काठमाडौं । चुनावको सङ्घारमा नेपालका हरेक जसो राजनीतिक दलमा उथलपुथल भईरहेको छ । खासगरी वैकल्पिक राजनीतिक शक्तिका रुपमा २०७९ सालमै उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहहरुबीचको एकताले परम्पारगत शक्तिहरु कांग्रेस–एमालेलाई चुनौती थपिदिएको छ ।
नयाँ भन्ने वैकल्पिक शक्तिहरु मात्र होइन, विगतमा टुटेकाहरुकाबीचको पनि अहिले चुनाव मुखैमा आउँदा एकता र धुव्रिकरणको प्रक्रिया तीव्र भएको छ । जसले नेपालका राजनीतिक दलभित्र उथलपुथल र हलचल नै पैदा गरिदिएको छ ।
परम्परागत शक्तिका रूपमा रहेका नेपाली कांग्रेस र एमालेमा ठूला एकीकरणका संकेत देखिएका छैनन् । तर, यी दुई बाहेकका प्रायः सबै दलहरूमा भने मिलन र विभाजनको तरंग दिनैपिच्छे देखिन थालेको छ ।
एमाले बाहेकका अन्य वाम शक्तिहरु पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा गोलवद्द हुन थालेका छन् भने वैकल्पिक राजनीतिक शक्तिहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मियो बनाएर धुव्रिकृत हुने लहर चलेको छ ।
केही समययताको राजनीति लामो ‘नयाँ’ र ‘पुरानो’ भन्ने दुई फरक स्क्रिनबाट हेरिँदै आएको थियो । यसको खास छिनोफानो आगामी फागुन २१ मा तोकिएको चुनावबाट हुने देखिएको छ ।
‘नयाँ’ राजनीति : आशा कि भ्रम ?
२०७९ को प्रतिनिधिसभा चुनावमै अप्रत्याशित जित निकालेर उदाएको रवि लामिछाने नेतृत्वको रास्वपामा वैकल्पिक शक्तिहरु केन्द्रीत हुने र अन्य केही नयाँ बैकल्पिक धारका शक्तिहरु पनि जन्मिने क्रममा रहेकोले नयाँ राजनीतिप्रति हाम मानिसको चासो देखिएको छ । खासगरी २०७९ को स्थानिय तहको चुनावमै काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह, धरानमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङ र धनगढीमा स्वतन्त्र उम्मेदवारी दिएका गोपी हमालहरुले जित निकालेका थिए ।
शहरकेन्द्रीत राजनीतिमा सामारिक महत्वका क्षेत्रमा स्वतनत्रको जितपछि पूराना राजनीतिक शक्तिको विकल्प जनताले खोजेको विश्लेषण हुँदै गरेको थियो । त्यही मौकाको फाइदा रवि लामिछानेले रष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर लिए । २०७९ को चुनावमा झण्डै माओवादीलाई समेत समानुपातिक मतमा उछिनेर रास्वपाले संसदमा चौथो बलियो शक्तिका रुपमा आफुलाई उभ्याईदियो । अनि अझ् गत भदौं २३ र २४ को जेनजी आन्दोलनले पूराना शक्तिहरु खासगरी कांग्रेस र एमालेको विकल्पमा जनताले आवाज उठाउन थाले । यही मेसोमा काठमाडौका मेयर बालेन शाह, रवि लामिछानेको रास्वपालगायत शक्तिहरु मिल्न पुगे । अझ नेपालमा बैकल्पिक राजनीतिको थालनी गरेको विवेकशीला साझा पार्टी पनि रास्वपामा मिल्न पुग्यो । यसले नेपालमा नयाँ राजनीतिक शक्तिहरु पूरानाका लागि चुनौती बनेर उभिएका छन् ।
राजनीतिक विश्लेषक दीपेश घिमिरे भन्छन्, ‘नयाँ भनिएका दल वा व्यक्तिहरू एउटै हुने प्रक्रियाको सुरुवात भएको छ । यसले नेपाली राजनीतिमा सकारात्मक प्रभाव पार्ने सम्भावना देखिन्छ । नयाँले के गर्न खोजेको हो र आमनागरिकले त्यसलाई कसरी हेरेका छन् भन्ने परीक्षण २१ फागुनको निर्वाचनले प्रस्ट पार्नेछ ।’
युवा पुस्ताका विश्लेषक नवीन तिवारी भने रवि लामिछाने र बालेन्द्र शाह दुवै अत्यन्तै महत्त्वाकांक्षी नेता भएकाले सहकार्य सहज नहुने बताउँछन् । ‘यो रणनीतिक सहकार्य हो । शैली र कार्यविधि फरक भएकाले चुनौतीपूर्ण छ,’ तिवारी भन्छन्, ‘लिखितभन्दा बाहिरका समझदारी कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नले भोलि विवाद निम्त्याउन सक्छ । तर दीर्घकालमा सफल भए यो सहकार्य सबैका लागि हितकर हुन सक्छ ।’
रवि र बालेनबीच पार्टी रास्वपा हुने, चुनाव चिन्ह्र घण्टी नै रहने, पार्टी नेतृत्व (सभापति) रवि लामिछाने नै हुने तर चुनावपछिको संसदीय दल नेता र भावी प्रधानमन्त्रीमा भने बालेन रहने गरी ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चुनावी टिकट देखि पार्टी केन्द्रीय समितिसम्ममा पनि भागवन्डाको भित्री सहमति छ । दुवैमा बालेनलाई कम्तीमा ४० प्रतिशत हिस्सा दिने सहमति पनि रविले गरेका छन् । यसले कतै विगतमा एमाले र माओवादीका बीचमा भएको सहमति, एकता जस्तै भोलिका दिनमा हुने त होइन ? आशंका पनि छ । तर बालेन र रविबीचको एकताले राजनीति ‘जमेको पोखरी हल्लिएको’ जस्तै बनेको विश्लेषक झलक सुवेदीको बुझाई छ ।
विश्लेषक सुवेदी अझै स्पष्ट भन्छन्, ‘मन परोस् या नपरोस्, फागुनको चुनाव बालेन र रास्वपाको वर्चस्वतर्फ उन्मुख छ । जमेको पोखरी हल्लिएको जस्तै भएको छ । तीन वर्षअघि दिइएका चेतावनी नबुझेका दल र नेताहरूलाई अब आफू सच्याउन थप पाँच वर्ष कुर्नु पर्ने संकेत देखिदैछ ।’
वैकल्पिक शक्तिको केन्द्रमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले वैकल्पिक राजनीतिका केन्द्रमा उभिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समूह र विवेकशील साझा पार्टी रास्वपाभित्र समाहित भइसकेका छन् ।
रवि लामिछाने र बालेनबीचको सहकार्यलाई ‘नयाँ राजनीतिक प्रयोग’का रूपमा हेरिँदैछ । यद्यपि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी भने यो शक्तिसँग मिलिसकेको छैन । घिसिङ समुहले कुनै पनि एकता समान सहअस्तित्वका आधारमा हुनुपर्नेमा विलय हुने गरी हुन नसक्ने प्रष्ट पारेको छ । आइतबार मध्यरातसम्म कुलमानलाई पनि मिलाउने रवि बालेनको प्रयास सफल हुन सकेको छैन । कुलमानसँग बालेन लचिलो देखिएपनि रवि भने कुलमानको प्रस्तावमा सहमत देखिएनन । जसकाकारण तत्काल उनीहरुका बीचमा एकता सम्भाबना टरेको छ । यधपी, चुनावी सहकार्य हुनसक्नेमा उज्यालो नेपाल पार्टीले ढोका भने खुला नै राखेको छ ।
माओवादी, एकीकृत समाजवादीलगायतको एकतासँग सहमत नभई वैकल्पिक धार स्थापना गर्ने भनेर अगाडी बढेका जनार्दन शर्मा, बाबुराम भटट्राई नेतृत्वको समुहका बीचमा पनि यो बीचमा एकता भएको छ । एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको छ । त्यही प्रलोपसँग एकता गर्ने गरी कुलमानको पार्टीका बीचमा सम्वाद चलिरहेको छ । आज दिउँसो पनि यी दुई शक्तिका बीचमा वार्ता भएर सहकार्यको ढोका खोल्ने तयारी छ ।
वाम शक्तिको पुनर्गठन
एमाले बाहेकका वाम धारका दलहरू पनि फेरि एकपटक एकीकृत वाम ध्रुवतर्फ उन्मुख देखिन्छन् । माओवादी, एकीकृत समाजवादीलगायत करिब १६ घटक मिलेर पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० मा धुव्रिकरण गराएका छन् । प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बनेर उक्त पार्टी अगाडी बढेको छ । एमाले र माओवादी मिलेर बनेको तत्कालि नेकपाका बहुमत नेताहरु अहिले नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत भईरहेका छन् ।
प्रचण्डको भनाईमा, अझै एकाध दिनमा अर्काे ठूलो समुह पार्टी एकतामा आउँदै छ । यधपी उनले त्यो समुह को हुन् भन्ने बारेमा भने केही खुलाएका छैनन । तर थरुहटमा राम्रो पकड जमाएका रेशम चौधरी र रज्जिता श्रेष्ठहरुसँग प्रचण्डको निरन्तर संवाद चलिरहेको देखिन्छ ।
६ महिनाभित्र पार्टीको महाधिवेशन गर्ने गरी नेकपाले पार्टी एकता गरेका थिए । जेन जी आन्दोलनपछि सबैभन्दा पहिले पार्टी एकताको लहर प्रचण्ड– माधव नेपालहरुले सुरुआत गरेका थिए ।
त्यसो त व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षाका कारण विगतमा फुटेका शक्तिहरू पनि अहिले चुनावी अस्तित्व जोगाउन फेरि एकजुट हुन थालेका छन् । त्यसको उदाहरण लोसपा र जसपाबीचको एकता, रेशम चौधरी र रन्जिता श्रेष्ठ बुढाबुढीवीचको पार्टी एकता ले देखाएको छ । यी मधेस केन्द्रित दलहरू जसपा र लोसपाबीचको पुनःएकता, नागरिक उन्मुक्ति पार्टीभित्रको मिलन, र साना दलहरूको चुनावी सहकार्यले देखाउँछ- चुनावको दबाबले वैचारिकभन्दा बढी अस्तित्वको राजनीति हावी भएको छ ।
कुन- कुन दलमा मिले ?
🔹 नेपाली कम्युनिष्ट पार्टी
माओवादी, एकीकृत समाजवादीलगायत १६ घटक मिलेर बनेको नेकपा । संयोजक प्रचण्ड, सह–संयोजक माधव नेपाल ।
🔹 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
बालेन शाह समूह र विवेकशील साझासँग एकता । ७ बुँदे सहमति केन्द्रीय समितिबाट अनुमोदित । रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्री र संसदीय दल नेता ।
🔹 जसपा–लोसपा
उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वमा पुनः एकता ।
🔹 प्रलोप–उज्यालो नेपाल
कुलमान घिसिङ समूह र प्रलोप (बाबुराम, जनार्दन, सन्तोष परियार) बीच एकतारसहकार्यको तयारी ।
🔹 नागरिक उन्मुक्ति पार्टी
रेशम चौधरी र रञ्जिता श्रेष्ठबीच पुनः एकता । अन्य मधेस केन्द्रित दलसँग चुनावी सहकार्य ।
🔹 बाबुरामको नयाँ शक्ति र जनार्दनको प्रगतिशिल पार्टीबीच एकता
आफुहरु संरक्षक बसेर अध्यक्षमण्डलका रुपमा दुर्गा सोव, सन्तोष परियार लगायत नेताहरुले पार्टी हाक्ने गरी प्रलोपको गठन ।
नयाँको परीक्षा, पुरानाको चुनौती
दलहरूबीच भइरहेको यो एकता र धुव्रीकरणले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । २१ फागुनको निर्वाचनले यी सबै प्रयोगको परिणाम देखाउनेछ । नयाँ शक्तिहरू एउटै केन्द्रमा आउँदा पुराना दलहरूका लागि चुनौती बढेको छ ।
अब प्रश्न केवल सिट सङ्ख्याको होइन- कुन राजनीतिक धार जनताको भरोसा जित्न सफल हुन्छ या पूरानै राजनीतिक शक्तिहरुको फेरि पनि पूनरोदय हुन्छ ? त्यसका लागि चुनावी परिणामसम्म कुर्नुपर्ने हुन्छ ।
.jpg)
