पाँच वर्षमा ६५८ अवैध भर्चुअल सम्पत्ति कारोबार शङ्कामा

पाँच वर्षमा ६५८ अवैध भर्चुअल सम्पत्ति कारोबार शङ्कामा

images
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौँ । नेपालमा कानुनतः प्रतिबन्धित मानिएको ‘भर्चुअल सम्पत्ति’ सम्बन्धी शङ्कास्पद कारोबार पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको तथ्य सार्वजनिक भएको छ।

    नेपाल राष्ट्र बैङ्कअन्तर्गतको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको भर्चुअल एसेट सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२५ अनुसार पछिल्लो पाँच वर्षको अवधिमा यस्ता ६५८ वटा शङ्कास्पद कारोबार तथा गतिविधि पहिचान भएका छन्।

    नेपालमा बिटकोइन, इथेरियमजस्ता क्रिप्टोकरेंसी, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड डिजिटल सम्पत्तिको कारोबार अवैध मानिन्छ। यस्ता भर्चुअल सम्पत्ति भुक्तानी, लगानी, स्थानान्तरण र व्यापारका लागि प्रयोग हुने गरेका छन्।

    प्रतिवेदनअनुसार सन् २०२१ जनवरीदेखि २०२५ जुलाईसम्मको अवधिमा वित्तीय जानकारी एकाइमा ६५८ वटा शङ्कास्पद कारोबारको विवरण पुगेको हो। वर्षगत रूपमा हेर्दा सन् २०२१ मा १३, २०२२ मा १७३, २०२३ मा १३८ र २०२४ मा सबैभन्दा बढी २५२ वटा शङ्कास्पद कारोबारको सूचना प्राप्त भएको छ। सन् २०२५ को जुलाई १६ सम्म मात्रै ८२ वटा यस्ता कारोबार पहिचान भइसकेका छन्।

    प्राप्त शङ्कास्पद कारोबार ‘रिपोर्ट’मध्ये ९१ प्रतिशतभन्दा बढी अर्थात् करिब ६ सय वटा वाणिज्य बैङ्कमार्फत आएका छन्। बाँकी विवरण विकास बैङ्क ४८, रेमिट्यान्स कम्पनी ६, वित्त कम्पनी २, भुक्तानी प्रणाली सञ्चालक १ र स्टक ब्रोकर १ सँग सम्बन्धित रहेका छन्।

    राष्ट्र बैङ्कले यी शङ्कास्पद कारोबारको विवरण सम्बन्धित अनुसन्धान निकायहरूमा पठाउँदै आएको छ। प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षमा २३२ वटा विवरण नेपाल प्रहरीलाई, ११५ वटा राजस्व अनुसन्धान विभागलाई, ६ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई, तीनवटा राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी सेवा विभागलाई र एउटा आन्तरिक राजस्व विभागलाई पठाइएको छ।

    वित्तीय जानकारी एकाइका प्रमुख तथा राष्ट्र बैङ्कका निर्देशक वासुदेव भट्टराईका अनुसार शङ्कास्पद कारोबारको सूचना सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि थप अनुसन्धान, मुद्दा दायर र अदालतबाट पुष्टि भएपछिमात्रै कारोबार अवैध ठहर हुने प्रक्रिया अघि बढ्छ।
    “हामीले संकलन गरेका विवरण अनुसन्धान निकायलाई दिएका छौँ। त्यसपछि उनीहरूले अनुसन्धान गर्छन्, मुद्दा अघि बढ्छ र अदालतको फैसला आएपछि मात्रै निष्कर्षमा पुगिन्छ,” उनले भने । 

    प्रतिवेदनले शङ्कास्पद भर्चुअल सम्पत्ति कारोबारमा संलग्न व्यक्तिहरूको उमेर र पेशागत अवस्थाबारे पनि विश्लेषण गरेको छ। उमेर समूहअनुसार २६ देखि ३० वर्षका व्यक्ति ३५ प्रतिशत, २१–२५ वर्ष र ३१–३५ वर्ष उमेर समूह समान २०–२० प्रतिशत, ३६–४० वर्षका १२ प्रतिशत, ४१ वर्षभन्दा माथिका १० प्रतिशत र १६–२० वर्ष उमेर समूहका तीन प्रतिशत रहेका छन्।

    पेशागत रूपमा हेर्दा सबैभन्दा धेरै २९ प्रतिशत विद्यार्थी रहेको पाइएको छ। त्यसपछि २१ प्रतिशत जागिरे, १९ प्रतिशत व्यवसायी, नौ प्रतिशत वैदेशिक रोजगारमा गएका, पाँच प्रतिशत कृषि पेशामा संलग्न, चार प्रतिशत स्वरोजगार, दुई प्रतिशत इञ्जिनियर रहेका छन्। चिकित्सक, धार्मिक व्यक्ति र गृहिणी समान एक-एक प्रतिशत छन्।

    प्रतिवेदनअनुसार २६ प्रतिशत व्यक्तिको बैङ्क खातामा बाइनान्स, बिटकोइन, क्रिप्टो, हाइपर फन्ड, हाइपरभर्स, एमटी क्वाइनजस्ता प्लेटफर्मसँग प्रत्यक्ष कारोबार देखिएको छ। १६ प्रतिशत व्यक्ति अनौपचारिक स्रोत तथा इमेलमार्फत क्रिप्टो कारोबारमा संलग्न रहेको जानकारी प्राप्त भएको जनाइएको छ।

    त्यस्तै, दुई प्रतिशत व्यक्तिले क्रिप्टो व्यापारका लागि अरूको बैङ्क खाता प्रयोग गर्ने ‘मनी म्युल’ को सहारा लिएको, पाँच प्रतिशतले डलर कार्डमार्फत क्रिप्टो तथा टोकन खरिद गरेको, दुई प्रतिशत ग्याम्बलिङ र क्रिप्टो दुवैमा संलग्न रहेको तथा दुई प्रतिशत क्रिप्टो र हुन्डी कारोबारसँग जोडिएको पाइएको छ। चार प्रतिशत व्यक्तिले अरूलाई क्रिप्टो कारोबारमा संलग्न गराउने ‘क्रिप्टो फ्रड’ गरेको उल्लेख छ।

    बाँकी ४२ प्रतिशत व्यक्ति भने बैङ्क खातामा पटक-पटक ठूलो रकम जम्मा गर्ने र झिक्ने गतिविधिका कारण शङ्काको दायरामा परेका छन्। यही अस्वाभाविक वित्तीय गतिविधिका आधारमा उनीहरूलाई शङ्कास्पद कारोबारको सूचीमा राखिएको प्रतिवेदनमा उल्लेख छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend