काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्ने भएको छ ।
मङ्सिर १५ गते साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू सावर्जनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा भएका व्यक्तिका परिवार (आमा, बुबा, श्रीमान् श्रीमती, अविवाहित छोरा र अविवाहित छोरी) लाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने जानकारी दिए ।
त्यसैगरी सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय पनि गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा निर्णयहरू सार्वजनिक गर्दै राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने, अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गर्ने जानकारी गराए ।
साथै सरकारले २०८२ माघ १ गतेदेखि एकपटकमा पाँच लाख रूपियाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद–बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणमार्फत गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
.jpg)
