सिन्धुली । सिन्धुलीको घ्याङलेख-२ बस्तीपुर हायुटारमा रहेको नेपाल एसबीआई बैंक शाखामा लुटपाट गर्ने ४ जना पक्राउ परेका छन् । मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ । करिव ५,६ जनाको समुहमा रहेकाले मंगलबार राती बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।
उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।
लुटपाटमा ५,६ जना सहभागी भएको भन्ने रिपोर्ट छ । ४ जनालाई पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदैछ’, एसपी लालध्वज सुवेदीले भने । लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ । स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको छ ।
लुटपाटमा संग्लन्न भएकाहरु काभ्रेको बनेपाबाट गाडी रिर्जभ गरेर त्यहाँ पुगेको अनुसन्धानमा खुलेको छ । रातको समयमा बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरी घाइते बनाएर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरिएको खुलेको छ । लुटेराले खुकुरी प्रहार गर्दा सुरक्षागार्ड रुद्र कार्की घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
काभ्रेको बनेपाबाट रिजर्भ गरेर लगेको बीएड-०३९८ नम्बरको टाढा सुमो गाडीसहित त्यसका चालक भवत सिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी अनुसन्धानमा गाडी चालकले भने गाडी रिर्जभ गरेर त्यहाँसम्म आफुलाई लगिएको तर लुटेराहरुको अन्य जानकारी आफुलाई नभएको बयान प्रहरीमा दिएका छन् ।
प्रहरीले घटनाबारे सुक्ष्म अध्ययन गरिरहेको छ ।
.jpg)
