नवगठित नेपाली कम्युनिष्ट पार्टी : ‘पूर्व प्रधानमन्त्रीहरूको घर’

नवगठित नेपाली कम्युनिष्ट पार्टी : ‘पूर्व प्रधानमन्त्रीहरूको घर’

तीन पूर्व प्रधानमन्त्री एउटै पार्टीमा, वाम राजनीतिमा फेरि ठूलो गोलचक्कर

images
बुधवार, कार्तिक २० २०८२
  • काठमाडौं। नेपालको राजनीतिक इतिहासमा वाम एकताको कथा कुनै सीधा रेखा होइन । कहिले जोड, कहिले फुट, फेरि एकता, फेरि विभाजन यही आवर्तनभित्र वाम राजनीति दशौँ वर्ष चलेको छ । झापा आन्दोलनको धारा र माओवादी जनयुद्दको धाराका बीचको एकता नेपालको कम्युनिष्ट आन्दोलनभित्रको मूलधारको एकताका रुपमा लिइँदै आइएको छ । 


    तर विगतमा नेकपा बनाएका एमाले माओवादी आ आफनो बाटो लाग्नु, माओवादीभित्रै पनि अनेक प्रकारका टुटफुटको इतिहास देखिनुले वाम राजनीतिमा ठूलै संकट देखा परेको थियो । तर फेरि धुलो टक्टकाउँदै वाम पार्टीहरुले बेला बेला एक हुने र उठ्ने जमर्काे नगरेका होइनन । त्यही जमर्काे वुधबार फेरि भएको छ ।

    नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेकपा (समाजवादी), जनता समाजवादी लगायतका ९ वाम शक्तिहरु नेपाली कम्युनिष्ट पार्टीका नाममा फेरि एकपटक धुव्रीकृत भएका छन् ।  यसरी हेर्दा कहिले काँही यो यात्रा त्यति नै परिचित लाग्छ, जस्तै कुनै पुरानो गाउँको बाटो जसले घुम्दै–घुम्दै फेरि त्यही चौतारीमा ल्याइदिन्छ ।


    बुधबार, त्यही चौतारी (नेपाली कम्युनिष्ट पार्टी) मा फेरि तीनजना पूर्व प्रधानमन्त्रिहरू भेटिए—पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल ।


    संगठनात्मक रूपमा छुट्टिएका, सैद्धान्तिक रूपमा फरक मोड भएका, राजनीतिक प्रतिस्पर्धामा कहिले प्रतिद्वन्द्वी, कहिले सहयात्री बनेका यी नेताहरू फेरि एउटै पार्टी ‘नेपाली कम्युनिष्ट पार्टी’ को छातोभित्र उभिएका छन् । बुधबार विहानसम्म झलनाथ खनालको यही चौतारीमा अटाउने, नअटाउने कुनै टुंगो थिएन । तर विहानको एक छलफलले खनाललाई पनि त्यही चौतारीमा अटाईदियो । यसले नेपालका तीन पूर्व प्रधानमन्त्रीहरु बुधबार दिउँसोदेखि एउटै छातामुनि देखिए । 

    यो केवल दलको नाम वा पार्टीको नयाँ दर्ताको कुरा मात्र होइन । यो शक्ति–समिकरण फेरिने संकेतको रुपमा देखा परेको छ । र, वाम राजनीतिका पुराना मानचित्रहरू फेरि पुनर्लेखन हुँदैछ भन्ने सन्देश आम नेपालीहरुलाई दिएको छ ।

    भृगुती संस्करणको नयाँ पुनरावृत्ति


    कहिलेकाहीं राजनीति साहित्य जस्तै हुन्छ- पात्रहरू उस्तै, कथा उस्तै, तर अध्याय मात्र बदलिन्छ । दुई दशकअघि पनि देशको राजनीतिक केन्द्रमा यिनै नेताहरू थिए । एकले जनयुद्ध नेतृत्व गरेका थिए, प्रचण्ड । एकले एमालेलाई मदन भण्डारीको निधनपछि नेतृत्व दिएर उठाएका थिए, माधव नेपाल । अर्काले पार्टीभित्र मदनको वैचारिक राजनीतिमा फरक धारको नेतृत्व गरेका र पहिलो संविधानसभाबाट पार्टी लज्जास्पद पराजय ब्यहोर्दा नेतृत्वविहिन बनेको तत्कालिन एमालेको नेतृत्व प्रदान गरेका झलनाथ खनाल ।

    c7abddc3-16f4-4688-ba94-c2a8acef7592_11zon.jpg

    यी तिनै नेता अहिले एक ठाँउमा एकीकृत भएका छन् ।  सारथी बनेका छन्- वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, वर्षमान पुन लगायतका नेताहरु । उनीहरुले यी तीन पूर्व प्रधानमन्त्रीको सारथी बन्ने र फेरि एकपटक नेपाली कम्युनिष्ट पार्टीलाई देशलाई नेतृत्व गर्ने मुख्य मियो पार्टी बनाउने संकल्प गरेका छन् । 


    नेपालका जीवित पूर्व प्रधानमन्त्रीहरूको सूचीमा आठजना छन् (एक अन्तरिम मन्त्रिपरिषद् अध्यक्षसहित)। तर उनीहरूका राजनीतिक यात्राले आज रोचक आकृति बनाएको छ ।

    पूर्व प्रधानमन्त्री अहिलेको अवस्थाः
    पुष्पकमल दाहाल प्रचण्ड-  नेपाली कम्युनिष्ट पार्टी
    माधवकुमार नेपाल - नेपाली कम्युनिष्ट पार्टी
    झलनाथ खनाल-  नेपाली कम्युनिष्ट पार्टी
    केपी शर्मा ओली - नेकपा (एमाले)
    शेरबहादुर देउवा-  नेपाली कांग्रेस
    डा. बाबुराम भट्टराई - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)
    लोकेन्द्रबहादुर चन्द  - राप्रपा (शान्त भूमिकामा)
    खिलराज रेग्मी - दलविहीन (पूर्व प्रधानन्यायाधीश, अन्तरिम सरकार प्रमुख)

    यो सूची मात्र तथ्यांक होइन । यो नेपालमा शक्ति कहाँ केन्द्रित छ भन्ने प्रवेशद्वार हो ।

    एमाले र माओवादी: एकता र फाटोको चक्र

    एक समय एमालेलाई ‘पूर्व प्रधानमन्त्रीहरूको घर’ भनिन्थ्यो । केपी ओली, झलनाथ खनाल, माधव नेपाल तीनैजना एउटै पार्टीमा थिए । त्यो शक्ति सन्तुलनले एमालेलाई तागतमाथि तागत जोडिदिएको थियो ।

    त्यस्तै माओवादीमा प्रचण्ड र बाबुराम दुई पूर्व प्रधानमन्त्री । जनयुद्धको कथा, संक्रमणकालको नारा, नयाँ संविधान बनाउने यात्राको गाथा । त्यो पनि एउटा–नभएको पार्टी एकताको शिखर थियो ।


    तर राजनीति स्थिर पानी हैन, खोलाजस्तै बगिरहन्छ । एमाले र माओवादी मिले, भएभरका चार जना पूर्व प्रधानमन्त्रीहरु एकै पार्टीमा रहे । एमाले फुट्यो । माओवादी फुट्यो । नयाँ शक्ति जन्मियो । तर फेरि समयले चक्र पुरा ग¥यो- प्रचण्ड, माधव र खनाल फेरि एउटै चौतारीमा आईपुगे । 

    d3803b07-12a1-46bb-a95b-cf82d9daafe4_11zon.jpg

    किन एकतामा फर्किए वाम नेता ?

    कारणहरू धेरै छन् । तर मुख्यतः तीन मूल बिन्दुहरू यस्ता छन्, 
    १) ओलीको केन्द्रीय शक्ति–मोडेलविरुद्ध असन्तोष
    – माधव र खनाल दुवै ओलीको ‘एकछत्र’ शैलीसँग असम्झदार देखिए ।
    २) प्रचण्डको जोखिम–सन्तुलन राजनीति
    – प्रचण्ड सधैं ‘बीचको शक्ति’ खोज्छन्—सम्झौता, साझेदारी, रणनीति ।
    ३) संसदीय समीकरणमा नयाँ ठूलो शक्ति बनाउने स्वप्न
    – कांग्रेस–एमालेको दुई ध्रुवीयता तोड्ने प्रयास ।
    यस अर्थमा हेर्दा, यो केवल संगठनात्मक एकता होइन—राजनीतिक रणनीतिगत पुनरुत्थान हो । राजनीतिक गणितले स्पष्ट देखाउँछ— संसदीय अंकगणितमा वाम गठबन्धन फेरि निर्णायक बन्न सक्छ । एकताको अर्थ—प्रतिस्पर्धा मात्र होइन, पुनर्थापना पनि हो । यो एकता कसैका लागि अवसर हो, कसैका लागि चुनौती ।

    ओलीका लागि— नेपालका तीन पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माव नेपाल र झलनाथ एक ठाँउमा उभिनु र एकता गर्नु पुरानो प्रतिद्वन्द्वीहरूको पुनरागमन हो । जनेजी विद्रोहले थिलथिलो बनेको ओली र एमालेलाई प्रचण्ड, माधव र झलनाथ खनालको नेपाली कम्युनिट पार्टी निर्माणले ‘कुद्ने ट्रयाक’ खोस्न खोजेको जस्तै बनाईदिएको छ । 

    देउवाका लागि— कांग्रेस फेरि ‘एक्लो पूर्व प्रधानमन्त्रीको पार्टी’ बन्यो। यसका अतिरिक्त कांग्रेसभित्रको अन्तरसंर्घष चुलीमा पुगिरहेका बेला नयाँ बैकल्पिक दरिलो प्रतिस्पर्धी पार्टी जन्मियो । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend