काठमाडौं । राजनीतिक वृत्तमा केही समयदेखि चर्चामा आएको ‘नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी वीचको एकता’ अब औपचारिक ढंगले स्थिर रूप लिँदैछ । लामो वार्ता, अन्तक्र्रिया र नेताहरुका वीचका रस्साकस्सीपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मात्र होइन, अन्य कम्युनिष्ट घटक पार्टीसहित आठवटै कम्युनिस्ट दलहरू एउटै छातामुनि एकताबद्द हुने सहमति बनेको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय काठमाडौंको कोटेश्वर पेरिसडाँडामा आज एक कार्यक्रमका बीच एकताको सहमतिपत्रमा आठ वटै कम्युनिष्ट दलका अध्यक्ष/संयोजकहरुले हस्ताक्षर गरेका छन् ।
यो सहमतिसँगै नेपाली वाम राजनीतिमा एक नयाँ अध्याय खुल्दैछ- नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ दलको रूपमा । कांग्रेसको अगाडी नेपाली राखेर नेपाली कांग्रेस बनाएको जस्तै कम्युनिष्ट पार्टीको अगाडी यी आठ वटै दलले नेपाली कम्युनिष्ट पार्टी नाम राख्ने समझदारी बनाएका छन् ।
तर उनीहरुले सहमति गर्दा पार्टी ना मभने औपचारिक रुपमा घोषणा गरेका छैनन । यो नाममा पार्टी दर्ता हुन नसकेको खण्डमा भने नेकपा (समाजवादी) राख्ने दोस्रो विकल्पको समझदारी छ ।
तर नाम नेपाली कम्युनिष्ट पार्टी नै राख्ने गरी सहमति भएको नेताहरुले बताएका छन् । एकता प्रक्रियामा रहेका नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट पार्टी नाम राख्ने विषयमा सहमति बनेको पुष्टि गरेका छन् । ‘पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुन्छ । अरु फुर्को केही पनि जोडिँदैन ।’ गौतमले भने ।
पार्टीको चुनाव चिन्ह पाँचकुने तारा राख्ने समझदारी भएको छ । यो चुनाव चिन्ह्र एकता प्रक्रियामा सहभागी रहेको दल सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी, नेपालको चुनाव चिन्ह्र थियो । माओवादी केन्द्रको गोलाकारभित्रको हसियाँ हथौडा र एकीकृत समाजवादीको कमल चुनाव चिन्ह नराख्ने गरी चुनाव चिन्ह्र दुई अक्षरको बैलाई सम्झन सजिलो हुने गरी तारा राख्ने समझदारी बनेको हो ।
नयाँ पार्टीको नेतृत्व भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । उनी एकतापछिको पार्टीको संयोजक हुनेछन् । त्यस्तै सहसंयोजक भने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल हुनेछन् । त्यसपछि ६ महिनाभित्र पार्टीको महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने गरी सहमति बनेको नेताहरुको भनाई छ । नेकपा एसका वरिष्ठ नेता तथा वार्ता टोलीका संयोजक बेदुराम भुसालका शब्दमा, प्रचण्डजी संयोजक र माधव नेपाल सह–संयोजक हुने सहमति भइसकेको छ ।
नयाँ दल, पुराना पात्र, तर नयाँ समीकरण
वाम राजनीतिका दुई पुराना नेता प्रचण्ड र माधव नेपाल फेरि एउटै प्लेटफर्ममा आएका हुन् । २०७४ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वाेच्च अदालतको फैसला पछि टुक्रिएको थियो । तत्कालिन दुई अध्यक्ष मध्ये एक केपी ओलीसँग अर्का अध्यक्ष प्रचण्ड र नेता माधव नेपालले सँगै मिलेर संर्घष गरेका थिए ।
पार्टीभित्रको विग्रहलाई रोक्न नसकेपछि ओलीले संसद विघटन दुई दुई पटक गरेका थिए । त्यसबेला यो कम्युनिष्ट पार्टीसाग झण्डै दुई तिहाई बहुमत थियो । तर पछि अदालतले नेकपालाई अर्काे नाम प्रस्ताव गर्न आदेश दिएर एकता खारेज गरिदिएपछि उक्त पार्टी चार टुक्रामा विभाजित भएको थियो । ओलीले पूरानै दल एमाले, प्रचण्डले पूरानै दल माओवादी केन्द्र, माधव नेपालले एकीकृत समाजवादी र वामदेव गौतमले नेकपा एकता राष्टिय अभियान नामक समुह निर्माण् गरेका थिए ।
त्यसमध्येका प्रचण्ड, माधव नेपाल, वामदेव गौतम लगायतका नेताहरु अहिले एकताबद्द भएका हुन् । यी नेताहरु फेरि पाँच वर्षपछि एउटै पार्टीको मञ्चमा उभिन लागेका छन् । उनीहरुले आइतबार साँझ सम्पन्न निर्णायक वार्तामा १८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको औपचारिक ढोका खोलेका हुन् । सहमतिपत्रमा वैचारिक, संगठनात्मक र कार्यगत दिशाबारे विस्तृत खाका तय गरिएको छ ।
अब कात्तिक १९ गते काठमाडौंमा हुने एकता राष्ट्रिय सम्मेलनमा एकताको घोषणा गर्दै नयाँ पार्टीको उद्घोष गरिनेछ ।
नयाँ पार्टीको नाम र चिन्ह
‘माओवादी’ले आफ्नो नामबाट माओवाद हटाएको छ । त्यस्तै, नेकपा (एस)ले पनि ‘माजवादीलाई छाडेको छ । अब दुईवटै दल ‘नेपाली कम्युनिष्ट पार्टीका नाममा अघि बढ्ने सहमतिमा पुगेका छन् । नयाँ दलको चुनाव चिन्ह पाँचकुने तारा हुने निर्णय भएको छ । यो प्रतीक वाम आन्दोलनको एकता, प्रकाश र दिशानिर्देशनको रूपकको रूपमा व्याख्या गरिएको छ ।

आठ दल, हजार सदस्यीय केन्द्रीय समिति
यो एकता दुईवटा दलबीच मात्र होइन, कुल आठ वाम दलहरूको एकीकरण हो । सहमतिपत्रमा हस्ताक्षर गर्ने नेताहरूमा छन्, पुष्पकमल दाहाल (माओवादी केन्द्र), माधवकुमार नेपाल (नेकपा एस), महेन्द्र राय यादव (नेपाल समाजवादी पार्टी), राजु कार्की (नेकपा समाजवादी), सुभाषराज काफ्ले (जनसमाजवादी पार्टी, नेपाल), चिरन पुन (नेपाल कम्युनिस्ट पार्टी), कर्णजीत बुढा (नेकपा माओवादी समाजवादी) र प्रेमबहादुर सिंह (नेकपा साम्यवादी)।
यी दलहरूको एकीकरणपछि नयाँ पार्टीको केन्द्रीय समिति करिब १,००० सदस्यीय हुने तय भएको छ । सबै दलका केन्द्रीय सदस्यहरूलाई समायोजन गर्दै नयाँ समितिको गठन गरिनेछ । पार्टीको सञ्चालन जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणालीमा आधारित हुने सहमति भएको छ । वैचारिक दिशा : माक्र्सवाद–लेनिनवाद र नेपाली विशेषताको समाजवाद हुने उल्लेख छ ।
एकतापत्रले स्पष्ट वैचारिक रेखा कोरेको छ । नयाँ दलको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ । दलले “नेपाली विशेषताको वैज्ञानिक समाजवाद”लाई क्रान्तिको कार्यक्रमका रूपमा अघि सारेको छ । सहमतिपत्रमा भनिएको छ, “पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो।”
आन्दोलनको स्वरूप : शान्तिपूर्ण तर सशक्त
नयाँ दलले समाजवादको आधार निर्माणका लागि शान्तिपूर्ण आन्दोलनलाई मुख्य बाटो बनाउने जनाएको छ। “परिस्थितिअनुसार सडक, सदन र सरकारका सबै मोर्चा आन्दोलनका मोर्चा हुनेछन्,” सहमतिपत्रमा भनिएको छ । यसले वाम राजनीतिलाई पुनः एक किसिमको सन्तुलनमा ल्याउने संकेत दिएको छ - जहाँ विचारको गहिराइ र व्यावहारिक रणनीति सँगसँगै अघि बढ्नेछ।
एकता महाधिवेशन र आगामी योजना
माओवादीले यसअघि मंसिर मसान्तभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर अब नयाँ सहमति अनुसार, छ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति भएको छ ।
त्यसअघि, राजनीतिक प्रतिवेदन, कार्यक्रम र दस्तावेज निर्माणका लागि एक विशेष कार्यदल गठन गरिनेछ । एकता घोषणा सम्मेलनपछि नयाँ पार्टीले निर्वाचन आयोगमा औपचारिक दर्ता प्रक्रिया अघि बढाउने योजना बनाएको छ।
राजनीतिक सन्देश : वाम पुनर्गठनको संकेत
पछिल्ला केही वर्षयता विभाजन, असन्तुष्टि र अन्तरदलीय अविश्वासले कमजोर बनेको वाम आन्दोलनले यस एकताबाट पुनः जीवन पाउने संकेत गरेको छ । तर यो एकता गरिरहँदा माधव नेपालसँग रहेका झलनाथ खनाल, घनश्याम भुषालहरु भने एकता प्रक्रियामा सहभागी नहुने बताईसकेका छन् । त्यस्तै माओवादी केन्द्रमा पनि जनार्दन शर्माले यो एकता प्रक्रियामा आफुलाई सहभागी नगराउने र आफु माओवादी पार्टी नै पूर्नगठनमा लाग्ने बताईरहेका छन् ।
नेकपा (एमाले) भित्रका आन्तरिक तनाव र सरकारमा वाम शक्तिहरूको कमजोर उपस्थितिको पृष्ठभूमिमा यो एकता धेरैको नजरमा “वाम पुनर्गठनको प्रयास” हुने देखिएको छ । राजनीतिक विश्लेषकहरूको भनाइमा, प्रचण्ड–नेपालको यो सहयात्रा केवल संगठनात्मक एकता होइन, राजनीतिक अस्तित्व जोगाउने रणनीतिक कदम पनि हो।
अबको चुनौती स्पष्ट छ — विचार र संगठनलाई एकै सूत्रमा बाँध्ने, पुराना असन्तुष्टि मेट्ने, र जनता बीच नयाँ वाम विकल्पको सन्देश पु¥याउने।
प्रचण्ड र माधव नेपाल दुबैको राजनीतिक जीवन लामो र उतारचढावयुक्त छ । दुबै नेताले एकअर्कालाई कहिले साथी, कहिले प्रतिस्पर्धीको रूपमा व्याख्या गरेका छन्। तर अब फेरि उनीहरू एउटै मञ्चमा उभिँदैछन्।
उनै दुई नेताले हात मिलाएर भनेका छन्,- “हामी वाम आन्दोलनलाई पुनः एकजुट गर्दै समाजवादको दिशामा देशलाई अघि बढाउनेछौं।”
यदि यो एकता केवल हस्ताक्षरमा सीमित नभई व्यवहारमा रूपान्तरण गर्न सकियो भने, नेपाली राजनीतिले फेरि एक नयाँ मोड लिन सक्छ।
नत्र, यो पनि अघिल्ला वाम एकताजस्तै एउटा क्षणिक राजनीतिक तस्वीरमात्र रहन सक्छ।
.jpg)
