काठमाडौँ । गत भदौं २३ र २४ को जेनजी पुस्ताको आन्दोलनमा भएको नरसंहार र त्यसपछि भएको विध्वंम्सका घटनाको जाँचबुझ गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देलसँग बयान लिएको छ । आयोगले सोमबार सिग्देलसँग बयान लिइएको हो ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार, आयोगले सुरक्षा निकायका प्रमुखहरु, तत्कालिन प्रधानमन्त्री, गृहमन्त्री लगायतसँग पनि बयान लिने तयारी गरेको छ । त्यही क्रममा सोमबार नेपाली सेनाका प्रधान सेनापति सिग्देलसाग बयान लिएको हो । आयोगले सशस्त्रका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीको बयान पनि लिएको छ । उनीहरुसँगको केही बयान भने बाँकी रहेको छ ।
आईजीद्वय हाल निर्वाचन स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरामा छन् । यसअघि आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगको बयान लिएको थियो ।
गौरीबाहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेलसँग बयान लिइसकेको छ । सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठको पनि बयान लिइएको छ ।
आयोगले यसअघि प्रहरीका डीआईजी ओम राना र एआईजी सिद्धि विक्रम शाह सहितका अधिकृतहरूसँग बयान लिएको थियो । जेनजी प्रदर्शन हुँदा शाह प्रहरीको कार्य विभाग प्रमुख थिए । अहिले उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् ।
आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिइसकेको छ । अहिलेसम्म आयोगले १५० भन्दा धेरैसँग सोधपुछ र बयान लिएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिने आयोगको तयारी छ । यसबारेमा लेखकले कुनै टिप्पणी गरेका छैनन भने एमाले अध्यक्ष समेत रहेका ओलीले भने आयोगलाई बयान दिन नजाने र नदिने बताईरहेका छन् ।
.jpg)
