समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित

समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित

images
सोमवार, आषाढ ४ २०८१
  • आईसीसी T-20 विश्वकपमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।  समूह चरणको अन्तिम खेलमा नेपाललाई बंगलादेशले २१ रनले पराजित गरेको हो। 

    १०७ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनायो। योसँगै नेपालले विश्वकपमा खेलेका कुनै पनि खेलमा जित निकाल्न सकेन । 

    नेपालका लागि सर्वाधिक २७ रन कुशल मल्लले बनाए। उनले ४० बल खेलेका थिए। त्यस्तै दीपेन्द्रसिंह ऐरी २५  रन बनाएर आउट भए। कुशल र दीपेन्द्रले ५१ रनको साझेदारी गरे पनि जित निकाल्न सकेनन् ।

    आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाएनन्। ५ खेलाडी शून्य रनमा आउट भए । कप्तान रोहित पौडेल र सन्दीप जोरा १–१ रनमा पेभिलियन फर्किए । ओपन कुशल भुर्तेलले ४ रन बनाए ।

    नेपाललाई सस्तैमा समेट्न बंगलादेशका ताजिब हुसेनले ४ तथा मुस्तफिजुर रहमानले ३ र शाकिब अल हसनले २ विकेट लिए । 

    त्यसअघि टर हारेर ब्याटिङ गरेको बंगलादेश १ सय ६ रनमा अल आउट भएको थियो। १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै टेस्ट टोली बंगलादेशले नेपाललाई १ सय ७ रनको सामान्य  लक्ष्य प्रस्तुत गरेको थियो ।

    नेपालका सोमपाल कामीले इनिङको पहिलो बलमै बंगलादेशी ओपनर तान्जित हसनलाई बाहिर पठाए। कप्तान नजमुल हुसेन शान्तो ४ रनमा दीपेन्द्रसिंह ऐरीका बलमा बोल्ड भए । १० रन बनाएका लिट्टन दासलाई सोमपालले पेभिलियन फर्काए। तौहिद ह्रिदोय ९ रनमा कप्तान रोहित पौडेलको सिकार भएपछि पावरप्लेमा बंगलादेश ३१ रनमा ४ विकेट गुमाएको दयनीय अवस्थामा पुग्यो ।

    अनुभवी खेलाडी महमुदुल्लाह र शाकिब अल हसनको प्रदर्शन पनि निराशाजनक रह्यो। महमुदुल्लाहल ९ र शकिबले सर्वाधिक १७ रन बनाए। तन्जिम हसन साकिब सन्दीप लामिछानेको बलमा बोल्ड भए । जाकर अलीलाई बोल्ड गर्दै सन्दीपले ५४ इनिङमा १ सय टी–२० आई विकेट पूरा गरे । टी–२० क्रिकेटमा सबै भन्दा छिटो १ सय विकेट लिने बलरको सूचिमा सन्दीप दोस्रो स्थानमा छन् ।

    अफगानिस्तानका राशिद खानले यो उपलब्धि ५३ खेलमा पूरा गरेका छन् । रिशाद हुसेन १३ र मुस्ताफिजुर रहमान ३ रनमा आउट भए। तस्किन अहमद १२ रनमा अविजित रहे । यससँगै सन्दीप लामिछाने नेपालको लागि टी–ट्वेन्टी आईमा १०० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

    नेपालका लागि सोमपाल, दीपेन्द्र, रोहित र सन्दीपले २–२ विकेट बाँडे। जितसँगै बंगलादेश सुपर एटमा प्रवेश गरेको छ ।  नेपाल भने यस अघि नै बाहिरिसकेको थियो । नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो । दोस्रो खेलमा वर्षा बाधक बन्दा श्रीलंकासँग अ‌ंक बाँड्न बाध्य भएको नेपाल तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend