फागुन २१ मै चुनाव गराउने अवस्थामा पुग्यौं : प्रधानमन्त्री

फागुन २१ मै चुनाव गराउने अवस्थामा पुग्यौं : प्रधानमन्त्री

images
बुधवार, पौष १६ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार तोकिएकै मिति फागुन २१ मा चुनाव गराउने अवस्थामा पुगेको बताएकी छिन् । राजनीतिक दलहरुका बीचमा विश्वासको वातावरण नबन्दा चुनाव हुने नहुने अन्यौलता देखिरहेका बेला दलहरुले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउने सम्मका काम गरिसकेकोले अब चुनाव हुँदैन की भन्ने आशंका हटेर तोकिएकै मितिमा चुनाव हुने अवस्थामा पुगिएको प्रधानमन्त्री कार्कीको भनाई थियो । 

    नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रमलाइृ काठमाडौंमा सम्बोधन गदैं प्रधानमन्त्री कार्कीले अब चुनावमा आशंका नरहेको प्रष्ट पारेकी हुन् । चुनावको वातावरण निर्माणमा लागेको भन्दै प्रधानमन्त्री कार्कीले पहिलो पटक राजनीतिक दलहरुलाई धन्यबाद समेत दिइन् । 

    ‘मुलतस् सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्न यो सरकार गठन भएको सबैलाई विदितै छ । सरकार, राजनीतिक दल तथा युवाहरुसँग निरन्तर सम्वाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौं,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसका लागि म सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोगलगायतका सरोकारवालाहरुप्रति हामी आभारी छौं ।’

    राजनीतिक स्थिरता तथा विश्वास कायमगरी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख प्राथमिकता भएको उनको भनाई थियो । “यो सरकार बनेको मुख्य उद्देश्य सुशासनलाई संस्थागत गर्ने र तोकिएकै समयमा चुनाव गराउनु हो । हामी त्यसतर्फ ठोस रूपमा उन्मुख भइरहेका छौँ”, प्रधानमन्त्री कार्कीले भनिन् । 

    अघिल्ला राजनीतिक परिवर्तनले आमनागरिकको रोजगारी, आयआर्जन र जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको प्रधानमन्त्री कार्कीको भनाई थियो । “राजनीतिक परिवर्तन आए तर नागरिकका आकाङ्क्षा पूरा हुन सकेनन् । नेतृत्वको व्यवहारमा पनि सुधार हुन सकेन”, प्रधानमन्त्रीले औँल्याइन् । 

    जेनजी आन्दोलनका क्रममा देशले भोग्नुपरेको करिब ८४ अर्ब रुपैयाँ बराबरको क्षतिलाई उल्लेख गर्दै उनले शान्ति र कानुनी सुव्यवस्था कायम राख्न सबैपक्ष संयमित बन्नुपर्ने आवश्यकता दोहोर्‍याइन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend