राष्ट्रिय सभाको अंकगणित : कांग्रेस पहिलो, नेकपा दोस्रो र एमाले अब तेस्रो दल

राष्ट्रिय सभाको अंकगणित : कांग्रेस पहिलो, नेकपा दोस्रो र एमाले अब तेस्रो दल

images
आइतवार, माघ १२ २०८२
  • काठमाडौं । राष्ट्रिय सभामा दलहरुको अंकगणित अब बद्लिएको छ । आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ सिटमध्ये १८ सिटमा आज (आइतबार) भएको निर्वाचन परिणामपछि राष्ट्रिय सभामा दलहरुको अंकगणित फेरिएको हो । 

    अब राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा रहनेछ । उसको राष्ट्रिय सभामा २५ सिट हुनेछ । उसले आइतबार भएको निर्वाचनमा ९ सिट थप गदै राष्ट्रिय सभामा पहिलो दल बनेको हो । यसअघि कांग्रेसको १६ सिट थियो। 

    त्यस्तै, यस अघि पहिलो दल रहेको नेपाली कम्युनिष्ट पार्टीले भने आइतबारको चुनावमा कतै जित निकाल्न सकेन । जसकाकारण उसले ८ सिट गुमाउँदै अब १७ सिटसहित दोस्रोमा पुगेको छ। 
      
    एमाले, कांग्रेस र जसपाबीच यो चुनावमा चुनावी तामेल भएको थियो भने नेपाली कम्युनिष्ट पार्टी एक्लै चुनावी मैदानमा उत्रेको थियो । तीन दल एकातिर हुँदा नेपाली कम्युनिष्ट पार्टीलाई चुनाव जित्न महाभारत नै थियो । नभन्दै उसका सवै उम्मेदवारहरु पराजित हुन पुगे । कांग्रेस, एमाले र जसपा गठबन्धनका उम्मेदवारहरुले जित निकाले । 

    जसकाकारण राष्ट्रिय सभामा पहिलो दल रहेको नेपाली कम्युनिष्ट पार्टी खुम्चेर अब दोस्रो र पहिले दोस्रो दल रहेको कांग्रेस आइतबारको चुनावमा ९ सिट थप गदै पहिलो दल बनेको छ । 

    एमाले भने राष्ट्रियसभामा तेस्रो दलमै सिमित भएको छ । एमाले १० सिटसहित अब राष्ट्रिय सभामा तेस्रो दलका रुपमा रहने छ । जसपा नेपाल ३ सिट (महन्थ ठाकुरसहित) हुनेछ । 
    त्यस्तै, राष्ट्रिय जनमोर्चा १ जना सांसद मात्रै रहने छन् । 

    राष्ट्रिय सभामा कुल ५९ सदस्य रहन्छन्, जसमध्ये राष्ट्रपतिले ३ जना मनोनीत गर्ने गर्छन्। मनोनित मध्येको एक पद पनि रिक्त हुँदैछ । त्यसमा सरकारको सिफारिसमा राष्ट्रपतिले सिफारिस गर्ने ब्यवस्था छ । 
    राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ। यसमध्येका एक एक चौथाई सदस्यको कार्यकाल फेरिरहने गरी चक्रिय प्रणालीका आधारमा चुनिने ब्यवस्था गरिएको छ ।

    क-कसले जिते चुनाव ?
    आइतबार भएको चुनावबाट कांग्रेसका ९, एमालेका ८ र जसपाका १ जना निर्वाचित भएका छन् । कोशी प्रदेशबाट एमालेकी रोश्नी मेचे र सोमनाथ पोर्तेल तथा कांग्रेसका सुनिलबहादुर थापा निर्वाचित भएका छन्। त्यस्तै, मधेस प्रदेशबाट एमालेकी रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान र रन्जित कर्ण तथा जसपा नेपालको तर्फबाट लोकतान्त्रिक समाजवादीका महन्थ ठाकुर निर्वाचित भएका हुन्। जसपा र लोसपाबीच एकीकरण भएपछि ठाकुर उम्मेदवार बनेका थिए। 
    बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन्। यस्तै, एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका छन्। 
    लुम्बिनीबाट कांग्रेसका वासुदेव घिमिरे र चन्द्रबहादुर केसी तथा कर्णालीबाट एमालेकी मीनासिंह रखाल र कांग्रेसका ललितजंग शाही निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट एमालेकी लिलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्य बनेका छन्। 

    कसले कति मत ल्याए ? हेनुहोस् मतभार

    NA-Election-Results-1_ZO1LdBbyXX.jpg

    NA-Election-Results-2_zEpczYEgSx.jpg

    NA-Election-Results-3_iKV1XhxUlN.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend