एमाले महाधिवेशनअघि शक्ति-संघर्ष

शंकर पोखरेललाई छेक्न पौडेल-गुरुङको साझा मोर्चा

शंकर पोखरेललाई छेक्न पौडेल-गुरुङको साझा मोर्चा

ओलीलाई सर्तसहित सहयोग गर्ने र महासचिव पदको ‘बार्गेनिङ’ गर्ने साझा निचोड

images
शुक्रवार, मंसिर १३ २०८२
  • काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनको अघिल्लो दिन सार्वजनिक भएको एक सूचनाले एमाले वृत्तलाई एकाएक तरंगित बनायो । सूचना थियो- उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहित सात शीर्ष पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीलाई नै तेहेराउन समर्थन गर्ने निर्णय लिए । 

    तर, कथाको वास्तविक गहिराई हेर्ने हो भने यो केबल समर्थनको घोषणा मात्र थिएन, यसभित्र उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साझा मोर्चाको पटाक्षेप रणनीति समेत देखिएको छ । 

    यो सूचनाले अध्यक्षमा तेहेरिन लागेका केपी ओलीलाई त फाइदा देखिएकै छ, तर त्यो सँगै पौडेल र गुरुङले शंकर पोखरेललाई भित्री रुपमा काउन्टर दिन खोजेको देखिएको छ । सूचनामा नाम खोलिएका सात पदाधिकारीमध्ये अधिकांशले कुनै संयुक्त बैठक वा सहमति नभएको खुलाएका छन् ।
    शुक्रवार सचिव लेखराज भट्ट कैलालीमै व्यस्त थिए, रघुवीर महासेठ जनकपुरको कार्यक्रममै थिए, पद्मा अर्याल एपेन्डिक्सको अप्रेसन गरेर स्वास्थ्यलाभमा थिइन्, छविलाल विश्वकर्माले त सीधै भने, ‘मैले धारणा नै बनाएको छैन ।’


    अर्थात्, ‘सातै जना एकै ठाउँ बसेर ओलीलाई समर्थन गर्ने भनी आएको सूचना ’को अवधारणा राजनीतिक मनोविज्ञानको खेल मात्र रहेछ । तर, यो मनोवैज्ञानिक खेलले भने एमाले पार्टीभित्र ठूलो तरंग उठायो ।

    एमालेलाई नजिकबाट विश्लेषण गदै आएका विश्लेषकहरुका भनाईमा, पछिल्ला दुई वर्षमा एमालेभित्र देखिएको शक्ति–संघर्ष तीन मोर्चामा विभाजित हुँदै आएको छः

    - ओली–शंकर पोखरेल लाइन (स्थापन पक्ष)

    - ईश्वर पोखरेल समूह (विद्या भण्डारी समर्थक धार)

    - विष्णु पौडेल–पृथ्वी सुब्बा गुरुङको ‘नयाँ तटस्थ धार’

    पहिलो दुई ध्रुवको शक्ति संर्घष बढ्दै जाँदा पौडेल–गुरुङ जोडी तटस्थ जस्तो देखिए पनि, भित्रभित्रै तेस्रो विकल्प निर्माणको तयारी गरिरहेको संकेत यो घोषणाले दिएको छ । खासमा उनीहरु तेस्रो धार देखिन खोजेपनि ओलीसँगको निकट भएर पार्टीभित्र शंकर पोखरेलले बढाउँदै लगेको प्रभाव तोडने मुख्य योजनामा पौडेल –गुरुङ समुह छ । त्यसैका लागि उनीहरुले निरन्तर छलफल गरिरहेका छन् ।

    शुक्रबार बिहान पृथ्वी सुब्बा गुरूङ विष्णु पौडेललाई भेट्न उनको निवास ललितपुर भैंसेपाटी पुगेका थिए। त्यहाँ उनीहरूले ओलीलाई सर्तसहित सहयोग गर्ने र महासचिव पदको ‘बार्गेनिङ’ गर्ने साझा निचोड निकालेको निकट नेताहरुको भनाई छ । त्यो शर्त भनेकै महासचिवमा पौडेल या गुरुङ मध्ये एकलाई उम्मेदवार बनाउनु पर्ने र अर्काे एक लाई उपाध्यक्षको उम्मेदवार बनाउनु पर्ने । शंकर पोखरेललाई फेरि महासचिव बन्नबाट जसरी पनि रोक्ने । 


    भैंसेपाटीमा यी दुई नेताको यही निश्कर्षमा छलफल भएको निकट नेताहरुको भनाई छ । त्यो छलफल लगत्तै गुरूङ ओलीलाई भेट्न उनको निवास भक्तपुर गुण्डु पुगेका थिए। त्यहाँबाट करिब १ बजे गुरूङ फर्किएपछि आआफ्ना निकट नेतामार्फत आफूहरू संस्थापनतिर खुलेको सन्देश पौडेल र गुरुङले योजनाबद्द रुपमा अगाडी सारेका थिए । 


    सँगै उनीहरुसँग रामवहादुर थापा बादल, लेखराज भटट, रघुविर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल पनि रहेको र सात शीर्ष नेताहरुले ओलीलाई साथ दिएको सन्देश सार्वजनिक भएको थियो । यो भित्र निक्कै रणनीतिक अर्थसहितको सन्देश रहेको एमालेमा गुरुङ पौडेल निकट नेताहरुको मत छ ।

    किन खुले पौडेल र गुरुङ ओलीतिर ? यस्ता छन् तीन प्रमुख कारण
    १) महासचिवमा ‘बार्गेनिङ’
    एमालेमा अवको महासचिव को भन्ने शक्ति संर्घष निक्कै पेचिलो छ । ओली समुहबाट शंकर पोखरेल पुनः महासचिव बन्ने अभियानमा छन्। उपमहासचिव प्रदीप ज्ञवाली पनि महासचिवको दावेदार छन् । विष्णु पौडेल आफै महासचिव दिए उठने तयारीमा छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि महासचिवको दावेदार हुन् । ज्ञवाली र पोखरेल एकातिर मोर्चाबन्दी गरिरहँदा पौडेल र गुरुङले पनि अर्काेतिर मोर्चावन्दी गर्न लागेका हुन् ।

     
    त्यही क्रममा शंकर र प्रदीपलाई महासचिवबाट रोक्ने योजनामा विष्णु र पृथ्वीसुब्बा लागेका छन् । त्यसका लागि उनीहरुले ओलीसँग आफु दुईमध्ये एकलाई महासचिव र एकलाई उपाध्यक्ष बनाउन बार्गेनिङ गर्न यो खालको मोर्चावन्दीको गृहकार्य गरेको उनीहरु निकट नेताहरुले बताएका छन् । यसैले, ओलीलाई सर्तसहित समर्थन गरी महासचिव पदका लागि शक्तिशाली बार्गेनिङ गर्ने रणनीति उनीहरूको मुख्य लक्ष्य देखिन्छ ।

    २) भूगोलमा आफ्नो शक्ति जोगाउने क्यालकुलेटिभ मुभ
    विष्णु पौडेल र शंकर पोखरेलको लुम्बिनीमा पार्टीभित्रै अन्तरसंर्घष छ । लुम्बिनीमा को बलियो हुने भन्ने लडाईँ एमालेभित्र शंकर र विष्णुको पहलिे देखि नै चलि आएको छ । त्यस्तै, गण्डकीमा पनि पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको लडाईं छ । खगराज शंकर पोखरेललाई नेता मानेर अगाडी बढिरहेका छन् । त्यसक्रममा पृथ्वीसुब्बाले विष्णु पौडेलसँग मोर्चा कस्दै आएका छन् ।

    जसकाकारण लुम्बिनी र गण्डकीका आ आफनो भूगोलमा आफनो शक्ति जोगाउने र आफु निकट नेताहरुलाई प्रतिनिधि छनौटमा प्रष्ट हुन सन्देश दिने गरी क्यालकुलेटिभ मुभ विष्णु र पृथ्वीसुब्बाले चालेको देखिएको छ । उनीहरू तटस्थ बस्दा आफ्ना कार्यकर्ता ‘कुन धार’ रोज्ने भनेर द्विविधामा थिए। ओलीतिर खुलेपछि तल्लो तहमा आफू अनुकूल सहमति बनाउन सजिलो हुने आकलन उनीहरूको छ ।

    ३) शंकर पोखरेललाई ‘छेक्ने’ साझा योजना
    एमालेमा पोखरेलको गुरुङसँग गण्डकीमा, पौडेलसँग लुम्बिनीमा पुरानै ‘टसल’ रहँदै आएको छ । सदस्यता रोक्का, प्यानल भिडन्त, भूगोलमा कमजोर बनाउने प्रयास—यी कारणले उनीहरू शंकरलाई रोक्न एकै मोर्चामा उभिन पुगेका छन् ।

    विष्णु र पृथ्वीसुब्वाको यो घोषणाले एमाले राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । अध्यक्षमा ओलीसँग पूर्व राष्टपति विधा भण्डारीको सहयोग लिएर भिड्ने तयारीमा रहेका ईश्वर पोखरेल समूहमा पौडेल र गुरुङको यो तयारीले संसय निम्ताईदिएको छ ।

    ईश्वरलाई अध्यक्ष बनाउने अभियानमा जुटेका नेताहरूले पौडेल–गुरुङलाई आफ्नो सम्भावित सहयोगी ठानेका थिए । तर अब उनीहरू बोले, ‘दुवै दायाँ–बायाँ कुरा गर्दै थिए, सिधै ओलीतिरै खुल्दा शक्ति–सन्तुलन फेरियो ।’

    पौडेल र गुरुङको यो रणनीतिले सस्थापन पक्षमै पनि अलमल सिर्जना गरिदिएको छ । ओलीनिकट नेताहरूलाई समेत आश्चर्य बनाएको छ । शुक्रवारको सात शीर्ष नेता ओलीतिर रहेको सूचनाले, भूगोलमा चलिरहेको शक्ति–संघर्ष, विशेषतः लुम्बिनी र गण्डकीको समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने बनाएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend