एमाले ११औँ महाधिवेशन

ओलीको ह्याट्रिक जित, पार्टी नेतृत्वमा पूर्ण नियन्त्रण

ओलीको ह्याट्रिक जित, पार्टी नेतृत्वमा पूर्ण नियन्त्रण

images
बिहिवार, पौष ३ २०८२
  • काठमाडौं / नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । नवौँ महाधिवेशन (२०७१) देखि निरन्तर अध्यक्ष रहँदै आएका ओलीले ११औँ महाधिवेशनमा जितसँगै एमाले नेतृत्वमा ‘ह्याट्रिक’ गरेका हुन् ।

    यसअघिका महाधिवेशनमध्ये २०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए । त्यसपछि २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पहिलो पटक अध्यक्ष निर्वाचित भएका ओली २०७८ को सौराहा महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष चुनिएका थिए । हाल सम्पन्न ११औँ महाधिवेशनमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो अन्तरले पराजित गरे । पोखरेलले ५ सय ६४ मत मात्रै पाए ।

    पदाधिकारी तहमा ओली समूहको क्लिन स्वीप

    अध्यक्ष मात्र होइन, १९ सदस्यीय पदाधिकारीमा ओली समूहले करिब ‘क्लिन स्वीप’ गरेको छ । ओली टिमबाट १७ जना पदाधिकारी निर्वाचित भएका छन् । उपमहासचिवमा ओलीका निकट विश्वासपात्र विष्णु रिमाल पराजित हुनु ओली समूहका लागि एक मात्र झड्का बनेको छ । रिमाल ओली प्रधानमन्त्री हुँदा निरन्तर प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा रहेका थिए ।

    उपाध्यक्षका पाँच पदमध्ये ओली समूहका चार जना निर्वाचित भएका छन् । पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा ‘बादल’ (१५१६) र रघुजी पन्त (१२३७) मतसहित निर्वाचित भए । इतर समूहबाट गोकर्णराज विष्टले १३६८ मतसहित उपाध्यक्ष जित्दै ओली समूहको ‘पूर्ण कब्जा’मा आंशिक ब्रेक लगाएका छन् ।

    उपाध्यक्षका लागि ओली समूहले प्रारम्भमा प्रदीप ज्ञवालीलाई अघि सार्न खोजे पनि महासचिवमा उम्मेदवार नबनाइएको असन्तुष्टिका कारण ज्ञवाली उम्मेदवार नै बनेनन् । त्यसपछि अन्तिममा रघुजी पन्तलाई अघि सारिएको थियो । उपाध्यक्षमा ओलीसमुहका गुरु बराल पराजित भए ।

    महासचिव र उपमहासचिवमा ओलीको पकड

    महासचिवमा ओली समूहकै शंकर पोखरेल विजयी भएका छन् । उनले १ हजार २ सय २८ मत ल्याएर सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गरे । पाण्डेले ९ सय ९९ मत पाए । उपमहासचिवमा लेखराज भट्ट (१४५२), रघुवीर महासेठ (१३६८) र योगेश भट्टराई (१३४८) मतसहित निर्वाचित भए । इतर समूहबाट उपमहासचिवमा योगेश भट्टराई मात्र जित्न सफल भए ।

    ओली पक्षका मात्रै बिजयी

    नौ सचिवमध्ये महेश बस्नेत (१५४४), पद्माकुमारी अर्याल (१५३०), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) मतसहित निर्वाचित भए ।

    कमजोर बन्दै इतर समूह

    पदाधिकारी तहमा ओली समूहको यो बलियो जितले एमालेभित्रको इतर धार झनै कमजोर र किनारामा पर्ने संकेत देखिएको छ । उपाध्यक्ष गोकर्ण बिष्ट र उपमहासचिव योगेश भट्टराई इतर समूहबाट निर्वाचित भए पनि ती पदहरू कार्यकारीभन्दा बढी सेरोमेनियल प्रकृतिका भएकाले उनीहरूको प्रभाव सीमित हुने विश्लेषण गरिएको छ ।

    राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीभित्र भूमिका प्रभावकारी बनाउन उनीहरूले ओली समूहसँग निरन्तर सम्झौता र सौदाबाजी गर्नुपर्ने अवस्था आउने देखिन्छ । समग्रमा, ११औँ महाधिवेशनले एमालेमा ओलीको नेतृत्वलाई मात्र होइन, निर्णय प्रक्रियामाथि पनि पूर्ण नियन्त्रण सुनिश्चित गरेको छ ।

    ओलीका लागि दशौ महाधिवेशनको भन्दा यो पटक झन आफु अनुकूल पार्टी चलाउन सहज हुने भएको छ । उनको निर्णयमा खबरदारी गर्ने नेताहरु अस्टलक्ष्मी शाक्य, युबराज ज्ञ वाली, सुरेन्द्रहरु अब पदाधिकारी तहमा नभए पछि ओलीको झन मनमौजी चल्ने देखिएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend