काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त भएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिनुका साथै पदभार ग्रहण गरेका छन् ।
कार्यभार सम्हाल्दै उनले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन् ।
उनले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गरे । “दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन् । उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ । सहकार्य गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मलाई आशा छ” मन्त्री शर्माले भने ।
नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गरेका थिए । संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसकेका शर्मा प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष पनि हुन् ।
परराष्ट्रमन्त्री शर्मा थपिएसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १५ सदस्यीय भएको छ ।
.jpg)
