जिल्ला अध्यक्षहरूसँग ओलीको भर्चुअल बैठक

जबसम्म सक्छु, तबसम्म नेतृत्व छोड्दिनँ, सक्न छाडेपछि छोड्दिन्छु : ओली

जबसम्म सक्छु, तबसम्म नेतृत्व छोड्दिनँ, सक्न छाडेपछि छोड्दिन्छु : ओली

images
नेपाल नजर
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै पार्टी नेतृत्व नछाड्ने बताएका छन् । भदौं २३ र २४ अगाडीसम्म पार्टीभित्र फेरि ५ वर्षका लागि ओली नै एमालेको र्निविकल्प अध्यक्ष बन्ने बताइएपनि त्यसपछिको घटनाक्रमले भने ओलीमाथी नेतृत्व छोड्न चौतर्फी दवाव छ ।

    उनले भदौं २३ र २४ मा भएको जने जी आन्दोलनपछि प्रधानमन्त्रीको पद मात्र गुमाएनन्, इतिहासमै पहिलो पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ज्यान जोगाउन सेनाको हेलिकप्टर प्रयोग गरेर भाग्ने नेपाली प्रधानमन्त्री समेत बनेका थिए । 

    भदौं २३ को नरसंहारमा उनी दोषी रहेको भन्दै प्रहरीमा जेन जी पुस्ताले जाहेरी समेत दिएको र पार्टीभित्रै पनि अहिले चौतर्फी उनलाई नेतृत्व हस्तान्तरण गर्न दवाव बढिरहँदा पनि ओलीले भने नेतृत्व सजिल्यै नछोडने जिकिर गरेका छन् ।
    पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओली यतिवेला पार्टीका प्रदेश तहका इन्चार्ज, सहइन्चार्ज र जिल्ला अध्यक्षहरुसँग क्रमशः भर्चुअल बैठकमा बस्दै आफुले नेतृत्व सितिमिति नछोडने जिकिर गरिरहेका छन् । 
    उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामथ्र्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेको भर्चुअल बैठकमा सहभागी एमालेका एक जिल्ला अध्यक्षले नेपालनजरसँग भने । ओलीले शारीरिक रूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने जिकिर गरेको ती जिल्ला अध्यक्षले बताए ।

    ‘जबसम्म म सक्छु, तबसम्म नेतृत्व छोड्दिन, जुनदिनबाट सक्न छाड्छु, त्यसपछि छोड्दिन्छु,’ ओलीले जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा ब्यक्त गरेको भनाई उद्धृत गदै ति अध्यक्षले भने । 
    अध्यक्ष ओलीले पार्टीभित्र पुनर्गठन, नेतृत्व हस्तान्तरण, पुस्तान्तरणबारे नचाहिने हल्ला भइरहेको समेत बताएका छन् ।  ती कुरा पार्टीका उपयुक्त फोरममार्फत् निरूपण गरिने पनि उनले बताएका छन् ।
    जेन–जी विद्रोहका कारण सत्ताच्युत भएपछि ओली अहिले भक्तपुरको गुन्डुमा डेरा गरी बस्दै आईरहेका छन् । जेनजी आन्दोलनका क्रममा उनको भक्तपुर बालकोट स्थित निवास मात्र होइन, उनी जन्मेको तेहथुमको घर, झापाको घर लगायत पनि जेन जी आन्दोलनका क्रममा आगजानी भएको थियो । 
    देशभर यो आन्दोलनका क्रममा एमालेका पार्टी कार्यालय हरु पनि जलेका छन् । त्यसयता ओलीले पार्टी नेता महेश बस्नेतलाई सुरक्षाकवज ठानेर उनी बस्दै आएको गुन्डु छेउमै डेरा लिएर बस्न थालेका छन् । उनले पार्टीका गतिविधि पनि गुन्डुस्थिति सोही निवासबाट गरिरहेका छन् ।
    एमालेको सचिवालय बैठक यही असोज २४ र २५ गते बोलाइएको छ । त्यसपछि केन्द्रीय कमिटी बैठक २७, २८, २९ गते बस्दैछ । त्यसको पूर्वसन्ध्यामा ओलीले प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई फरक फरक प्रदेश बनाएर भर्चुअल रूपमा सम्बोधन गरिरहेका छन् । 
    भर्चुअल सम्बोधनका क्रममा ओलीले आफू, एमाले र देशविरूद्ध नै षड्यन्त्र भएको बताउँदै भदौ २३ र २४ को जेनजी आन्दोलन षड्यन्त्रकै उपज भएको बताईरहेका छन् । आफूलाई सत्ताबाट हट्न बाध्य गराइए पनि आफू देश र जनताको पक्षमा अविच्छिन्न हिसाबले क्रियाशील रहेको बताउँदै पार्टी, आन्दोलन, पार्टीका विचार र दृष्टिकोणको शिर झुक्न नदिने दावी ओलीले गरिरहेका छन् । 

    ‘पार्टीको शिर निहुरन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ,’ ओलीले जिल्ला अध्यक्षहरुसँग ब्यक्त गरेको भनाई उदधृत गदै ती जिल्ला अध्यक्षले भने, ‘कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ । अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ ।’

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend