काठमाडौँ । विघिटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस अहिले अन्तहिन म्याराथुन बैठकमा छ । नेतृत्वको ‘निर्णयहीनता’ र संगठनको ‘अनिश्चित भविष्य’ बीच कांग्रेस महिनौदेखि कुँजिएको छ ।
गत असोज २८ यता मंसिर ४ सम्म पनि कांग्रेसले बैठकबाट कुनै निर्णय लिन सकेको छैन । सम्भवतः कांग्रेसको पार्टी इतिहासमै निर्णयविहिनतामा बैठक लम्बेको लम्बै भएको यो पहिलो पटक होला । असोज ११ देखि मंसिर ४ सम्मको यो ५० दिनमा ३० भन्दा बढी बैठकको सिलसिला चलेपनि निर्णय भने शून्य छ ।
जेन–जी विद्रोह (भदौ २३–२४) ले नेपालमा प्रधानमन्त्री नै असुरक्षित बनि प्रधानमन्त्रीको सरकारी निवास छोडेर सेनाको हेलिकप्टरमा भाग्नुपर्ने अवस्था निम्तेको थियो । कांग्रेस सभापति पनि यसबाट अछुतो बनेनन् । उनी आफ्नै निवासमा तत्कालिन अवस्थाको परराष्ट्रमन्त्री समेत रहेकी पत्नी डा आरजु राणा देउवासँगै आफ्नै निवासमा निर्घात कुटिए ।
सभापति शेरबहादुर देउवा र आरजु राणा दम्पतीमाथि भएको निर्घात कुटपिटपछि पार्टी आन्तरिक क्षतिभन्दा गहिरो आघातमा प¥यो । त्यसैको रेक्टर–स्केल कांग्रेसभरि पर्यायवाची झट्का बन्यो- नेतृत्व पुस्तान्तरणको मुद्दा । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णवहादुर खड्कालाई हस्ताक्षर बुझाउने अवस्था निम्त्यो ।
मुलुक प्रतिनिधिसभा विघटन हुँदै अन्तरिम चुनावी सरकार गठनको परिस्थितिमा गयो । अन्तरिम चुनावी सरकारले फागुन २१ मा चुनावको घोषणा गरेको छ । तर, विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले न चुनावमा मसक्कै आँटेर जाने हिम्मत देखाएको छ, न एमाले अध्यक्ष केपी ओलीले जस्तो संसद पूर्नस्थापनाकै वकालत गर्न सकेको छ । अन्यौलको भूमरीमा यतिवेला कांग्रेस महिनौंको म्याराथुन बैठकमा छ । कांग्रेस आफ्नै पार्टी महाधिवेशन गर्ने कि नगर्ने ? महाधिवेशन गरे नियमित गर्ने की विशेष महाधिवेशन गर्ने ? चुनाव अगाडी गर्ने की पछाडी गर्ने भन्ने साधारण प्रश्नको भूमरीमै फसेको छ ।
दुई महामन्त्रीहरूको ‘कडा अडान’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सस्थापन पक्षलाई अहिले चुनौती दिईरहेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएर त्यसैको आडमा सस्थापनलाई उनीहरुले चुनौति दिईरहेका छन् । देउवा पक्षको प्रस्तावित तालिकालाई स्पष्ट अस्वीकार गरेर उनीहरुले सस्थापनलाई आरोप लगाउन थालेका छन्, ‘तालिका ल्याउने तर महाधिवेशन नगराउने देउवा–पक्षको योजना देखिन्छ ।’
त्यसमा उनीहरूले देखेका सस्थापनका रणनीतिमा पुस मसान्तभित्र कार्यतालिका भन्दै नियमित महाधिवेशन गर्न नसकिने, ५४ प्रतिशतले दिएको विशेष महाधिवेशनको निवेदन फिर्ता गराउन दबाब दिने र निर्वाचन समिति तथा क्रियाशील सदस्यता छानबिन समितिमा संस्थापनलाई मात्रै बहुमत दिन खोजिएको र महाधिवेशन रोकिने गरी शर्तसहित कार्यतालिका ल्याइएको आशंका ब्यक्त गरेका छन् । यही कारण थापा–शर्मा समूहका नेताहरूले आकस्मिक पत्रकार सम्मेलन गर्दै देउवा–पक्षको ‘नियत’मै प्रश्न उठाएका छन् ।
सस्थापनापक्ष : ‘पहिले चुनाव, अनि वैशाखमा महाधिवेशन’
सस्थापन पक्षमा भने विभिन्न समुहहरु देखा पर्न थालेका छन् । उनीहरुको एकमत देखिएको छैन । विमलेन्द्र निधिदेखि महेन्द्र यादवसम्मका सथापनपक्षका नेताहरु भने अर्के धुनमा देखिएका छन् ।
यही धुनमा कृष्ण सिटौला देखि प्रकाशमान सिंहसम्म, प्रकाशशरण महत देखि डा शसांक कोइरालासम्म आ आफ्नै डम्फु बजाउन तल्लिन छन् । उनीहरुको एउटै कुरा देखिन्छ, ‘पहिले चुनावमा जाने निर्णय गर, महाधिवेशन चुनावपछि वैशाखमा गर्ने ।’ उनहरूको तर्क छ, अब महाधिवेशन गर्दा संगठनभित्र झगडा बढ्छ । निर्वाचनका लागि बन्द सूची दिने, राष्ट्रियसभा तयारी गर्ने समय छैन । विशेष महाधिवेशन सम्भव छैन, हस्ताक्षरकर्ताहरूको सनाखत गर्न समय लाग्छ ।
सभापति देउवाले भने यो बीचमा आफनो उपचारलाई प्राथमिकतामा राखेर उपसभापति पूर्णवहादुर खड्कालाई दिएर सिंगापुर पुगेका थिए । गत असोज २८ मा बोलाइएको केन्द्रीय समितिको पहिलो बैठकमै देउवाले खड्कालाई कार्यवाहक दिएका थिए । तर देउवा कात्तिक १० मा सिंगापुर पुगेर कात्तिक २८ मा स्वदेश फर्किदासम्म कांग्रेसको किचलो उस्तै छ ।
देउवा ‘इन्ट्री’पछि फेरि हलचल
कांग्रेसमा देखिएको किचलो नमिलेपछि र कार्यवाहक सभापतिले निकास निकाल्न असफल भएपछि सिंगापुरबाट फर्केको दिनदेखि नै सभापति देउवा आफै सक्रिय हुन फेरि थालेका छन् । देउवा बैठक, छलफल र सहमतिको खोजीमा लागेका छन् । तर आश्चर्य, उनले पठाएका ‘तालिका–प्रस्ताव’ नै महामन्त्रीद्वयले ‘नियतविहीन’ भन्दै अस्वीकार गरेको अवस्था छ ।
यसले मंसिर १ मा बस्ने भनिएको बैठक समेत अनिश्चित बनायो । त्यसपछि आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । तर, सभापतिले पठाएको कार्यतालिकालाई नै महामन्त्रीद्दयले अश्वीकार गरेका कारण आजको बैठक पनि अन्तिम समयसम्म के हुने टुंग्गो लागेको छ । कांग्रेस नेतृत्वले प्रस्ताव त ल्याउँछ, तर निर्णयको क्षण आएपछि बैठक सारिन्छ—पटकपटक । यही नियतीको पेरिफेरिमा कांग्रेसले म्याराथुन बैठकको गोलचक्कर लगाईरहेको छ ।
कांग्रेसको म्याराथुन बैठक : ‘अन्तहीन’ टाइमलाइन
असोज ११
— केन्द्रीय कार्यसमितिको बैठक बस्ने आह्वान ।
असोज २५
— बैठक २८ गते सारियो ।
असोज २८
— बैठक सुरु। सभापति देउवाले कार्यवाहक सभापति खड्कालाई बैठक सञ्चालन सुम्पे।
असोज ३०
— ७ जनाले धारणा राखे। ३१ असोजमा बैठक बोलाइयो।
असोज ३१
— नेताहरूको धारणा जारी। कात्तिक १ मा बैठक तय।
कात्तिक १
— पूर्व सभापति ऋषिकेश गौतम निधनमा शोक प्रस्ताव। अर्को बैठक १३ कात्तिक।
कात्तिक १०
— देउवा दम्पती सिंगापुर उपचारका लागि प्रस्थान।
कात्तिक १३
— धारणा जारी। १४ मा अर्को बैठक।
कात्तिक १४
— बैठक स्थगित। १६ कात्तिक बोलाइयो।
कात्तिक १६
— फेरि स्थगित। १८ मा बोलाइयो।
कात्तिक १८
— धारणा जारी। १९ मा अर्को बैठक।
कात्तिक १९
— नेताहरूको धारणा अन्त्य नआउँदा २० मा सारियो।
कात्तिक २०
— थप नेताहरूले बोले। बैठक २१ मा सारियो।
कात्तिक २१
— पुनः धारणा। २३ मा बैठक।
कात्तिक २२
— आकस्मिक बैठक : नेता मोहम्मद आफताब आलम निधनमा शोक।
कात्तिक २३
— २५ मा सारियो।
कात्तिक २५
— फेरि धारणा। २६ मा बोलाइयो।
कात्तिक २६
— धारणा जारी। २७ मा सारियो।
कात्तिक २७
— नेताहरू अझै बोल्दै। २९ कात्तिकमा सारियो।
कात्तिक २८
— २९ गतेको बैठक स्थगित। नयाँ मिति मंसिर १।
कात्तिक २८
— देउवा स्वदेश फर्किए।
कात्तिक ३०
— मंसिर १ को बैठक पुनः स्थगित। अर्को मिति मंसिर ४।
मंसिर ४
— मंसिर ४ को बैठक पुनः स्थगित। अर्को मिति मंसिर ६ गते ।
मंसिर ६ गते (अव के ?)
— विशेष–नियमित महाधिवेशन, तालिका–विवाद, नेतृत्व–आकांक्षा सबैकै टकराहटले बैठक फेरि अनिश्चित ।
कांग्रेसको भविष्यको दिशा
कांग्रेस अहिले देशको चुनावी तयारीभन्दा पनि आफ्नै भविष्यको द्वन्द्वमा अल्मलिएको छ ।
नियमित महाधिवेशन ?
विशेष महाधिवेशन ?
चुनाव अघि कि पछि ?
नेतृत्व परिवर्तन कि यथास्थिति ?
महामन्त्रीद्वय र ५४% प्रतिनिधिको अडान स्पष्ट छ- ‘निर्णय देउ, अन्यथा विशेष महाधिवेशन नै अन्तिम विकल्प।’ सस्थापना–पक्षको अडान पनि प्रस्ट छ- ‘पहिले चुनाव, महाधिवेशन वैशाखमा।’
यसरी कांग्रेसको निर्णयहीनता केवल पार्टीको समस्या होइन, देश चुनावतिर दौडिरहेको बेला मुख्य राजनीतिक दल नेतृत्वहीन, निर्णयहीन र दिशाहीन देखिनु लोकतान्त्रिक राजनीति नै कमजोर पार्ने संकेत भएको कांग्रेसीहरुले नै चिन्ता ब्यक्त गर्न थालेका छन् ।
.jpg)
