काठमाडौं । इख शब्दको अर्थ के होला ? नेपाली शब्दकोषमा यसको अर्थ खखोज्दा भेटिन्छ – प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिमा यही इखको डन्डा बेलाबेला चलाईरहन्छन् ।
आफुसँग प्रतिस्पर्धा गर्न खोज्ने वा आफ्नो आलोचना गर्नेहरुलाई ओली देखिसहन्नन् । त्यस्ता ब्यक्ति पार्टी भित्र हुन् वा बाहिर, ओली मौका मिल्दा पाखा लगाउन तम्सिहाल्छन् । ओलीको यो प्रतिशोधको राजनीति अन्य पार्टी नेतामा त छदैछ, तर आफ्नै पार्टीभित्र पनि निर्मम ढंगले चल्ने गरेको छ ।
त्यसकै शिकार गत २०७९ को चुनावका बेला भीम रावल र घनश्याम भुषालहरु बनेका थिए । अहिले योगेश भट्टराई र गोकुल बास्कोटाहरु बनेका छन् । आफुसँग असहमत पक्षलाई ओलीले भित्तामै पु¥याउने गरी सिध्याउन लागिपर्छन् भन्ने उदाहरण यी नेताहरु बनेका छन् ।
नेकपा एमालेको दशौं महाधिवेशनमा ओली दोहोरिएर सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए । पार्टी विभाजनमा माधव नेपाल, झलनाथ खनालहरु पाखा लागेका बेला उनी आफुसँग चितवनमा सम्पन्न भएको दशौं महाधिवेशनमा कसैले टक्कर नदेओस् भन्ने चाहान्थे । तर उनलाई दशौं महाधिवेशनमा सर्वसम्मत हुन भीम रावलले दिएनन् । रावललाई त्यसबेला घनश्याम भुसालले पनि साथ दिए । त्यसपछि ओलीको योजनामा भीम रावल र घनश्याम भुसालले बल्छी थापे ।
महाधिवेशन प्रतिनिधिहरुलाई चिट नै बाँढेर सस्थागत गुटबन्दी नै गरेर ओलीले पार्टीभित्र फरक मत राख्ने र आफनो आलोचना गर्ने नेताहरुलाई कर्नर पारिरख्न चाहे । जसको कारण २०७९ को प्रतिनिधिसभा चुनावमा ओलीले यी दुवै पात्रलाई पार्टी टिकट दिएनन् । भीम रावलको ठाँउमा माओवादीबाट एमाले बनेका झपट बोहोरालाई टिकट दिलाए । घनश्यामलाई पनि ओलीले टिकट दिनै चाहेनन् ।
फलस्वरुप अहिले यी दुवै पात्र एमालेमा छैनन । रावल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र भुषाल अलग्गै आफ्नै नेतृत्वमा नेकपा (संयुक्त)मा नेता बनेका छन् ।
२०७९ को चुनावमा ओलीले टिकट नदिएपछि घनश्यामले सुरुमा स्वतन्त्र उम्मेदवारी दिए । पछि उनलाई तत्कालिन अवस्थाको कांग्रेस, माओवादीसहितको गठबन्धनले आफनो तर्फको उम्मेदवार बनाए । तर उनी निर्वाचनमा पराजित हुन पुगे । त्यसपछि अन्ततः दुवै एमालेबाट बाहिरिनुपर्ने अवस्था सम्म ओलीले पु¥याईदिए ।
ठिक त्यस्तै, अहिले पनि ओलीले आफुसँग एघारौ पार्टी महाधिवेशनमा नेतृत्व छोडनु पर्ने आवाज उठाएका इतर समुहका नेताहरुलाई टिकटमै बञ्चित गराए । आफुसँग प्रतिस्पर्धाको राजनीति गर्ने र तिखो बचन लगाउनेलाई ओलीले टिकटमै बञ्चित गराए । उनले उपमहासचिव योगेश भटटराई र केन्द्रीय सदस्य गोकुल बास्कोटालाई टिकट दिएनन ।
उनले त ठाकुर गैरे, विनोद ढकालसम्मलाई पनि टिकट दिन चाहेका थिएनन । तर त्यहाँ तल्लो तहका नेता –कार्यकर्ताको दवावमा टिकट नदिईरहन् सकेनन् ।
सुरेन्द्र पाण्डे, योगेश भट्टराई, बिन्दा पाण्डे, गोकुल बाँस्कोटालगायतलाई छानीछानी ओलीले टिकट दिएनन् । ओलीले अझ एक दैनिक पत्रिकालाई अन्तवार्ता दिँदा जित्ने आधार नै नदेखिएकोले टिकट नदिएकोसम्म बताए ।
‘सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको कुनै आधारै छैन । मसँग मतभेद राख्नु नै उम्मेदवारी प्राप्त गर्ने आधार होइन नि ।’ ओलीले भनेका थिए, ‘निर्वाचन क्षेत्रमा कस्तो स्थिति छ, के छ भनेर हेर्नुपर्छ । जसले जित्ने स्थिति हुन्छ, उसले टिकट पाउने हो । जसले जित्ने स्थिति हुँदैन, जसले नकारात्मक भूमिका खेलेको छ, त्यो टिकटको ‘ग्यारेन्टी’ होइन । जितियोस् कि नजितियोस्, टिकट थमाइदिनुपर्ने भन्ने हुँदैन । जसको जित्ने सम्भावना छ, उनीहरूले पाएका छन् । विपक्ष कोही पनि छैन ।’
ओलीले अहिले योगेश र गोकुलको ठाँउमा टिकट दिएका एमाले उम्मेदवार भन्दा यी दुवै नेता आफनो निर्वाचन क्षेत्रमा बलियो उम्मेदवार थिए । तर त्यसलाई ओलीले कमजोर देखाईदिए । उनले त्यहाँ योगेश र गोकुल के आधारमा कमजोर भए ? त्यसमा गरिएको अध्ययन के हो ? भन्ने खुलाएका छैनन । तर उनले आफैंले यी दुई नेताको कमजोर धरातल रहेको बन्दै बद्ख्याई गरिदिए ।
‘गोकुल बाँस्कोटाले अघिल्लो पटक टिकट पाउनुभयो, जित्नुभयो । चार वर्ष अगाडि र अहिलेको स्थितिमा फरक परेको छ, ‘ग्राउन्ड रियालिटी’ मा । महेश बस्नेतको स्थितिमा फरक परेको होला । गोकुलजीको स्थितिमा फरक परेको होला । जनताको धारणामा फरक परेको होला । गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि ? अथवा जनतामा उहाँका कामहरूप्रति असन्तुष्टि भए कि ? जनताले मन नपराउने र भोट हाल्न मुस्किल हुने स्थिति बन्यो कि ? त्यस्ता कुराहरूको मूल्यांकन भएको हुन सक्छ ।’ ओलीले इख पाल्दै भने, ‘अघिल्लो साल जसले पाएको हुन्छ, उसैले खुरुखुरु पाउनुपर्छ भन्ने तपाईंहरूको सोच हो रु प्रश्न हो ? अहिले त्यस्तो हुँदैन । अघिल्लो पटक जितेको थियो भने यसपल्ट पनि अनिवार्य जित्छ भन्ने हुँदैन । एउटा खेलाडी छनोट भएको हुन्छ एक पटक, अर्को पटक त्यो छनोटमा नपर्न सक्छ । क्याप्टेनले आफ्नो टिमलाई जिताउने उद्देश्यलाई धेरै हिसाब गरेर नै खेलाडी छनोट गर्छ ।’
ओलीको भाष्य अनुसार टिकट वितरण पूर्णतः ‘जित्ने सम्भावना’ मा आधारित छ । तर व्यवहारले अर्कै कथा भन्छ । भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकुल बाँस्कोटा यी सबै कुनै समय जितेका, संगठनमा प्रभाव भएका र जनतामा परिचित अनुहार हुन् । रावल र भुषाललाई नै उनले पार्टीबाटै पाखा लगाईसके । गोकुल र योगेशले अहिले चुनावमा पार्टी उम्मेदवार जिताउन लाग्ने तर चुनावपछि यसको हिसाव ओलीसँग खोज्ने बताएका छन् ।
ओलीको यो शैलीले पार्टीभित्र नेतृत्वसँग टक्कर नदेऊ, नत्र राजनीतिक भविष्य जोखिममा पर्छ भन्ने सन्देश दिन खोजेको अर्थमा नेता कार्यकर्ताले लिएका छन् ।
आज ओली एमालेमा बलिया देखिन्छन् । तर इतिहासले बारम्बार देखाएको छ-व्यक्तिगत इखमा चलेको राजनीति अन्ततः संगठनकै लागि महँगो पर्छ । ओलीको ‘इखालु राजनीति’ एमालेका लागि रणनीति हो कि आत्मघाती अभ्यास यसको उत्तर समयले दिने एमाले नेताहरु बताउँछन् ।
.jpg)
