परिवार के हो, पारिवारिक एकता कसरी कायम राख्ने ?

परिवार के हो, पारिवारिक एकता कसरी कायम राख्ने ?

images
बुधवार, जेठ ३० २०८१
  • ‘परिवार महत्त्वपुर्ण कुरामात्र होइन, यो त सबथोक हो।’ हलिउड अभिनेता माइकल जे. फक्सले परिवारबारे गरेको टिप्पणी हो यो। संसारभर सुखको सबैभन्दा ठूलो स्रोत परिवारलाई मानिन्छ। तर, मान्छेको जीवनमा हुने निराशा र हारको सबैभन्दा ठूलो स्रोत पनि परिवारिक समस्यासँगै जोडिएको हुन्छ।

    बाउछोराबीच वैमनस्य, दाजुभाइबीच पानी बराबरका घटना हाम्रो समाजमा नौलो होइन। विविध कारणले हाम्रो समाजमा पारिवारिक एकता कमजोर हुँदै गइरहेका छन्। जोडिनुको सट्टा भत्किरहेका छन् परिवारहरू। समाजशास्त्रीका अनुसार, ‘पछिल्लो समय धेरैजसो परिवारमा निराशावादी चिन्तन बढेको छ, एकताभन्दा बढी विचलन छ।’

    वास्तवमा जग, पिलर र चार भित्ताले मात्रै घर बलियो बन्दैन। यसलाई बलियो बनाउन त सबैभन्दा पहिले परिवार बलियो हुनुपर्छ। र, परिवार बलियो बनाउनलाई एउटै छतमुनि बस्ने सदस्यबीच प्रेम र विश्वास हुनु आवश्यक छ।

    भनिन्छ, घर कति ठूलो र भव्य छ भन्दा पनि कति खुशी छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। र, घर त्यतिबेला खुशी हुन्छ, जतिबेला परिवारका हरेक सदस्य खुशी हुन्छन्। मान्छेका यति धेरै आवश्यकता हुने आजको युगमा आर्थिक अभावमा परिवार सुखी र खुशी हुन सक्दैन। पैसाका कारण परिवारहरू टुक्रिरहेका उदाहरण हामी गाउँशहरमा प्रशस्तै देख्न सक्छौँ।

    विचार सबैको एउटै कहाँ हुन्छ र ? सामान्य झैभगडा त परिवारभित्र भइहाल्छ ! तर, त्यसैलाई ठूलो विषय बनाउनु चाहिँ राम्रो होइन। परिवारलाई मजबुत बनाउने एउटा कडी समझदारी पनि हो। यसकारण पनि आउँदा पुस्तालाई पारिवारिक महत्वबारे सिकाउनु–बुझाउनु अत्यावश्यक भइसकेको छ।

    पहिला आमा र पत्नीलाई खान दिउँ

    परिवारलाई एकजुट बनाइराख्नु आवश्यक छ। त्यसका निम्ति हामीले आफ्नो निजी स्वार्थलाई छाडेर पहिला परिवारको अर्को सदस्यका बारेमा सोच्ने गर्नुपर्छ। प्रायः परिवारमा पत्नी वा आमा पहिला अरुलाई खाना खुवाएरमात्र आफू खाने गर्छन्। हामीले पनि पहिला पत्नी वा आमालाई खान दिएर आफू खान सक्ने हो भने कत्ति सुन्दर अवस्था बन्ला !

    प्रेमले कुराकानी गरौं

    परिवारको कुनै सदस्यले यदि कुनै गलत काम जानेर वा नजानेर गरेको रहेछ भने विस्तारै सम्झाउनुपर्छ। ठूलो स्वरमा कुरा गर्ने वा हप्काउने गर्नुहुँदैन। यस्तो आदतले परिवारको सदस्यबीच आपसी समझदारी विकसित हुँदै जान्छ।

    शिष्टाचारमा ध्यान

    ज्येष्ठ वा आदरणीय व्यक्तिको आदर र बच्चालाई स्नेह गर्नुलाई हामीले संस्कारका रुपमा विकास गर्नुपर्छ। बुज्रुगसँग कुरा गर्दा आदरका साथ गर्नु अनि परिवारका सदस्यमध्ये कसैलाई आवश्यक परेको खण्डमा तत्कालै मद्दतको हात बढाउनु पनि शिष्टाचारको एउटा हिस्सा हो। मान्छेलाई मन पराउनु र नपराउनु भनेको नै उसमा निहित शिष्टाचार हो।

    माफी दिन सिकौं

    मान्छेले आफूलाई तनावरहित राख्ने हो भने, सबैभन्दा महत्वपूर्ण सूत्र ‘माफ दिनु’ र ‘भुल्नु’ नै हो। गल्ती मान्छेबाटै हुन्छ, त्यसलाई कम गर्ने वा नियन्त्रण गर्ने अचुक औषधि भनेकै माफी हो। बदलाको भाव राख्दा कुनै पनि समस्या समाधान हुँदैन। त्ससले तिक्ततामात्रै बढाउँछ। नातेदार वा छिमेकसँग कुनै विषयमा विवाद हुन खोज्दा आफू पनि तात्ने वा आवेगमा आउने हो भने पछि गएर त्यसले सम्बन्धमै चिसोपना ल्याइदिन्छ। त्यसकारण पनि सकेसम्म माफीको नीति अँगाल्नु श्रेयष्कर हुन्छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend