प्रेम परियार/ ओस्लो (नर्बे) । तमु समाज नर्बेद्वारा आयोजना गरिएको गुरुङ समुदायको महान सांस्कृतिक पर्व तमु ल्होसार तथा नयाँ वर्षको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
डिसेम्बर ३० तारिखमा ओस्लोस्थित कालबाकेंन हलमा सम्पन्न कार्यक्रममा गैर आवसीय नेपाली संघ (एनआरएन) नर्बेकी अध्यक्ष श्रद्धासिंह थापा प्रमुख अतिथि रहनुभएको थियो । तमु समाज नर्बेका अग्रज समाजसेवी तथा बौद्दिक ब्यक्तित्व हेम गुरुङसँग संयुक्त रूपमा दीप प्रज्वलन गरी उहाँहरूले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम टंक गुरुङको सञ्चालनमा भएको थियो । कार्यक्रममा जीत गुरुङले तमु ल्होसारको सांस्कृतिक महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले सर्प वर्गको बिदाई र घोडा वर्गको स्वागत गर्ने पर्व तमु ल्होसारका विधिव आयाम र महत्वका बारेमा जानकारी दिनुभएको थियो ।
प्रमुख अतिथि एनआरएन नर्वेका अध्यक्ष थापाले विदेशमा रहेर पनि नेपाली समुदायले सामूहिक रूपमा मौलिक चाडपर्व मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । यस्ता सांस्कृतिक पर्व, भेषभुषा र मौकिल झलकका कार्यक्रमले नेपाल र नेपाली समुदायकाबीचको आत्मीयता, एकता र पहिचान थप बलियो बनाएको अध्यक्ष थापाको भनाइ थियो ।
कार्यक्रममा हेम गुरुङले गुरुङ भाषामै स्वागत मन्तव्य दिँदै तमु ल्होसार ऐतिहासिक तथा सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभयो । उहाँले तमु ल्होसार पर्वले सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले तमु ल्होसार पर्वको अवसरमा आयोजना गरिने विविध सास्कृतिक कार्यक्रममार्फत परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । आगामी दिनमा पनि यसै अनुरुपका सस्कृतीको जगेर्ना गर्ने काममा लागिरहनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सर्प वर्गको बिदाई गर्दै नयाँ वर्ष ‘त’ ल्होसार (घोडा वर्ग) को स्वागत गरिएको थियो । घोडा वर्गमा जन्मिएका व्यक्तिहरूलाई अशुभबाट जोगियोस् भन्ने कामनासहित गुरुङ परम्पराअनुसार धागो र जन्तर लगाइदिने विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो ।
कार्यक्रममा पुरुषहरू ढाका टोपी, भाङ्ग्रा र कछाडमा तथा महिलाहरू गुन्युचोली र घलेकमा सजिएका थिए । एकल तथा सामूहिक नृत्य र संगीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
आगन्तुक पाहुनाका लागि चिया–कफीसहित नेपाली स्वादको सेलरोटी र नेपाली खानाको व्यवस्था गरिएको थियो । साँझ करिब ९ बजेसम्म चलेको कार्यक्रममा नर्बेमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित करिब ४०० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
.jpg)
