भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ ।
महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बुधबार निरीक्षण गरेको छ ।
उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरुले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् । उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त चौर भरिभराउ हुने बताए । उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए ।
एमालेले मञ्च निर्माणदेखि नै करिब ६०० स्वयंसेवक पोसाकमा खटाउने भएकाे छ ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएकाे छ । उपमहासचिव ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए ।“हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ” उनले भने, “टेण्डर आव्हान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।”
महाधिवेशनमा करिब दुई हजार ५०० बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटन सत्रमा देशभरबाट एक लाख ५० हजार बढी कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ ।
महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्नेछ । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।
.jpg)
