सुशीला कार्कीले खोलेको सत्ताको असजिलो कथा

सुशीला कार्कीले खोलेको सत्ताको असजिलो कथा

प्रधानमन्त्रीलाई अचानो बनाउने कारण बनेको छ- न आन्दोलन (जेनजी पुस्ताका सबै) पक्ष सँग पूर्ण नजिक, न दलहरुसँग पूर्ण भरोसा

images
सोमवार, पौष ७ २०८२
  • काठमाडौं । कहिलेकाहीँ सत्ता भाषणभन्दा स्वीकारोक्तिमा बढी बोल्छ । सोमबार राजनीतिक दलका दोस्रो तहका नेताहरूसहितको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले बोलेको एउटा शब्द ‘अचानो’ ले अहिलेको सिंगो राजनीतिक अवस्थाको सार खोलिदियो ।

    प्रधानमन्त्री आफैंले स्वीकार गरिन्- उनी अचानोमा छिन् । न आफैं हान्ने हात हुन्, न हान्नेको साथ । अर्थात, प्रमुख राजनीतिक दललाई पाखा लगाएर उनी जनेजी पुस्ताको बलमा सरकारको बागडोरमा पुगेकी थिइन् । तर आज उनै जेनजीबाटै पनि उनी आलोचना खेप्ने ठाँउमा पुगेकी छिन् । 

    अचानो किन बनिन् कार्की ?

    भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि आकस्मिक रूपमा सत्तामा आइपुगेकी कार्की त्यही आन्दोलनको परिणाम थिइन् । तर आज परिस्थिति उल्टिएको छ । जसले सरकार बनायो, कार्कीलाई प्रधानमन्त्रीको कुर्सीमा जिम्मेवारीसहित बसाल्यो । उसैको एक हिस्सा सोमबारबाट सडकमा उत्रेको छ ।
    जसलाई सहभागी बनाएर २१ फागुनमा चुनाव गराउनु पर्छ, ती दलहरू चुनाव हुनेमा विस्वस्त छैनन ।  जसले सरकार गिराउन चाहन्छ, त्यो शक्ति एमाले कांग्रेसलाई पनि बोकेरै सर्वोच्च अदालत पुगेको छ ।
    यस त्रिकोणीय दबाबको बीचमा कार्की उभिएकी छन् - अचानो बनेर ।  ‘हामी अचानो होइनौं । हामी भदौ २३ र २४ को आघात झेलिरहेका छौं,’ प्रधानमन्त्रीको यो भनाइमा विरोधाभासपूर्ण देखिए पनि गहिरो अर्थ बोकेको छ । यसले के संकेत गर्छ भने कार्की आफूलाई निर्दोष सावित गर्न खोजिरहेकी छैनन् । बरु, आफू आन्दोलनको बोझ बोकेर सत्तामा आएको सरकार भएको स्वीकार गर्दैछिन् ।

    यो राजनीतिक भाषामा एउटा दुर्लभ स्वीकारोक्ति हो , सत्ता सम्हाल्नेले कमजोरी देखाउने साहस । कार्कीको सरकारमाथि अहिले अर्काे आरोप पनि लाग्न थालेको छ, त्यो हो - ‘जेन–जी आन्दोलनको अपहरण ।’ त्यसैको जवाफ हो उनको यो वाक्य । ‘हामी जेन–जीको रगतमा यश र आराम गर्न आएका होइनौं ।’ यो भावनात्मक वाक्य होइन, राजनीतिक प्रतिवाद हो । यसले कार्की सरकारले आफूलाई संक्रमणकालीन, बलिदान सहने सरकारका रूपमा स्थापित गर्न खोजेको देखाउँछ, जहाँ सत्ताभन्दा जिम्मेवारी ठूलो हो ।

    दलसँग दूरी : अचानो बन्ने अर्को कारण

    कार्की नेतृत्वको सरकार चुनाव गराउन आएको हो । तर चुनावमा भाग लिने प्रमुख दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले आफैं संवाद गरेकी छैनन् । कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक (तत्कालिन माओवादी अध्यक्ष ) प्रचण्डसँग प्रत्यक्ष भेट नगरी सरकारी तवरबाट वार्ता टोली परिचालन गर्नु दलहरूलाई चित्त बुझेको छैन ।
    यही दूरी नै उनलाई अचानो बनाउने अर्को कारण बनेको छ । न आन्दोलनसँग पूर्ण नजिक, न दलसँग पूर्ण भरोसा ।

    ‘सबै युनाइटेड हुनुहोस्’ : असहाय आग्रह
    प्रधानमन्त्रीले दलहरूलाई एक हुन आग्रह गरिन, ‘एक सय १४ दल युनाइटेड हुनुहोस्, शान्ति हुन्छ ।’ यो आत्मविश्वास होइन, असहाय आग्रह जस्तो प्रधानमन्त्रीको बोलीमा थियो । किनकि दलहरू नै विभाजित छन्, अविश्वस्त छन्, र सरकारको आयुमा शंका गरिरहेका छन् । चुनाव गराउन सक्नेमै विस्वस्त छैनन । 

    बंगलादेशको उदाहरण : अन्तिम चेतावनी

    बंगलादेशको उदाहरण दिँदै प्रधानमन्त्रीले दलहरुलाई भनिन्, ‘रिस पोख्दा मुलुकै गुमाउने काम नगरौं ।’ यो चेतावनी आन्दोलनकारी जेनजीलाई भन्दा बढी राजनीतिक नेतृत्वलाई लक्षित छ । अर्थात- असन्तोषलाई सत्ता संघर्षको हतियार बनाउँदा देश नै क्षतिग्रस्त हुन सक्छ ।

    तर उनले एउटा कुरा स्पष्ट गरिन्, मुलुकका लागि आक्षेप खेप्न तयार छु । अब प्रश्न सत्ता टिक्ने–नटिक्ने होइन ।
    प्रश्न यो हो- अचानोमा परेकी प्रधानमन्त्रीले यो चोट सहेर मुलुकलाई चुनावसम्म पु¥याउन सक्छिन् कि सक्दिनन् ? अहिलेको राजनीतिमा यही नै सबैभन्दा ठूलो परीक्षा हो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend