काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्धारित मितिमै चुनाव जसरी पनि गर्नुपर्ने बताएका छन् । चुनाव सार्ने हल्ला चल्न थालेको भन्दै उनले चुनाव सार्ने कुरा स्वीकार्य नहुने भन्दै कुनै पनि तर्क र बहानामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
यदी निर्वाचन सार्ने काम भयो भने आफूहरू चुप लागेर नबस्ने प्रचण्डको चेतावनी थियो । पार्टीको बागमती, उपत्यका र सम्पर्क कमिटिको एकता सन्देश सभालाई आज काठमाडौंमा सम्बोधन गदैं प्रचण्डले निर्वाचन सारिए संविधान थप मिचिने बताएका हुन् ।
‘हामी त अहिले यो देशलाई संकटबाट बचाउने, संकटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौं । हामीले भनेका छौं, सहज ढंगले निर्वाचन सम्पन्न होस् । सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला ।’ प्रचण्डले सम्बोधनका क्रममा भने, ‘यदी तपाईंहरूले संविधान बार बार मिच्ने कोशिस, एकचोटि त मिचिइसकेको छ केही हदसम्म । तर त्यसमा हामीले देशको असहज अवस्थालाई हेरेर देशमा अन्तरिम सरकार बनाउन पहल गरेकै हो । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, धकेल्ने काम गरियो भने फेरि संविधान मिचिन्छ । यदी त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं । केही अहंकारी र दम्भीहरूले प्रतिशोधबाहेक केही नदेख्नेले विभिन्न धम्कीको भाषा बोल्ने गरेका छन् । म आज धम्कीको भाषा बोल्न चाहन्नँ, शान्तिपूर्ण तरिकाले निर्वाचन गरियोस् ।’
उनले ६ महिना, एक वर्ष निर्वाचनको मिति सार्ने हल्ला आफूले सुनेको पनि बताए ।
‘सरकारले यो कुरालाई नजरअन्दाज गरेर ६ महिना समय थप्ने, एक वर्ष थप्ने हल्ला पनि सुनाउँछन् कोही कोहीले त्यो गर्यो भने देश फेरि दुर्घटनामा पर्छ । तर अबको दुर्घटनाको बेलामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुनेछैन’, प्रचण्डले भने ।
उनले काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्क सम्पाङलाई आफुले पहिले गणतन्त्रमा फुलेको फूलको संज्ञा दिएपनि अहिले विस्तारै काडाँ पो बन्न थालेको टिप्पणी गरेका थिए ।
‘मैले हाम्रो लोकतन्त्रको फूल भनेको तपाईंहरुलाई, अहिले तपाईँ फूलहरू त, विस्तारै काँड काँडाको हुने हो कि भनेको जस्तो‘। बुझ्नुस् इतिहास, आन्दोलन र शहीदको रगत।’ प्रचण्डले भने । उनले काठमाडौंको खुल्लामञ्च खुल्ला गर्न सरकार र महानगरपालिकालाई आग्रह समेत गरे । ‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्नु चाहन्छु । किनकी यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५० ६० हजार एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने ।
.jpg)
