काठमाडौं । विघिटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेको ११ औं महाधिवेशन आउन अब १९ दिन बाँकी छ । महाधिवेशन नजिकिँदै जाँदा एमालेभित्र नेताहरुको तानातान, सस्थापन र इतरटिममा पर्न भईरहेको दौडादौड र रस्साकस्सीकोे हिसाब-किताब निकै चर्किएको छ ।
मंसिर १३ मा देशैभरबाट महाधिवेशन प्रतिनिधि चयन हुँदैछ, १५ महाधिवेशन प्रतिनिधिको नाम केन्द्रीय कार्यालयले फाइनल गर्नेछ । महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्षका दुई मुख्य आकांक्षी केपी शर्मा ओली र ईश्वर पोखरेलबीच शक्ति संर्घष सुरु भईसकेको छ ।
ओलीको योजना : सलामी लगाएर सीधा नेतृत्व चयनको निर्वाचन
केपी ओली एमालेको अहिले पनि अध्यक्ष छन् । उनी दुई कार्याकाल एमालेको अध्यक्ष भएर अहिले ११ औं महाधिवेशनबाट तेहेरिएर अध्यक्ष हुने लाइनमा लागेका नेता हुन् । ओलीले महाधिवेशनको उद्घाटन सत्रमा आफुले केही निर्देशनात्मक सम्वोधन गर्ने र त्यसपछि सिधासिधै टप–पोस्टमा सिधै जाने तयारी गरेका छन् ।
उनी देशलाई र एमालेलाई अझै केही वर्ष आफनो नेतृत्व चाहिने भएकोले तेहेरिएर नेतृत्व् लिनुपर्ने बाध्यता आईलागेको भन्ने मनोविज्ञानमा नेता कार्यकर्तालाई सन्देश पु¥याउन चाहिरहेका छन् । त्यही भएर ओली आफनो प्यानल बनाउने काम गोप्य तरिकाले गरिरहेका छन् ।
ईश्वर पोखरेलको ‘काउन्टर गेम’ : समीक्षा, आत्मालोचना र नयाँ नेतृत्वको नारा
विगतका दुई महाधिवेशनमा ओलीसँगै रहेका र ओलीलाई नजिकबाट सहयोग गरेका अहिलेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल यसपटक भने ओलीलाई नेतृत्व दिन चाहिरहेका छैनन । उनी गत भदौ २३–२४ को घटनाको समीक्षा बिना अगाडि जान नसकिने भएले त्यस घटनाको पनि गम्भीर समीक्षा गर्नुपर्ने मत राखिरहेका छन् । त्यसको समीक्षासहित ओलीसँग यसपटक उनी आफै अध्यक्षमा च्यालेञ्ज गर्न तयार भएका छन् ।
पूर्व राष्ट्रपति विद्या भण्डारीको खुलेर दिएको सहाराले पोखरेल ओलीलाई च्यालेञ्ज दिन चाहिरहेका छन् । खासमा ओलीसँग भण्डारी आफैंले च्यालेन्ज गर्ने सोच बनाएकी थिइन् । तर, ओलीले उनको सदस्यता नवीकरण रोकेरै खेल रोकिदिए । त्यसपछि पूर्व राष्ट्रपति भण्डारीले बरिष्ठ उपाध्यक्ष पोखरेललाई ‘गो’ सिग्नल दिईसकेकी छिन् ।
अब कुरा प्यानलको : कसको टिम कस्तो देखिँदै छ ?
महाधिवेशनका सबैभन्दा ठूलो रोमान्स यही हो । कसको प्यानलमा को बस्छ ? कुन चेयर कसले पाउँछ ? एमालेभित्रको ‘म्यूजिक चेयर’ खेल अहिले भित्रभित्र चलिरहेको छ ।
पोखरेल प्यानल : सम्भावित सेटअप
पोखरेलले पहिले नै एक बलियो ‘कोर ग्रुप’ बनाएर बसेका छन् । उनको टिममा पक्का मानिएका प्रमुख अनुहार यस्ता छन् ।
अष्टलक्ष्मी शाक्य – उपाध्यक्ष
युवराज ज्ञवाली – उपाध्यक्ष
सुरेन्द्र पाण्डे – उपाध्यक्ष
योगेश भट्टराई – महासचिव / उपमहासचिव
गोकर्ण विष्ट – महासचिव / उपमहासचिव
रघुवीर महासेठ – उपमहासचिव
कर्ण थापा – सचिव
गोकुल बाँस्कोटा – सचिव
सबैभन्दा ठूलो टार्गेट : पृथ्वीसुब्बा गुरुङलाई तान्ने
पोखरेलले अहिले प्रमुख ‘स्ट्राइक’ यहीमा खेलिरहेका छन्, यदि पृथ्वीसुब्बा गुरुङ ओलिखेमाबाट असन्तुष्ट भएर पोखरेलतिर आए भने योगेश भट्टराई र गोकर्ण विष्ट दुवैलाई उपमहासचिव बनाएर गुरुङलाई महासचिव दिने सोचमा पोखरेल छन् । त्यो अवस्थामा विष्ट र भट्टराईले आफुहरु उपमहासचिव बसेर मान्न तयार रहेको सन्देश पोखरेललाई दिईसकेका छन् ।
गुरुङ ओलीको खेमामा महासचिवको उम्मेदवार बन्ने अवस्था अहिले नै सुनिश्चित छैन । उनलाई त्यहाँ महासचिव उम्मेदवार बन्न निक्कै पापड बेल्नुपर्ने अवस्था छ । ओलीको खेमामा गुरुङलाई असन्तुष्ट बनाई आफनो टिममा महासचिव बनाउने पोखरेल पक्षको भित्री योजना देखिन्छ । यदी त्यसो हुँदा पनि गुरुङ आफनो टिममा नआए के ?
त्यस अवस्थामा पोखरेलले योगेश र गोकर्ण मध्ये एकलाई महासचिव उम्मेदवार बनाउने र अर्काेलाई उपमहासचिवको उम्मेदवार बनाउने तयारी सोचेका छन् । आफ्नो टिममा पोखरेलले विन्दा पाण्डेलाई पनि उपमहासचिव उम्मेदवार बनाउने तयारी थालेका छन् । अन्य पदाधिकारीमा उनले भेगिय सन्तुलन मिलाउने योजना बनाएका छन् । यसका लागि उनले अहिले आफुलाई साथ दिएका पदाधिकारी र पूर्व राष्ट्रपति भण्डारीसँग बसेर निर्णय लिने तयारी गरेका छन् ।
ओली प्यानल : धेरैको दावी, धेरै असन्तुष्टि
ओलीलाई टिम बनाउन सबैभन्दा कठिन देखिने भएको छ । खासगरी महासचिव कसलाई बनाउने भन्ने सकस ओलीको टिममा देखिने छ । उनको वरिपरि अहिले महासचिव पदका लागि तीन आकांक्षी छन् । शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ । कसैलाई राख्दा अर्को असन्तुष्टि बढ्ने र कसैलाई हटाउँदा अर्कोमा रिस देखिने अवस्था ओलीको टिममा छ ।
ओलीको मूल आधारभूत लाइनअप (सम्भावित):
अध्यक्ष – केपी शर्मा ओली
उपाध्यक्ष – विष्णु पौडेल
उपाध्यक्ष – रामबहादुर थापा ‘बादल’
उपाध्यक्ष – (????)
महासचिव – पृथ्वीसुब्बा गुरुङ/ प्रदीप ज्ञवाली / शंकर पोखरेल (अन्तिम ७२ घण्टासम्म खुला)
उपमहासचिव – लेखराज भट्ट
उपमहासचिव – विष्णु रिमाल
ओलीले झेलिरहेको प्रमुख समस्या पूर्व माओवादी धारका रामबहादुर थापा र लेखराज भट्टको अनिबार्य ब्यवस्थापन गर्नुपर्ने बाध्यता छ । बादललाई व्यवस्थापनको बाध्यता हुँदा उनी उपाध्यक्षमै राख्नैपर्ने स्थिति ओलीलाई छ । अर्काेतिर, भिम रावल एमालेबाट बाहिरिएर नेपाली कम्युनिष्ट पार्टीमा जाँदा एमाले सुदूरपश्चिममा दवावमा छ ।
अर्काेतिर त्यही रहेका कर्ण थापा पनि आफनो टिममा नभई इश्वर पोखरेलको टिममा हुने भएपछि ओलीलाई त्यहाँबाट सुदूरपश्चिममा रिक्तता मेटन लेखराज भट्टलाई उपमहासचिवमा ब्यवस्थापन गर्नुपर्ने अर्काे बाध्यता आईलागेको छ ।
त्यस्तै, महासचिवको त्रिकोण मिलाउन पनि उनलाई महाभारत पर्ने देखिन्छ । एक जनालाई राख्दा दुई जना रिसाउने अवस्था आउन सक्नेमा ओली सचेत देखिन्छन् । शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको ब्यवस्थापन पनि ओलीलाई सकस छ ।
सचिवको दावेदारमा भीम आचार्य, लालबाबु यादव, किरण गुरुङ, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई, राजन भट्टराई, महेश बस्नेत आदी देखिएका छन् । सबैले टिकट खोजिरहेका छन्, यो व्यवस्थापन झनै जटिल देखिएको छ ।
।
ओली– पोखरेल : कुन प्यानल बलियो ?
एमाले नेता कार्यकर्ताको बुझाईमा दुवै पक्षका आ आफना सबल र दुर्लभ पक्ष छन् । ओली पक्ष बलियो हुँदा संगठनमा अझै बलियो पकड हुने, वित्त, संरचना र ‘पुरानो शक्ति’ ओलीको पक्षमा रहने र एमालेको ठूलो धारा अहिले पनि ओलीमै भरोसा राख्नेमा पर्ने देखिन्छन् । तर यसो हुँदा ओली पक्षका कमजोरी पनि देखिन्छन् ।
उनलाई टिम बनाउन कठिन छ । जसको कारण सर्बैको ब्यवस्थापन हुन नसक्दा धेरै असन्तुष्टि बढ्न सक्ने र त्यसको असर नेतृत्व चयनको मतदान प्रक्रियामा पर्नसक्ने जोखिम पनि छ । खासगरी महासचिवको टिकट निर्णायक तर अप्ठ्यारो अवस्था ओलीका लागि देखिएको छ ।
पोखरेल पक्ष बलियो हुँदा ‘परिवर्तन’ र ‘समीक्षा’को एजेन्डामा छलफल हुने, पूर्व राष्ट्रपति विद्या भण्डारीको खुला समर्थन रहने, उपाध्यक्ष र सचिवहरूमा लामो लाइन समर्थनमा देखिने, युवातिर ठूलो आकर्षण हुने देखिन्छ । यधपी पोखरेल पक्षका चुनौती पनि छन् । संगठनात्मक जडता ओलीतिर रहने, निकट चुनावी टिकटको भयले ओली छोडन नसक्ने समस्या नेता कार्यकर्तामा पर्न सक्छ ।
पोखरेलले पहिले अध्यक्ष घोषणा गरेर पछि टिम घोषणा गर्ने रणनीति बनाएको देखिन्छ । ओलीले टिम मिलाएर मात्रै घोषणा गर्ने रणनीति लिएका देखिन्छन् ।
.jpg)
