ऊर्जामन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता, के भयो कुराकानी ?

ऊर्जामन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता, के भयो कुराकानी ?

images
नेपाल नजर
बिहिवार, आश्विन ९ २०८२
  • DSC01994_optimized_2000.jpg

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच भेटवार्ता भएको छ । भदौ २३ र २४ को जेन जी पुस्ताको आन्दोलनपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमको सुस्त विश्लेषणमा लागेको चिनियाँ पक्षले प्रधानमन्त्री र सरकारका अन्य मन्त्रीहरुसँग भेटघाट बाक्लो बनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा सहकार्यको प्रस्ताव बोकेर भेट गरेका नेपालस्थित चिनियाँ राजदूत चेनले बुधबार उर्जामन्त्रीसँग पनि भेट गरेका हुन् ।

    सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो ।
    भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौं—कोदारी (अरनिको) र स्याप्रुबेंसी—रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेको उर्जामन्त्रीको सचिवालयले जनाएको छ ।


    उनले काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङकी—बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिश्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह समेत गरे । चिनियाँ कम्पनीले ठेक्का लिएका कमला—कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको,नारायणघाट—बुटवल र मुग्लिन—पोखरा सडक विस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल  गरिदिन आग्रह गरेको पनि उर्जामन्त्रीको सचिवालयले जनाएको छ । 

    राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सँधै तयार रहेको उल्लेख गरेका थिए । भेटमा मन्त्रालयका सचिव केशव कुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतको सहभागिता थियो ।

    यो भेटमा राजदूतले नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारेमा पनि उर्जामन्त्रीसँग छलफल गरेका थिए । एक साता अगाडी मात्रै नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा भब्य स्वागत गरेको चिनियाँ पक्षले एक सातामै नेपालमा ओली सत्ताच्यूत हने गरी जेन जी पुस्ताले आन्दोलन गरेपछि अन्तरिम चुनावी सरकार गठन भएको छ । पूर्व प्रधानन्यायाधीस सुशीला कार्की प्रधानमन्त्री भएपछि घिसिङ उर्जा, सहरी र भौतिक पूर्वाधार मन्त्री भएका थिए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend