चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल पुनः एकपटक राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा आएकी छन् । काठमाडौंका मेयर बालेन शाहले नयाँ राजनीतिक दल बनाउने र बैकल्पिक राजनीतिक शक्तिहरुलाई मिलाएर केपी ओलीसाग प्रतिनिधिसभा चुनावमा झापा ५ मा गएर प्रतिस्पर्धा गर्ने समाचार सार्वजनिक भईरहेका बेला भरतपुर महानगरका मेयरको पनि प्रतिनिधिसभा चुनाव लड्ने समाचार बाहिरिएको छ । उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको छ । यो सिफारिससँगै उनको राजनीतिक भविष्यलाई लिएर बहस सुरु भएको छ ।
नेकपा चितवन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बिहिबार बसेको बैठकले दाहाललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो । सो सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने वाइसिएलका नेता सन्तोष पनेरुले जानकारी दिए । तर दाहालको उम्मेदवारी केवल दलगत निर्णयमा सीमित छैन । यसले भरतपुर महानगरको नेतृत्व छोड्ने कि नछोड्ने ? भन्ने गम्भीर प्रश्नसमेत उब्जाएको छ ।
कार्यकाल बाँकी, तर चुनावको चाप
रेनु दाहाल २०८४ बैशाखसम्मका लागि भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन् । अझै करिब ढेड वर्षे कार्यकाल बाँकी रहँदै उनी प्रतिनिधिसभा चुनावको मैदानमा उत्रिने तयारीमा रहेको यो सिफारिसले देखाएको छ। त्यसका लागि उनले प्रतिनिधिसभाको उम्मेदवारी दर्ताका बेला मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ ।
फागुन २१ गते ‘जेन जी आन्दोलन’को दबाबपछि निर्वाचन मिति तोकिएसँगै चितवन–३ मा दाहाल चुनाव लड्ने तयारीमा रहेकी हुन् । सोही परिवेशमा दाहालको नाम सर्वसम्मत रूपमा अघि सारिएको हो ।
सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा आफैं उपस्थित भएकी दाहालले भरतपुर महानगरपालिकामा झन्डै नौ वर्ष काम गरेको अनुभव र जनताको माया नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको बताइन् ।
“म जनताको सेवामा जीवन समर्पित गरेर राजनीतिमा छु,” दाहालको भनाइ उद्धृत गर्दै सहभागी नेताहरूले बताए । उनले विगतमा काठमाडौंबाट उम्मेदवार बनेर हार स्वीकार्न समेत तयार भएको अनुभव स्मरण गर्दै, चितवन–३ का जनताले आफूलाई विश्वास गर्ने दाबी गरिन् ।
चितवन–३ राजनीतिक रूपमा संवेदनशील क्षेत्र मानिन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट रेनु दाहालका पिता तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष अहिले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए ।
तर २०७९ को निर्वाचनमा तस्वीर फेरियो । माओवादी केन्द्र–कांग्रेस गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग पराजित बने । सो निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालाले एमालेको समर्थनमा ‘माछा’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि सफलता हात पार्न सकेनन् । प्रचण्ड भने २०७९ मा गोरखा २ मा चुनाव लड्न पुगेका थिए । अब फेरि त्यही क्षेत्रबाट प्रचण्डकी छोरी रेनु दाहाल उम्मेदवार बन्ने तयारीमा जुटेकी छन् ।
रेनु दाहालले भरतपुरमा विकास, पूर्वाधार र सेवा प्रवाहमार्फत आफ्नै पहिचान बनाएकी लोकप्रिय नेतृ हुन् ।
चितवन–३ को चुनावी मैदान भने, यसैसँगै थप रोचक र प्रतिस्पर्धी बन्ने निश्चित देखिएको छ ।
.jpg)
