सत्ता साझेदार नेकपा एमालेले असन्तुष्टि जनाएको छ । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि संघीय संसद्मा छलफल सुरु हुँदा एमालेले असन्तुष्टि जनाएको हो ।
बजेटमाथिको छलफलमा भाग लिँदै एमालेका विष्णु पौडेलले गठबन्धनमा पर्याप्त सल्लाह नगरेको, केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले हासिल गरेको प्रगतिको चर्चा नगरिएको, एमाले नेतृत्वको सरकारले विगतमा ल्याएका केही कार्यक्रमले निरन्तरता नपाएको र बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग गरिएको भन्दै उनले असन्तुष्टि जनाए ।
तर राजश्व संकलन, स्रोत व्यवस्थापन र आर्थिक वृद्धिको लक्ष्य आदिमा बजेट सन्तुलित नै देखिएको एमाले सांसदहरुको धारणा छ ।पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘राजश्वको लक्ष्य १२ खर्ब ६० अर्ब निर्धारण गर्नुभएको छ । यो लक्ष्य पूरा गर्न सजिलो छैन, तर राज्यका सबै पक्ष जिम्मेवार हुने हो भने सम्भव हुन्छ ।’
एमाले सांसद गोकुल बास्कोटाले गणतन्त्र प्राप्तपछिका प्रगति सुनाउँदै गर्दा केपी शर्मा ओली नेतृत्वको सरकारले प्राप्त गरेको सफलताको चर्चा नगरेको गुनासो गरे । ‘अलिकति अपनत्व लिने कुरामा कञ्जुस्याईं जस्तो देखियो । जस दिने कुरामा पनि त्यस्तो देखियो’, एमाले सांसद बास्कोटाले भने, ‘‘२०७४ पछि २०७९ सम्मको अनेक चिजमा, शिक्षामा, स्वास्थ्यमा, भौतिक पूर्वाधारमा, आर्थिक वृद्धिदरमा, पुनर्निर्माणमा, विद्युतीकरण असाधारण छ, तथ्यहरुले त्यही बताउँछ । ‘रेलवेदेखि सबै कुरामा प्रगति देखिन्छ । पर्यटनमा देखिन्छ । अहिले अलिकति ओझेलमा पर्यो कि भन्ने लाग्छ’ उनले भने, ‘अब अर्को पल्ट ध्यान दिनुहोला ।’
'सल्लाह भएन'
बजेट निर्माणका क्रममा अर्थमन्त्री पुनले आफूहरुसँग पर्याप्त छलफल नगरेको एमाले सांसदहरुको गुनासो छ ।अर्थमन्त्री पुनले सरकारमा रहेका राजनीतिक दलहरू र प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूसँग सुझाव लिएको भए अझ राम्रो बजेट आउनसक्ने एमाले उपाध्यक्ष पौडेलले बताए ।
बजेट निर्माणको बेलामा अर्थमन्त्री व्यस्त हुने र बजेट बनाउन असीमित समय नहुने उल्लेख गर्दै पौडेलले थपे, ‘मन्त्रीजी यति व्यस्त हुनुभयो कि सरकारमा सहभागी भएका राजनीतिक दलहरू, प्रमुख दलका प्रमुख नेताहरूसँग पनि बजेट निर्माणका निम्ति सरसल्लाह गर्न, सुझाव लिन भ्याउनुभएन । यदि त्यसरी भ्याउनुभएको भए बजेट अझ राम्रो हुन सक्थ्यो ।’
‘जनयुद्ध’ शब्दप्रति एमालेको आपत्ति
एमालेको माओवादी 'जनयुद्ध'लाई हेर्ने दृष्टिकोण पहिलेदेखिनै नकारात्मक छ । जसलाई एमालेले फेरि पनि अभिव्यक्त गर्यो ।
एमालेका सांसदहरुले सरकारमा रहेका दलहरुको धारणालाई ख्याल नगरी बजेटमा ‘जनयुद्ध’ शब्दको प्रयोग गरेकोमा असन्तुष्टि जनाए । संविधानमा प्रयोग नभएको शब्द किन प्रयोग गरिएको भन्ने प्रश्न गरे ।
‘संविधानमा पनि उल्लेख नभएको, सर्वोच्च अदालतले पनि अलिकति त्यसो नगरौं भनेको कुरामा एउटा शब्द चयनमा ध्यान दिएको भए हुन्थ्यो’ एमाले सांसद बास्कोटाले भने, ‘जनयुद्ध भन्दा अलिकति एकपक्षता जस्तो, कोलिसन पार्टनरहरुको पनि कुरा हुन्छ त्यसमा ।’
यसको अर्थ नेपालमा सशस्त्र द्वन्द्व भएको अस्वीकार गर्न खोजेको रुपमा नबुझ्न उनको आग्रह छ । ‘त्यो सत्य हो, सशस्त्र द्वन्द्व हो, त्यसलाई म्यानेज गर्ने कुरा गरिएको छ’, सांसद बास्कोटाले भने, ‘‘शब्दावलीको चयनप्रति मेरो आलोचनानै रह्यो ।’
.jpg)
