काठमाडौं । नेपालको राजनीतिमा झट्ट हेर्दा कहिलेकाहीँ स्थिरता भन्दा अस्थिरता, स्थायित्व भन्दा आश्चर्य नै सामान्यजस्तो लाग्न थाल्छ । यही आश्चर्यबीच अहिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक असामान्य रूपमा हौस्सिएको देखिएका छन् ।
उनको बोली, हाउभाउ, आत्मविश्वास र सक्रियताले अहिलेको राजनीतिक वातावरणमा विशिष्ट तरङ्ग ल्याएको छ । अन्य राजनीतिक दलका शीर्ष नेताहरू जहाँ आत्मविश्वासभन्दा बढी सावधानीमा देखिन्छन्, त्यही बेला प्रचण्ड भने आफ्ना भाषण, भेटवार्ता र राजनीतिक कदमहरूमार्फत नयाँ ऊर्जा र जोशले भरिपूर्ण देखिन्छन् ।
गत भदौं २३ र २४ को जनेजी विद्रोह र विध्वंसपछि पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिक सरकार बन्यो । फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गराउने गरी प्रतिनिधिसभा विघटन गरियो । मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो प्रधानमन्त्री बाँडेर सरकार गठन गरे पनि त्यो सरकार जेनजी पुस्ताको विद्रोहले ढलाईदियो ।
सरकारको तालाचावी बोकेर बसेका एमाले अध्यक्ष कपी ओली बालुवाटारको प्रधानमन्त्रीको सरकारी निवासमै सेनाको हेलिकप्टर बोलाएर भाग्नुपर्ने स्थिती आयो । ओली सरकारलाई टेको लगाईरहेको कांग्रेस सभापति शेरवहादुर देउवा आफ्नै निवासमा तत्कालिन परराष्ट्रमन्त्री समेत रहेकी पत्नी डा आरजु राणा देउवासँगै निर्घात कुटिए । जनजी पुस्ताको आन्दोलनपछि मुलुक अनिश्चितताको गर्तमा थियो ।
त्यो संवेदनशील क्षणमा पनि प्रचण्ड, नेपाली सेनाको सुरक्षाघेराभित्र बसेर, निरन्तर राष्ट्रपति रामचन्द्र पौडेल देखि कांग्रेसका नेताहरुसँग संवाद र सल्लाहमा जुटेका थिए । उनले मुलुकलाई राजनीतिक ‘ट्याक’मा फर्काउन र कार्की नेतृत्वको सरका बनाएर भएपनि संविधानलाई जोगाउन केही हदमा भूमिका खेलेको दाबी अहिले पनि दोहो¥याइरहेका छन् ।
राजनीतिक अस्थिरताको घडीमा उनले खेलेको भूमिकालाई माओवादीका नेता कार्यकर्ताहरु ‘पर्दाभित्रको कूटनीतिक सक्रियता’ भनेर व्याख्या गर्ने गर्छन् ।
प्रचण्डको चुनावी उत्साह : प्रधानमन्त्रीभन्दा बढी हौस्सिएको चेहरा
वर्तमान चुनावी सरकारका प्रमुख प्रधानमन्त्री सुशीला कार्की चुनावी तयारीमा बरु त्यक्ति लागेकी देखिएको छैन । चुनावी सरकार कर्मचारी सरुवा बढुवा, राजदूतहरुको फिर्ती लगायत काममा लागेको भनी आलोचना भईरहेको छ । कार्की नेतृत्वको सरकारले राजनीतिक दलहरुलाई पनि विश्वासमा लिएर चुनावी वातावरण निर्माण गर्ने र चुनावमा नै काम गर्नुपर्नेमा आफ्नो दायित्व भुलेर अन्यत्र अल्झन थालेको आरोप लागिरहेको छ । तर, चुनाव गराउनुपर्ने सरकारका प्रधानमन्त्रीमा भन्दा बढी उत्साह, तल्लीनता र बढी हौस्सिएको रूप अहिले प्रचण्डमा देखिएको छ ।
२४ असोजमा उनले सम्पादकहरूसँगको भेटमा स्पष्ट भने, ‘हामी स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन चाहन्छौं । अहिलेको आवश्यकता निर्वाचनमा सहभागी हुने र वातावरण निर्माण गर्ने हो ।’ यो भनाइसँगै प्रचण्डले आफ्ना पार्टीका कार्यकर्तालाई मतदाता घरदैलो अभियान, संगठन सुदृढीकरण र निर्वाचन तयारीमा लाग्न निर्देशन पनि गरिसकेका छन् ।
अदालतमा मुद्धा, राजनीतिक दलहरुमा बहस र सडकमा जनपरिचालन र प्रदर्शनको राजनीतिक परम्परामा रमाइरहेका अरू दलका नेताहरूभन्दा प्रचण्ड अहिले चुनावप्रति केन्द्रित, ऊर्जावान र रणनीतिशील बनेका देखिएका छन् ।
राजनीतिक प्रतिस्पर्धा र आत्ममूल्याङ्कन
जनजी पुस्ताको विद्रोहपछि प्रचण्डले धेरै आत्ममूल्याङ्कन समेत गरेका छन् । उनले बारम्बार भनेका छन्, ‘हामीलाई एमाले र कांग्रेससँग एउटै डालोमा हालेर व्याख्या गरियो, तर माओवादीको नीति, सोच र कार्यशैली फरक छ ।’
यो भनाइले उनको मनमा गाडिएको घाउ झल्काउँछ । जनजी आन्दोलनका युवाहरूले देउवा, ओली र प्रचण्डलाई एउटै प्रकारको पुरानो सोचका प्रतीकका रूपमा हेरिरहेका बेला प्रचण्ड त्यस वर्गसँग पुनः संवाद र सहानुभूति निर्माण गर्ने प्रयासमा जुटेका छन् ।
उनले आन्दोलनकारीहरूसँग औपचारिक÷अनौपचारिक भेट पनि भित्रभित्र गरिरहेका देखिन्छन् । ती भेटमा पनि बारम्बार प्रचण्डको भनाई देखिन्छ, ‘कांग्रेस एमाले भन्दा माओवादी र ओली देउवा र प्रचण्ड एकै होइनन । हामी फरक थियौं, फरक छौं र फरक नै रहन्छौं ।’ तर, यही फरकपन साबित गर्न अहिले उनको हाउभाउ र राजनीतिक व्यवहार असाधारण रूपमा सक्रिय बनेको छ ।
हौस्सिनुको यस्ता हुनसक्छन् तीन कारण
अब प्रश्न उब्जन्छ- आखिर किन यति हौसिएका छन् प्रचण्ड ? राजनीतिक विश्लेषकहरु प्रचण्ड पछिल्लो राजनीतिक बजारमा हौसिनुका मुख्यतः तीन कारण हुनसक्छन् ।
१) चुनावी समीकरणको मनोवैज्ञानिक लाभ
माओवादी केन्द्र विघटित संसदमा तेस्रो दल थियो, मात्र ३२ सिटको । तर, यही सिटलाई प्रचण्डले ‘म्याजिक नम्बर’ बनाएर कहिले कांग्रेससँग, कहिले एमालेसँग मिलेर तेस्रो दल भएपनि सरकारको नेतृत्व गरे । तर त्यसपछि संसदको ठूलो दल कांग्रेस र एमाले मिलेर उनलाई पाखा लगाईदिए । दुई पार्टी सिष्टममा मलुक लैजाने कोसिस पनि यो वीचमा माओवादीलाई निमिट्यान्न पारेर देखाउने भन्ने खेलमा यी दुई पार्टीले होमवर्क पनि गरे । तर जेनजी विद्रोहले कांग्रेस एमालेलाई नै नांगेझार हुने गरी सडकमा मिर्काईदियो । यो मिल्काईमा उनी र उनको पार्टी माओवादी पनि सँगै छ ।
तर प्रचण्डले कांग्रेस एमालेको तुलनामा माओवादी पार्टी र ओली देउवाको तुलनामा आफु (प्रचण्ड) फरक हुन् है भन्ने सन्देश जनतामा दिन खोजेका छन् । त्यही फरकपना देखाउन सकिने र अवको चुनावपछि ‘पावर ब्यालेन्स’मा फेरि पनि माओवादी निर्णायक शक्ति बन्ने अपेक्षा प्रचण्डले लिएका देखिन्छन् । उनको विचारमा, कांग्रेस र एमालेबीचको अविश्वास र जनजी पुस्ताप्रतिको असहजता बढ्दै गएको छ ।
नयाँ भनिएका पार्टी र नेताका अभिभावक आफैं बनेको सन्देश दिन मात्र होइन, नयाँ पार्टी र शक्तिहरुका बीचमा मिल्न नसक्ने राजनीतिक कोर्स पनि उनले देखेका छन् । यस्तो अवस्थामा माओवादी संतुलन र स्थायित्व दिने शक्ति बन्न सक्ने अनुमान उनले गरेका छन् ।
२) संगठनभित्रको ऊर्जा र पुनर्संरचना
प्रचण्डले हालैदेखि पार्टी पुनर्संरचना अभियान तीव्र पारेका छन् । जेन जी विद्रोहपछि सबैभन्दा पहिले पार्टी बैठक राख्ने, विशेष महाधिवेशन बोलाउने र पार्टीमा नयाँ पुस्तालाई अब नेतृत्वमा ल्याउने उदघोष उनले गरेका छन् । उनले ‘माओवादी अब आन्दोलन होइन, संगठनात्मक पुनर्जागरणको चरणमा छ’ भन्ने सन्देश यसबाट दिन खोजेका छन् ।
गृहजिल्ला चितवन, मधेसको धनुषा, महोत्तरी, निर्वाचन क्षेत्र गोरखा लगायतका जिल्लामा उनी यसबीचमा पनि पुगिसकेका छन् । पार्टीका कार्यकर्ताले लामो समयपछि आफ्नो अध्यक्षलाई उही जोश, उही शैली र उही आवाजमा भेट्दा हौसिएका छन् । भेला, प्रशिक्षण र छलफलमा सहभागी युवाहरूको संख्याले पनि प्रचण्डमा पुनः आत्मविश्वास जगाइदिएको छ । त्यस अतिरिक्त उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), महेन्द्र राय यादवको जनता समाजवादी मात्र होइन, विप्लव नआएपनि उनको पार्टीभित्रैको बहुमत नेता कार्यकर्तालाइ छिन्नभिन्न बनाएर भएपनि एउटै पार्टी बनाउने अभियान पनि सँगै लगेका छन् ।
एमालेभित्र ओलीको शैली र उकुसमुकुसको फाइदा उठाउने बैकल्पिक कम्युनिष्ट शक्ति आफुहरु अन्य छरिएका वाम पार्टी मिलाउन सक्दा हुने उनले ठानेका छन् । यसबाट पनि उनी हौस्सिएका देखिन्छन् ।
३) वैचारिक आत्मसमीक्षा र नयाँ राजनीतिक कथा
विगत दुई दशकमा सशस्त्र द्वन्द्वदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा प्रचण्डले धेरै रूप परिवर्तन गरेका छन् । उनले कतिपय सम्झौता राजनीतिमा गदैं पार्टी र आफुलाई राजनीतिको केन्द्रमा राख्न सफल नै हुँदै आएका छन् । पहिलो संविधानसभामा पहिलो पार्टी बनेयताका हरके चुनावमा माओवादीको सिट संख्या र मत घुम्चदो र ओरालो यात्रामा छ । तर उनी सधैजसो राजनीतिको केन्द्रमै छन् ।
अहिले पनि उनले आफैलाई केन्द्रमा राख्न सक्ने ठानेका छन् । अहिले उनी ‘नयाँ युगको प्रचण्ड’ बन्न खोजिरहेका छन् । जसले पुरानो संघर्षको कथा मात्र होइन, भविष्यको दृष्टिकोण पनि सुनाओस् । उनी बारम्बार भन्छन् - ‘हामीले परिवर्तन ल्यायौं, तर त्यो पूरा भएको छैन । जेन जी पुस्ताको एजेण्डा र माओवदीको एजेण्डा मिलेको छ । दुवै शक्ति मिलेर अब समृद्धिको आन्दोलन गर्नुपर्छ ।’ यही ‘समृद्धिको नयाँ आन्दोलन’ उनको हौस्सिएको स्वरूपको वैचारिक आधार हो ।
प्रतिस्पर्धीहरूको सुस्त चाल र प्रचण्डको अवसर
राजनीतिमा समयकै मूल्य हुन्छ । कांग्रेस र एमालेका नेताहरू अहिले आ–आफ्ना आन्तरिक विवाद र समायोजनमा व्यस्त छन् । माओवादीभित्र पनि नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले प्रचण्डको गिदी हल्लाएकै छन् । तर उनी दुई नेताले पार्टीभित्र आफुलाई कमजोर बनाउन नसक्ने बुझाईमा छन् ।
केपी ओली अझै जनजी आन्दोलनको ‘घाउ’ स्याहारिरहेका छन् भने देउवा नेतृत्वको कांग्रेसले चुनावबारे औपचारिक रणनीति नै तय गर्न सकेको छैन।
त्यहीबीच प्रचण्डले आफ्ना राजनीतिक सन्देशहरू जनस्तरमा पु¥याउन थालेका छन् । कहिले चितवनमा पुगेर स्थानीयसँग कुरा गर्छन्, कहिले गोरखामा युवासँग भेट गर्छन्, कहिले राजधानीमा सम्पादकसँग संवाद गर्छन् ।
उनको जस्तो यस्तो सक्रियता अन्य पार्टी र नेतामा कमै देखिन्छ । राजनीतिक प्रतिस्पर्धीहरू सुस्त हुँदा प्रचण्डले आफूलाई अग्रपंक्तिमा पु–याउने अवसर पहिचान गरेका छन्, यही ‘सामयिक अवसर’ उनको आत्मविश्वासको स्रोत बनेको हुनसक्ने बुझाई पनि कतिपय विश्लेषकहरुको छ ।
जनजी पुस्ताप्रतिको संकेत : नयाँ सन्देश दिन खोज्दै
जनजी पुस्ताको आन्दोलनले पुरानो राजनीतिप्रति असन्तुष्टि व्यक्त ग¥यो । त्यो आन्दोलनले माओवादी, कांग्रेस, एमाले सबैलाई एउटै थालमा राख्यो ।
प्रचण्डका लागि यो ‘सामूहिक अस्वीकार’ आत्ममूल्याङ्कनको कारण बन्यो । उनले हालैको भाषणमा भनेका थिए , ‘जनजीले उठाएका मागहरू न्यायसंगत छन्, तर हामीले ल्याएको परिवर्तन र संविधान निर्माणका क्रममा राखेका मतलाई एकाकार गरेर जानुपर्छ ।’ उनले आफू र जनजीबीच ‘संवादको पुल’ निर्माण गर्न खोजिरहेका छन् ।
यही संवाद र सहानुभूति निर्माण अभियान पनि उनको राजनीतिक हौस्साईको अर्काे कारण हुनसक्ने कतिपयको मत छ ।
आलोचनाबाट आत्मबलमा रुपान्तरण
प्रचण्डमाथि विगतमा अनेक आरोप लागेका छन् - अवसरवादी, अस्थिर, सत्ता–मुखी, वा नारा–प्रधान राजनीतिज्ञ । तर, उनी ती आरोपलाई स्वीकार विगतमा पनि गदैनथे , अहिले पनि गदैनन् । बरु उनी आफुलाई गतिशील नेताका रुपमा चिनाउन खोज्छन् । आफुमाथीको आलोचनालाई ब्यवहारबाटै खण्डित गर्ने गरी सबै आलोचनालाई उनले अहिले ‘आत्मबल’ मा बदलिरहेका छन् । उनले भन्ने गरेका छन्, ‘हामीलाई अनेक पटक भत्काइयो, तर हामी फेरि उभिन्छौं ।’ उनको यही मनोबलले अहिले माओवादी कार्यकर्तामाझ आत्मविश्वास फिर्ता ल्याएको छ ।
विगतमा प्रचण्ड आदर्शका भाषणमा डुब्थे । अहिलेका प्रचण्ड भने व्यावहारिक राजनीतिमा वैचारिक सन्तुलन खोज्ने अवस्थामा पुगेका छन् ।
संविधानको मर्ममा बसेर प्रणाली सुधार्ने, भ्रष्टाचार नियन्त्रण र राज्य सञ्चालनको पारदर्शिता बढाउने कुरामा उनी हाल पनि जोड दिइरहेका छन् । ‘भ्रष्टाचारविरुद्ध लड्दा म सरकारबाट हटाइएँ, तर त्यो लडाइँ रोकिएको छैन । जेनजी आन्दोलनले त्यसलाई सँगै ल्याईदिएको छ ।’
हौस्सिएको आत्मविश्वास कि रणनीतिक प्रदर्शन ?
प्रचण्डमा केही समययता देखिन थालेको हौस्याई आत्मविश्वास हो वा रणनीतिक प्रर्दशन ? अहिले यसबारेमा पनि चर्चा हुन थालेको छ । राजनीतिक विश्लेषकहरू भने यसविषयमा दुई धारमा देखिन्छन् । एक पक्ष भन्छ - ‘प्रचण्डको यो हौस्सिएको मुद्रा उनको आत्मविश्वास हो, उनले चुनावी ऊर्जा पाएका छन्।’
अर्को पक्ष भन्छ - ‘यो रणनीतिक प्रदर्शन हो, जनतामा नयाँ सन्देश दिनको लागि उनी उत्साहको अभिनय गर्दैछन् ।’
तर जुनसुकै धारले व्याख्या गरे पनि, अहिलेको वास्तविकता के छ भने- नेपाली राजनीतिमा प्रचण्ड पुनः केन्द्रविन्दुमा आइपुगेका छन् ।
पार्टी एकता, वैचारिक स्पष्टता, जनसम्पर्क र गठबन्धन- यी सबै मोर्चामा प्रचण्डले अहिले ‘समन्वित रणनीति’ अपनाएका छन् । माधव नेपाल, महेन्द्र राय यादव लगायत विभाजित कम्युनिष्ट शक्तिहरूलाई एउटै छातामुनि ल्याउने प्रयास पनि त्यही रणनीतिक भाग हो । उनले बुझिसकेका छन्, कांग्रेस र एमालेको ‘वैकल्पिक शक्ति’ बनेर मात्रै माओवादीको अस्तित्व दीर्घकालीन हुन सक्छ । प्रचण्ड अहिले पुनः आफ्नो ‘राजनीतिक पुनर्जन्म’को तयारीमा छन् । नेपालको राजनीतिमा प्रचण्ड फेरि एकपटक निर्णायक बन्न सक्छन् वा होइनन् — यो समयले देखाउनेछ ।
तर अहिलेको दृश्यमा एक कुरा स्पष्ट छ - माओवादीका अध्यक्ष मात्र होइन, पुराना र नयाँ दुवै पुस्ताका राजनीतिक खेलाडीहरूका लागि पनि प्रचण्डको यो ‘हौस्सिएको चरण’ ध्यानाकर्षणको केन्द्र बनेको छ ।
.jpg)
