काठमाडौं । देशभर २९ सय २५ जनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार साँझ दिएको जानकारी अनुसार देशभर उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
आयोगका सचिव कृष्णबहादुर राउतले साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार ३ सय ३६ महिला र २ हजार ५ सय ८९ पुरुषले देशभरबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
समावेशीतातर्फ अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यो विवरण प्रारम्भिक भएकाले अन्तिम संख्या केही थपघट हुन सक्ने निर्वाचन आयोगका सचिव राउतले जानकारी दिए ।
आयोगले आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गराएको थियो भने भोलि माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ माघ ८ गते उजुरीउपर जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारले नाम फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
.jpg)
