काठमाडौं । अन्ततः वैकल्पिक राजनीतिक शक्तिहरुका बीचमा वृहत एकताको सुरुवात भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी चुनाव एकै दलबाट लड्ने प्रतिवद्दतासहित ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उनीहरुले शनिबार मध्यरात ७ बुँदे सम्झौता गरेका छन्।
सम्झौताअनुसार रवि लामिछाने पार्टी सभापति रहने र बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको छ।
सम्झौतापत्रमा भ्रष्टाचार विरुद्धको आन्दोलन गर्ने, सामाजिक न्यायका लागि सुधार गर्ने र पार्टीको नाम, चिन्ह यथावत राख्ने उल्लेख छ।
यो सहमतिसँगै अब काठमाडौं महानगरका मेयर बालेन रास्वपाबाट राजनीति गर्नेछन् । उनी २०७९ को स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए । अब उनी रास्वपा र रास्वपाको चुनाव चिन्ह्र घण्टीमा संसदीय चुनाव भिड्ने छन् । रास्वपासँग सहमति नभए उनले देश विकास पार्टी र चुनाव चिन्ह्र लौरोबाट राजनीति गर्न चाहेका थिए । अब आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने घोषणाका साथ उनीहरुले त्यसमा आफूहरुको प्रतिवद्धता देखाएका छन् ।

सम्झौतापत्रमा लामिछाने र शाह दुवै आ–आफ्नो पदीय हैसियतमा मौन रहेर नाममात्रै लेखेका छन् । सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीको विषयवस्तु उल्लेख भएपनि रवि लामिछानेको नाममात्रै छ ।
उनले पार्टी सभापतिको हैसियतले हस्ताक्षर गरेका छैनन् । काठमाडौं महानगरपालिकाका मेयर शाहले पनि सम्झौतापत्रमा आफ्नो पदीय हैसियत खुलाएका छैनन् । सम्झौतापछि सम्भवतः बालेन शाह मेयर पदबाट राजिनामा दिएर पार्टी राजनीतिमा सक्रिय हुनेछन् ।
सम्झौतापत्रमा पार्टीका अरु पदाधिकारीहरुको भूमिका, दुई पक्षविच सम्झौता गर्दा उम्मेद्वारहरुको चयन एवं व्यवस्थापनको विषय उल्लेख छैन । यसअघि पनि रवि लामिछाने र बालेन शाहविच पटकपटक एकैसाथ निर्वाचनमा जानेवारे छलफल भएपछि टुंगोमा पुगेको थिएन ।
कारागारमा रहेका रवि उच्च अदालत तुलसीपुरको बुटबल इजलासको आदेशबाट रिहा भएपछि पार्टी एकताको छलफलले तिब्रता पाएको हो । यसक्रममा दुवै पक्षले उर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गरेका थिए, आईतबार विहानैको सम्झौतामा उनी जोडिएका छैनन् ।
यस्तो छ ७ बुँदे सहमति
१) नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,
२) समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक(सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम(आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३) पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ुराष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ुघण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४) राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५) बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६) आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७) राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ुघण्टीु मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।
.jpg)
