावी राजनीतिमा सक्रिय व्यक्तिलाई प्राथमिकता दिएको आरोप लाग्न थालेको छ । राजनीतिक विश्लेषकहरू भन्छन्, ‘नयाँ राजनीतिक शक्तिका रूपमा उभिएको पार्टीले पुरानै अनुहारलाई अघि सार्दा मतदातामा भ्रम पैदा हुन सक्छ ।’
तर, रास्वपाले भने अनुभव र संगठनात्मक क्षमता भएका व्यक्तिलाई समेटेर चुनाव जित्ने रणनीति अपनाएको बताउने गरेको छ ।
जे होस्, ‘नयाँलाई छान्नुस’ भन्ने नाराबीच पुराना राजनीतिक पात्रहरूको उपस्थिति बढ्दै जाँदा मधेसमा रास्वपाको वैकल्पिक राजनीतिको दाबी कति विश्वसनीय हुन्छ भन्ने प्रश्न भने चुनावी मैदानमै परीक्षण हुनेछ ।
.jpg)
