पानीको मुहान सफा गरि सिथी नख: पर्व मनाइदै

पानीको मुहान सफा गरि सिथी नख: पर्व मनाइदै

images
बुधवार, जेठ ३० २०८१
  • आज जेठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठी। भगवान् कुमार कार्तिकेयको जन्म दिन समेत भएकाले यस दिन नेवार समुदायले भगवान् कुमारको पूजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः अर्थात् बारा खाने प्रचलन रहिआएको छ।

    आजकै नेवार समुदायले सिथी नख: पर्व समेत मनाउँदैछन्। यस पर्व नेवार समुदायको महत्वपूर्ण पर्व मध्ये एक हो। नेवारी संस्कृति अनुसार यस पर्वलाई वर्षको अन्तिम पर्व पनि मानिन्छ। आजको दिन इनार, कुवा, ढुङ्गेधारालगायत पानीका स्रोतहरूको सरसफाइ गर्ने धार्मिक परम्परा रहिआएको छ।

    वर्षात्‌को बेला बगेर आउने भेल र फोहोरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु आजको पर्वको विशेषता हो । यसका साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्‌को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएक हो।

    सिथी नखःको दिनमा शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठहरूको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको ‘म्हुछ्यामढी’ चढाउनाले अन्न उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने विश्वास रहिआएको छ।

    नेवार समुदायमा आज घरमा भर्खर भित्राइएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने प्रचलन छ। सिथी नखःको दिनले नेवार समुदायले पानी को मुहानहरू सफा गर्ने गर्दछन्। यस दिन बारालगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा खेती गर्न बल पुग्ने जनविश्वास समेत छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend