काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।
निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोपमा धर्मराज तिमिल्सिनाले बालेनविरुद्ध उजुरी दिएका हुन् ।
बालेनको अभिव्यक्ति ‘घृणात्मक, भ्रामक र मानहानिकारक’ भएको भन्दै यसले लोकतान्त्रिक निर्वाचन प्रक्रियामा असर पार्ने तिमिल्सीनाले आरोप लगाएका छन्।
उनले सोमबार निर्वाचन आयोग, कान्तिपथमा पेश गरेको निवेदनमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भमा बालेन शाहले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख गरेका छन्।
निवेदनमा बालेनले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिना लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप भएको दाबी गरिएको छ। यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको उल्लेख गरिएको छ।
उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।
.jpg)
