काठमाडौं । देशका प्रमुख महानगर र उपमहानगरका निर्वाचित मेयरहरू एकपछि अर्को गर्दै पद त्यागेर सिंहदरबारको ढोका ढकढक्याउन थालेका छन् । अझै करिब २० महिना कार्यकाल बाँकी रहँदा नै काठमाडौं र भरतपुर महानगरपालिका तथा धरान उपमहानगर पालिकाका मेयरहरूले राजीनामा दिएर संसदीय राजनीतिमा पाइला चाल्ने भएपछि नेपाली राजनीतिमा नयाँ बहस र तरंग सिर्जना गरेको छ । दुई मेयरले आइतबार राजीनामा दिईसकेका छन् भने अर्का मेयरले दिने तयारी गरिरहेकी छिन् ।
स्थानीय सरकारको नेतृत्वबाट प्रत्यक्ष संसदीय राजनीतिमा प्रवेश गर्ने यो लहरलाई कतिले ‘राजनीतिक परिपक्वताको स्वाभाविक चरण’ भनेका छन् भने कतिले ‘मतदाताप्रतिको अधुरो उत्तरदायित्व’ का रूपमा आलोचना गरेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह स्थानीय शासनको परम्परागत ढाँचालाई चुनौती दिँदै उदाएका पात्र हुन् । स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएर सहर व्यवस्थापन, अतिक्रमण नियन्त्रण, सुशासन र प्रशासनिक अनुशासनमा उनले थालेका कदमले उनलाई राष्ट्रिय चिनारी दिलायो ।
बालेन शाहले महानगरको मेयर पदबाट आइतबार नै राजीनामा दिए । तर राजीनामा दिएपछि महानगरले उनलाई बिदाई गर्ने अवसर पाएन । महानगरको कार्यपालिका बैठकमा उपप्रमुख सुनिता डंगोलले शाहको राजीनामा प्राप्त भएको जानकारी गराउँदै संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा महानगरको प्रचलित कानुनी व्यवस्थाबमोजिम प्रक्रिया अघि बढाइएको स्पष्ट पारिन् । बैठकले बालेन शाहप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष भिडन्तमा उत्रने तयारीमा बालेन छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाछ चुनाव लड्न लागेका छन् । आजै घण्टीघरमा प्रवेश गरेर उनले पार्टीको बरिष्ठ नेताको जिम्मेवारी सम्हालेका छन् । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गदै सोमबार जनकपुरबाट चुनावी अभियान थाल्दैछ ।
बालेन मात्रै होइन, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल पनि सिंहदरबार यात्रामा निस्किएकी छन् । लगातार दुई कार्यकाल मेयर भएर शहरी पूर्वाधार, स्वास्थ्य, शिक्षा र व्यवस्थापन तथा चितवनको मुहारै फेर्न सफल भएकी सफल मेयरको परिचय बनाएकी दाहाल चितवन–३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । नेपाली कम्युनिष्ट पार्टीको तारा चुनाव चिन्ह्र लिएर उनी प्रतिस्पर्धामा उत्रन लागेकी हुन् ।
चितवन पुग्ने जो कोही पनि रेनुले भरतपुर महानगरपालिकाको मेयर भई चितवनमा गरेको विकास सबैले चर्चा गर्नेगर्छन् । उनले मेयर भएर भरतपुरको अद्भूत विकास मात्रै गरेका छैनन, चितवनको मुहारनै फेरेका छन् ।
स्थानीय तहमा उनले गरेको काम अहिले देशैभर चर्चा हुने गर्छ । उनी त्यही विकासको मोडेल कार्यान्वयन र व्यवस्थापनको अनुभव बोकेर संघीय संसद प्रवेश गर्ने तयारीमा लागेकी छिन् ।
त्यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि पदबाट राजीनामा आइतबार नै दिएका छन् । उनी भने आफ्नै पार्टी बनाएर चुनावमा जान लागेका हुन् । आइतबार बसेको कार्यपालिका बैठकमा उनले उपप्रमुख अइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन् । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारी दिने तयारीमा रहेका साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् ।
खानेपानी, श्रम अभियान र जनसहभागितामा आधारित कार्यशैलीका कारण चर्चामा रहेका साम्पाङले पार्टी नै खोलेर प्रधानमन्त्री बन्ने घोषणा गर्नु नेपाली राजनीतिमा फरक प्रयोगका रूपमा हेरिएको छ ।
बालेन शाह, रेनु दाहाल र हर्क साम्पाङ, यी तीनै पात्र शैली, पृष्ठभूमि र राजनीतिक आधारमा फरक छन् । तर साझा कुरा एउटै छ- उनीहरू स्थानीय सत्ता पार गरेर राष्ट्रिय बागडोर सम्हाल्ने आकांक्षामा छन् ।
.jpg)
