अवकासमा जाँदै गर्दा मुख्यसचिव अर्याल जाँचबुझ आयोगको फन्दामा

अवकासमा जाँदै गर्दा मुख्यसचिव अर्याल जाँचबुझ आयोगको फन्दामा

images
बिहिवार, मंसिर ५ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनमा भएको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।

    आयोगले आज मुख्यसचिव अर्यालसँग बयान लिएको हो । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्नु अगाडी अर्याल बयानका लागि आयोग कार्यालयमा पुगेका थिए । 

    ‘आज (बिहिबार) हामीले मुख्यसचिव एकनारायण अर्याललाई बोलाएर भदौं २३ र २४ को घटनाका बारेमा सोधखोज ग¥यौं,’ जाँचबुझ आयोगका प्रवक्ता समेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले भने, ‘हामीले उहाँलाई आज केही सोधपुछ छ, आउनुहोला भनेर बोलाएका थियौं, उहाँ (मुख्यसचिव) आउनुभयो । हामीले सोधेका सबै प्रश्नको जवाफ दिएर फर्कनुभयो ।’


    आयोगले खासगरी मुख्यसचिव अर्यालले त्यसबेला गरेका कार्यसम्पादन, दिएका निर्देशन लगायतका विषयमा केन्द्रीत रहेर प्रश्नहरु गरेको आयोग सदस्य शर्माले भने ।  ‘उहाँ आउनु भयो। आफ्नो कुरा राख्नुभयो। हामीले यथार्थ विवरण बुझ्यौँ। उहाँले देखेका, उहाँले गरेका कामहरू सोध्यौँ । उहाँले पनि आयोगलाई सहजरुपमा आफना कुराहरु राख्नुभएको छ,’ आयोग प्रवक्ता समेत रहेका शर्माले भने । 

    आयोगले अर्यालसाग मुख्यसचिव रहेकै बेलामा बयान लिनु राम्रो हुने ठानेर त्यसै अनुरुप आयोग कार्यकक्षमा बोलाएर सोधपुछ गरेको हो ।अर्याल अबको तीन दिन पछि अनिवार्य अवकाशमा जाँदैछन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ गते जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीसँग बयान लिइरहेको छ ।  आयोगले त्यतिबेला जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत दुवै जना प्रहरी उपरीक्षक एसपी अपिलराज बोहरा र कुल्दीप चन्दसँग बयान लिएको थियो । 

    त्यसभन्दा माथिल्लो पदमा कार्यरत प्रहरी अधिकारीहरूको बयान लिन बाँकी रहँदै आयोगले मुख्य सचिवलाई बयानमा बोलाएको हो । 


    जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक लगायतसँग पनि बयान लिने तयारी गरेको छ । तर ओलीले आफु खुरुखुरु आयोगले बोलाउँदैमा बयान दिन नजाने बताईरहेका छन् । 

    आयोगलाई जाँचबुझ गरेर कारबाही सिफारिस गर्नेसम्मका अधिकार छ । आयोगले बयान लिन बोलाउँदैमा कारबाही नै गर्ने भन्ने नहुने स्पष्ट पारेको छ । 

    आयोगले करिव ३० जना प्रहरीसँग बयान लिइसकेको छ । तत्कालीम प्रमुख जिल्ला अधिकारी, काठमाडौँ प्रहरी प्रमुख लगायतसँग बाँकी रहेको आयोगका सदस्यले बताएका छन् । तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी भने एसएसपीबाट डीआईजीमा बढुवा भइसकेका छन्।

    यस्तै आयोगले त्यतिबेलाका गृहसचिव गोकर्णमणि दुवाडीसँग पनि बयान लिन बाँकी छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend