संकटमा देउवाको ‘राजकाज’

संकटमा देउवाको ‘राजकाज’

विशेष महाधिवेशनसँगै कांग्रेस सभापतिको प्राधिकार खुम्चिँदै

images
आइतवार, पौष २७ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले आज देखि काठमाडौंमा विशेष महाधिवेशन आयोजना गदैछन् । दिउँसो उद्घाटन हुने विशेष महाधिवेशनले पार्टी सभापति शेरवहादुर देउवाको राजनीतिक राजकाजमा प्रहार गर्ने गरी चोटिलो निर्णय गर्नेछ । 

    देउवाको दशकौँ लामो ‘राजकाज’ अहिले सबैभन्दा गम्भीर संकटमा पुगेको छ । जेन-जी पुस्ताको विद्रोहपछि सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेर सहानुभूति बटुलेका देउवा सिंगापुर उपचारबाट फर्किएसँगै पुनः पार्टी सत्ताको केन्द्रमा फर्किए । अब देउवाको नेतृत्वमा जान नसकिने र त्यसका लागि नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग कांग्रेसमा चर्कियो । जसको पक्ष विपक्षमा अहिले नेता कार्यकर्ता धुव्रिकृत भईरहेका छन् । 

    सभापति देउवाले विधान विपरित भन्दै विशेष महाधिवेशनलाई अश्वीकार गरिरहेका छन् । प्रमुख अतिथिको रुपमा निम्ताउन पुगेका विशेष महाधिवेशन पषधरको निम्ता उनले अश्वीकार गरिदिएका छन् ।  तर विशेष महाधिवेशनलाई सहमति र संकल्पको अवसर बनाउनुको सट्टा अस्वीकार गर्दा उनी स्वयंले आफ्नो प्राधिकार खोसिने ढोका खोलेका छन् ।

    कांग्रेसको दोस्रो विशेष महाधिवेशन ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागमा आज देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । विधानतः बहुमत प्रतिनिधिको मागमा बोलाइएको महाधिवेशन वैध ठहरिए पनि देउवा पक्षले यसलाई ‘अवैध’ भन्दै अस्वीकार गरेको छ । यही अस्वीकारले पार्टीभित्र सभापतिको वैधानिक, नैतिक र संगठनात्मक प्राधिकारलाई क्रमशः कमजोर बनाउँदै लगेको छ ।

    कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको माग अब विचारको तहबाट आन्दोलनको तहमा पुगेको छ । महामन्त्रीहरूदेखि केन्द्रीय सदस्य, प्रदेश नेतृत्व र महाधिवेशन प्रतिनिधिसम्मले ‘देउवापछिको कांग्रेस’ को बहस खुला रूपमा थालेका छन् ।  तर देउवाले विशेष महाधिवेशनलाई संवाद र सहमतिको मञ्च बनाउन नचाहँदा पार्टी एकताभन्दा विभाजनको जोखिम बढ्दै गएको छ ।

    प्राधिकार खोस्ने दिशामा महाधिवेशन

    विशेष महाधिवेशनले अनिवार्य रूपमा नयाँ सभापति चयन गर्नैपर्छ भन्ने छैन । तर यो निर्णय विशेष महाधिवेशनमा कति महाधिवेशन प्रतिनिधि सहभागी हुन्छन् ? र उनीहरुले हलमा खोज्ने निकास के हुन्छ ? भन्ने आधारमा हुने देखिन्छ । बहुमत प्रतिनिधि उपस्थित भएर नेतृत्व फेर्ने प्रस्ताव गरेमा देउवाको सभापति पद गुम्नेछ । त्यसो नभई उनको प्राधिकार खोसेर जाने अर्काे विकल्प पनि विशेष महाधिवेशनले तय गर्नसक्नेछ । बहुमत प्रतिनिधिको उपस्थितिमा हुने निर्णयले देउवाको ‘राजकाज’ सिधै प्रभावित गर्नेछ । महाधिवेशनबाट सभापतिको प्रमुख अधिकारहरू, निर्वाचनका लागि टिकट वितरण, केन्द्रीय समितिको निर्णय प्रक्रिया, अनुशासन र संगठन परिचालन जस्ता विषयमा पुनर्संरचना वा अधिकार कटौती हुने सम्भावना प्रबल देखिएको छ ।
    यसले देउवालाई औपचारिक रूपमा सभापति रहे पनि व्यवहारतः शक्तिविहीन बनाउने जोखिम बोकेको छ ।

    इतिहास दोहोरिन्छ कि उल्टिन्छ ?

    कांग्रेसको करिब ८० वर्षे इतिहासमा यो दोस्रो विशेष महाधिवेशन हो । २०१२ सालमा वीरगन्जमा भएको छैटौँ नियमित महाधिवेशनपछि सभापति बनेका सुवर्णशमशेरले २०१४ सालमा विशेष महाधिवेशन आह्वान गरेर नेतृत्व बीपी कोइरालालाई सुम्पिएका थिए । त्यो विशेष महाधिवेशन पार्टी सत्ता (नेतृत्व) हस्तान्तरणको उदाहरण बनेको थियो ।
    तर यसपालि स्थिति उल्टो छ, सभापतिकै अवरोधका बीच विशेष महाधिवेशन हुँदैछ, जसले देउवाको राजनीतिक विरासतलाई थप प्रश्नको घेरामा ल्याएको छ ।

    नेतृत्व परिवर्तनको सम्भावना खुला
    यदि विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले नेतृत्व परिवर्तनको पक्ष लिन्छन् भने देउवाको सभापतित्व नै समाप्त हुने सम्भावना पनि विधानतः खुला छ । त्यस्तो अवस्थामा देउवाको राजकाज केवल औपचारिक इतिहासमा सीमित हुनेछ, संगठनात्मक शक्ति नयाँ नेतृत्वतर्फ सर्नेछ ।


    शेरबहादुर देउवा अहिले कांग्रेस सभापति मात्र होइन, एक युगको प्रतीक हुन् । तर विशेष महाधिवेशनलाई अवैध भन्दै अस्वीकार गर्नु उनको राजनीतिक जीवनको सबैभन्दा महँगो निर्णय बन्न सक्ने संकेत देखिन थालेको छ । सहमतिको बाटो छोडेर टकराव रोज्दा देउवाको राजकाज प्राधिकार खोसिँदै गएको छ । विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिले देउवामाथी कस्तो डन्डा चलाउन खोज्छन्, त्यसले उनको राजनीतिक जीवनको परिधि निर्धारण गर्नेछ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend