काठमाडौं । नेकपा एमालेले पार्टी महाधिवेशनको थप तयारी गर्न ५ दिन पछि पार्टी सचिवालय बैठक बोलाएको छ । पार्टीका पदाधिकारी मात्र रहेको सचिवालयले आगामी मंसिर २७ देखि २९ सम्म पोखरामा आयोजना गर्ने गरी मिति घोषणा भईसकेको पार्टीको महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको संख्या, छनौटको मापदण्ड, विधि लगायतका विषयमा केन्द्रीत रहेर छलफल गर्न लागेको छ ।
जनेजी आन्दोलनका क्रममा जलेको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिन यता उसले पाल टाँगेर अस्थायी कार्यालय सञ्चालनमा ल्याएको छ । अन्य कतिपय काम भने पार्टी अध्यक्ष केपी ओलीको निवासबाट गर्ने गरी काम अगाडी बढाएको छ ।
चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि झण्डै २२ सय हाराहारीको थियो । केन्द्रीय आयोजक र महाधिवेशन प्रतिनिधि गरी सो संख्यामा रहेको महाधिवेशन प्रतिनिधिको संख्या अबको एघारौं महाधिवेशनमा भने आधा घटाउने तयारी गरेको छ । अध्यक्ष केपी ओलीको निर्देशन अनुसार, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, प्रदीप ज्ञवाली, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले महाधिवेशन छनौट गर्ने विधि र मापदण्डका बारेमा अहिले विभिन्न विकल्पहरुका आधारमा मस्यौदा तयार पारिरहेका छन् ।
ओलीले १२ सय बढी महाधिवेशन प्रतिनिधि नरहने गरी प्रतिनिधि छान्ने विधि बनाउन महासचिव सहितका ती नेताहरुलाई निर्देशन दिएको र सोही आधारमा अहिले छनौट विधिका बारेमा गृहकार्य भईरहेको छ । उनीहरुले १५ कात्तिकको सचिवालय बैठकमा पेश गर्ने गरी महाधिवेशन प्रतिनिधी छनौटको मापदण्डका बारेमा छलफल सुरु गरेका छन् ।
महाधिवेशन प्रतिनिधी धेरै हुँदा पार्टी महाधिवेशनमा अनेक रंग भरिने र त्यसले फेरि अध्यक्षमा तेहेरयाउने योजनामा रहेका ओलीको योजनामा समेत ब्रेक लाग्न सक्ने भएकाले सकभर १२ सय भन्दा बढी नबढने गरी महाधिवेशन प्रतिनिधि छनौटको विधि बनाउन निर्देशन अनुसार महासचिव र दुई उपमहासचिव, संगठन विभाग प्रमुख र कार्यालय सचिवले काम गरिरहेको एमालेले जनाएको छ ।
एमालेले महाधिवेशन प्रतिनिधि चयनका लागि सङ्घीय निर्वाचन क्षेत्रस्तरमा आन्तरिक निर्वाचन गराउने गरेको छ । अहिले मुलुक विषम परिस्थितिमा रहेको र पार्टी एकतालाई अझ मजबुत बनाउनुपर्ने कारण प्रतिनिधि चयनमा निर्वाचनको विधि नअपनाउने गरी अरु विकल्प के हुनसक्छ भन्नेमा समेत गृहकार्य गर्न ओलीले निर्देशन दिएको बताइन्छ ।
सोही आधारमा मस्यौदा बनिरहेको एमाले स्रोतले जनाएको छ । तर वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगायतका नेताहरुले भने जेन जी आन्दोलनपछि विकसित घटनाक्रमलाई अध्यक्ष ओलीले बुझन नसकेको भन्दै महाधिवेशन प्रतिनिधि छनौटमा समेत आफु हावी हुने गरी विधि बनाउन खोजेको आशंका गरेको छ ।
.jpg)
