अन्तरिम सरकारका चार मन्त्री चुनावमा, को-कहाँ लड्दैछन् ?

अन्तरिम सरकारका चार मन्त्री चुनावमा, को-कहाँ लड्दैछन् ?

images
मंगलवार, माघ ७ २०८२
  • काठमाडौं । गत भदौं २३ र २४ को जेनजी विद्रोहपछि सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बन्यो । प्रधानमन्त्री कार्कीले राजनिति गर्नेलाई सरकारमा सहभागी नगराउने भन्दै आफनो सरकारलाई नागरिक सरकार भएको घोषणा गरेकी थिइन् ।

    तर उनकै नेतृत्वको सरकारका चार जना मन्त्रीहरु अन्ततः राजीनामा दिएर चुनावी मैदानमा उत्रेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा चार जना अन्तरिम सरकारका मन्त्रीहरुले प्रत्यक्ष चुनाव उठन राजीनामा दिएर मैदानमा आएका छन् । 

    दुई जना मन्त्री रास्वपा प्रवेश गरेर चुनावी मैदानमा छन् भने एक जना आफ्नै नेतृत्वमा पार्टी गठन गरेर अगाडी बढेका छन् भने अर्का एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

    फागुन २१ को चुनावका लागि आज प्रत्यक्ष तर्फका उम्मेदवारी दर्ताको कार्यतालिका छ । अन्तरिम चुनावी सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निर्वाचनमा उम्मेदवार बन्दै छन्। घिसिङले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका छन्। उनी त्यसअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक थिए। घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका उज्यालो पार्टीका प्रवक्ता डा राजु थापाले जानकारी दिए।

    युवा तथा खेलकुदमन्त्री गुप्ता जेनजी आन्दोलनका अगुवा तथा सामाजिक अभियन्ताका रुपमा परिचित छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं १ बाट आफूले उम्मेदवारी दिन लागेको गुप्ताले जानकारी दिए।

    पूर्वसञ्चारमन्त्री खरेल दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए। मन्त्री बन्नुअघि उनले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालेका थिए। खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले आजै पार्टी आबद्धताको प्रतीक चिह्न प्रदान गरेका छन्। उनले अपराह्न ३ बजे ललितपुर निर्वाचन क्षेत्र नं २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।

    यस्तै पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक पुनले भने आजै म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिइसकेका छन्। आफनो प्रस्ताव अर्थमन्त्री रामेश्वर खनालले रोकेको भन्दै उनले सिधा म्याग्दी पुगेर स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका हुन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend