काठमाडौं । नयाँ बैकल्पिक राजनीतिको मियो बन्न खोजेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फको सूचीमा ‘सेलिब्रेटी’हरूलाई प्राथमिकता दिएको छ । उसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा चर्चित अनुहारहरुलाई प्राथमिकता दिएको छ ।
उसको सूचीमा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ देखि क्रिक्र्रेटर ज्ञानेन्द्र मल्लसम्म परेका छन् । गत भदौं २३ र २४ को जेनजी विद्रोहका बेलाका जेनजी युवाहरु भने सूचीमा समेटिएका छैनन । उनीहरुलाई रास्वपाले प्रत्यक्ष तर्फ नै उम्मेदवार बनाउन खोजेको देखिएको छ ।
कुलमान घिसिङ देखि काठमाडौंका मेयर बालेन शाहसम्मलाई एक ठाँउमा राखेर रास्वपाले चुनावी जेट उडाउन खोजेको छ । त्यसक्रममा उसको समानुपातिक सूचीमा अधिकाशं चर्चित ‘सेलिब्रेटी’हरू प्राथमिकतामा परेको हो ।
छिमेकी मुलुक भारतमा कलाकार, क्रिकेटर र अन्य सेलिब्रेटीहरूको राजनीतिमा प्रवेश लामो समयदेखि देखिँदै आएको अभ्यास हो । पछिल्ला वर्षहरूमा त्यही प्रवृत्ति नेपालमा पनि देखिन थालेको छ । राजनीतिमा चर्चित व्यक्तित्वहरूको सहभागिता जनआकर्षणका हिसाबले सकारात्मक मानिए पनि राज्य सञ्चालनजस्तो गम्भीर जिम्मेवारीका लागि आवश्यक राजनीतिक परिपक्वता, नीतिगत समझ र निरन्तरताको प्रश्न भने स्वाभाविक रूपमा उठ्ने गरेको छ ।
कुनै पेशामा छोटो समयमै लोकप्रिय बनेका व्यक्तिहरूको राजनीतिक भूमिका कस्तो हुन्छ भन्ने मूल्यांकन उनीहरूले देखाउने दीर्घकालीन प्रतिबद्धता, कार्यसम्पादन र जिम्मेवारीबाट मात्र स्पष्ट हुने छ । तर सेलिब्रेटीहरूको राजनीति प्रवेश भने अहिले बढेको छ ।
पार्टीका सभापति स्वयं पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएका रवि लामिछाने छन् । रास्वपाले आगामी चुनाव पछि काठमाडौं महानगरपालिकाका मेयर तथा ¥यापर बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गर्दै मत माग्ने तयारी गरेको छ । यसका साथै ऊर्जा क्षेत्रमा सुधार र परिणाममुखी कामका कारण चर्चामा रहेका कुलमान घिसिङलगायत व्यक्तिहरूसँग पार्टीको एकता गरेको छ ।
भागवन्डाका आधारमा यी तीन अनुहार एकै ठाँउमा हुँदा उनीहरुसँग जोडिएका सेलिब्रेटीहरू रहेका कारण पनि अन्य दलको तुलनामा रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा सेलिब्रेटीहरू बढी देखिएका हुन् ।
अझ यो संख्या अब प्रत्यक्ष तर्फका उम्मेदवारमा पनि रास्वपामै बढी देखिने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
को-को छन् सूचीमा राखेका सेलिब्रेटीहरू
पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ २०१९ को मिस नेपाल विजेता हुन्। उनी आदिवासी महिला क्लस्टरको चौथो नम्बरमा छिन्। लोक दोहोरी गायक प्रकाश सपुत रास्वपाको समानुपातिक सूचीको ७४ औं नम्बरमा छन्। दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्। अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन्।
फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन्। उनी बालेन र कुलमाबीचको संवाद गराउने र मिलाउने भूमिकामा देखिएका थिए । गायिका सत्यकाल राई पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छिन् । गायिका त्रिसाला गुरूङ पनि रास्वपाको समानुपातिक सूचीमा छिन् । उनी कुलमान घिसिङ रास्वपामा मिलन पछि कुलमानको भागवन्डामा रास्वपाको समानुपातिक सूचीमा समेटिएकी हुन् । गायिका रिमा र त्रिसाला कुलमानको भागवन्डामा रास्वापको समानुपातिक सूचीमा परेकी हुन् ।
ज्ञानेन्द्र मल्ल क्रिक्रेटर हुन् । उनलाई पनि रास्वपाले समानुपातिक तर्फको उम्मेदवार सूचीमा पारेको छ । उनी आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्। विदुषी राणा गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक हुन् । उनलाई पनि रास्वपाले समानुपातिक सूचीमा राखेको छ । उनी खस आर्य महिलाबाट दोस्रो नम्बरमा छिन्। मोहना अन्सारी मानवअधिकार आयोगका पूर्व सदस्य हुन् । उनलाई पनि रास्वपाले समानुपातिक सूचीमा राखेको छ ।
रास्वपाको उम्मेदवार सूचीमा अरु को को ? यस्तो छ सूची
.jpg)
