क्रूरतापूर्वक कुकुरको हत्या गर्ने तीन जना पक्राउ, के हुन्छ सजाय ?

क्रूरतापूर्वक कुकुरको हत्या गर्ने तीन जना पक्राउ, के हुन्छ सजाय ?

images
सोमवार, आषाढ ४ २०८१
  • इलाममा कुकुरको क्रूरतापूर्वक मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामले तीन जनालाई पक्राउ गरेको हो। 

    पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नम्बर ९ जितपुर बस्ने २१ वर्षीय दिक्षान्त मोरोहाङ लिम्बु, सोही ठाउँमा बस्ने दुई जना १७ वर्षीय किशोर छन्।

    जेठ ३२ गते सामाजिक सञ्जाल भुत प्रेत नामक पेजबाट एउटा कुकुरलाई लाठ्ठीले बारम्बार कुटेर क्रूरतापूर्वक मारेको भिडिओ बाहिरिएको थियो।

    उनीहरूले हत्या गरी खाल्डो खनेर पुरेका थिए। भिडिओ भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय इलामले अनुसन्धान अघि बढाएको थियो। 

    भिडिओ कसले अपलोड  गरेको र हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

    उनीहरूविरूद्ध पशु कल्याण संघ नेपालले पशुपंक्षी सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएको थियो। पशुपंक्षी सम्बन्धी कसुरमा पशुपंक्षी प्रति निर्दयी व्‍यवहार गर्न नहुने भन्ने उल्लेख छ।

    उक्त कसुर गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

    के हुन्छ सजाय ?

    नेपालको प्रचलित कानुनले कुनैपनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

    मुलुकी अपराध संहिता २०७५ ले कुनैपनि पशुप्राणीलाई क्रुरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ । कानुन विज्ञ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस किसिमको हिंसा देखिएमा प्रहरी कार्यलयमा उजुरी गर्न सकिन्छ । प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यलय र जिल्ला सरकारी वकिल कार्यलयमा पनि यसको उजुरी दिन मिल्छ ।

    कुकुरको हत्या मात्र होइन, कुनैपनि उनीहरुलाई कुनैपनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइदैन । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend